Tuesday, October 14, 2014

Sutkeriko Surtaa

सुत्केरीको सुर्ता

मातृ सुरक्षा कार्यक्रमको सर्भेका लागि जुम्ला पुगेका इलामका गणेश लिम्बू जुम्लाको कालिकाखेतु गाविसबाट फर्केपछि एक्लै बोल्दै गरेको भेटेँ। कारण, उनले सुनाए- बुअ गाउँमा शाही थरकी महिला घरैमा सुत्केरी भइछिन्। साल अड्केपछि निकै कष्ट भएर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराएछन्। 
अनि फर्काएर गोठमा राखेछन्। चार दिनकी सुत्केरीलाई शिशुसहित फोहर गोठमा गाईभैंसीलाई झैं राखेको देखेर साह्रै चित्त दुख्यो। उनले त्यहाँ देखेछन् – झ्याल पनि नभएको गोठमा दाउरा बाल्दा धुँवा जाने ठाउँ नभएर निसास्सिने, आफैले लुगा धुनु पर्ने बिजोग। पतिले आफ्नी अर्धाङ्गिनीलाई पशुजस्तो अमानवीय व्यवहार गरेको र सासुले आफूले भोगेका पीडा सम्झनुको साटो बुहारीलाई पनि त्यसै पीडामा पार्नु परम अमानवीय घटना हो। गोठको फोहर, गन्ध, किराफट्यांग्रा, आँखाले नदेखिने जीवाणु, नजिकै वस्तुभाउ आदिले नवजात शिशु र सुत्केरीलाई कस्तो असर पर्ला? 

गणेश, पूर्वका सुत्केरी लिम्बू महिलालाई दाँज्न थाल्छन् – इलामतिर भए सुत्केरी हुनु कहिले कहिले, गर्भधारणलगत्तै पतिले विशेष हेरविचार गर्नेगर्छन्। गाह्रोसाह्रो काम गर्न दिँदैनन्। सासु, नन्द, आमाजुले पनि उत्तिकै स्याहार गर्छन्। सुत्केरी हुँदा त घरको सफा कोठामा राखी न्यानो लुगा दिएर, मासु तथा झोलिलो पौष्टिक खाना दिन्छन्। सेकाउने, मालिस गरिदिने आदिबाट पूरै आराम गराउँछन्। पति आफैँले लुगा धोइदिने वा घरका अन्यले सहयोग गर्छन्। तर, जुम्लामा किन यस्तो व्यवहार गरेको?
एउटै नेपालको पहाडी भेक र हिमाली भेक अनि एक छेउबाट अर्को छेउमा कति फरक चलन? के यो सबै मान्छेले नै बनाएका होइनन् र?

पश्चिमा मुलुकमा गर्भबस्नु अघि दुबै मिलेर राम्रोसँग योजना बनाउँछन् – कहिले पाउने, कति पैसा चाहिन्छ, पत्नीको स्वास्थ्य स्थिति ठीक छ छैन डाक्टरसँग कहिले सल्लाह गर्ने आदि। पत्नीको गर्भावस्थाको सुरुको समाचार सुन्न पतिलगायत आफन्त र साथीभाइहरू व्यग्र प्रतीक्षा गर्छन्। सकारात्मक समाचार सुन्नासाथ उत्सव मनाउँछन्। बधाईको ओइरो लाग्छ। अनि बच्चालाई न्यानो लुगा तयार गर्ने, खेलौनादेखि बच्चालाई चाहिने सामान उपहार दिने काम सुरु हुन्छ। उनीहरूको लागि माया, आत्मीयता दर्शाउने एउटा अवसर हुनेगर्छ जुन कुनै हालतमा पनि गुमाउन चाहँदैनन्। गर्भवती महिलालाई सुखी र खुसी पार्ने प्रयास सबैले गर्छन्। गर्भवती महिलाको मानसिक तथा शारीरिक स्थितिले आउने बच्चाको स्वास्थ्यमा ठूलो असर पार्छ भन्छन्। त्यसैले होला, गर्भावस्था र सुत्केरी अवस्थाको हरेक पलको खुसीलाई टाढाटाढाका साथीसंगीसँग बाँड्न लालायित हुन्छन्।
अस्पतालमा सुत्केरी हुँदा पतिलाई अनिवार्यरूपमा पत्नीसँगै राख्छन्। सहयोग, माया दिँदै प्रसव पीडा बाँड्ने चलन छ। पति कुनै कारण विशेषले पत्नीको प्रसवावस्थामा उपस्थित हुन नसके मानवीय भावनाबाट च्युत भएको भन्दै पारपाचुकेसमेत हुँदा रहेछ। सुत्केरीपछि पनि पतिले बच्चा र आमालाई पूरा तनमनले स्याहार्छन्। राति आमालाई राम्रो निन्द्रा र आराम चाहिन्छ भनेर आफूले बच्चा च्यापेर पत्नीलाई सुत्न दिन्छन्। 

विदेशका कुरा छाडौं, काठमाडौंतिर आजभोलि गर्भ रहेको खबर पाउनासाथ मिठाइ बाँड्ने चलन सुरु भएको छ। गर्भवतीको विशेष स्याहार गर्ने, प्रशस्त आराम र पोषिलो खाना दिने गर्छन्। सुत्केरी हुँदा उत्सवको रूपमा लिन्छन्। गर्भावस्थाको हरेक पललाई 'इन्ज्वाय्' गर्न दिइन्छ। नेवार संस्कृतिलाई हेर्ने हो भने सुत्केरी भएको करिब एक महिना घरमा र त्यसपछि डेढ दुई महिना माइतमा बसेर सुत्केरी स्याहार्छन्। दिनमा ४ छाक पोषिलो खाना दिन्छन्। आफ्नो घरमा तेल लगाइदिने मान्छे छैन भने भाडामा मान्छे लगाएर पनि स्याहार्ने चलन छ।

सन् १९९७ मा सप्तरीमा काम गर्दा स्पेनकी सहकर्मी गर्भवती थिइन्। उनकी बृद्धा आमालाई फोनबाटमात्र कुरा गरेर चित्त नबुझेर आफ्नी छोरीको मनपर्ने खानेकुरा पकाएर खुवाउनलाई स्पेनदेखि सप्तरी पुगेकी थिइन्। यता अर्की आमाको कुरा गरौं। जुम्लामा गत महिना एउटा तालिमका क्रममा तलियुम (हाल चन्दननाथ नगरपालिका) को श्रीदुष्का गाउँमा भ्रमण गर्दा झरी परेको थियो। माइत आएकी डेढ महिनाकी सुत्केरी छोरीलाई महिनावारी भएको भन्दै उनकी आमाले गोबर र हिलो भएको गोठमा बस्न बाध्य गराएको देखियो। सानो बच्चालाई एउटा खास्टोमा बेरेर त्यहीँ भुईंमा राखेका थिए। त्यहीबेला हाम्रो साथमा रहेकी नर्स राधा पौडेलले बुझ्दा, सुत्केरी भएपछि पाठेघरमा बाँकी रहेका सालका टुक्रा झरेको रहेछ। यस्तो बेला त्यसरी बेवास्ता गरी फोहरमा बस्दा, ज्वरो आएमा आमाको मृत्युसमेत हुन सक्थ्यो। उनलाई माथि कोठामा लगेर राख्न र तुरुन्त स्वास्थ्य जाँच गराउनका लागि आफ्नै आमालाई कुरा बुझाउन धेरै नै जोडबल गर्नुपर्यो। महिनावारी भएकीलाई घरभित्र राख्दा देउता लाग्छन् भन्ने अन्धविश्वासले २१ औं शताब्दीमा पनि गोठमा बस्ने (छाउपडी) संस्कार दुःख लाग्दो हो।

हाँकुका नियापानी गाउँमा एकजना समाज सुधारकले भनेका थिएः पहिलापहिला छोरी पाए ३ महिना र छोरा पाए ६ महिना मासु खान हुँदैन भन्ने धारणा थियो। पछि परिवर्तन भयो र मासु खान दिन थाले। यस्तै समाजमा एक दुईजना सुरो महिला र पुरुष निस्कनु पर्यो, जसले कुरीति तथा आफ्नै शरीरलाई हानी नोक्सानी पुर्याउने खालका प्रचलन परिवर्तन गराओस्। स्वस्थ बन्न र बनाउन सबैले आआफ्नो घरबाट सुरु गर्नैपर्छ। नेपालको अन्तरिम संविधान, २०६३ को धारा- २० ले पनि यौन तथा प्रजनन स्वास्थ्यलाई विशेष अधिकारमा स्थान दिएको छ। आमा हुन पाउनु उनको स्वतन्त्रता र स्वनिर्णय भनेको छ। आमाहरूलाई विशेष रुपमा सफा ठाउँमा राखी राम्ररी स्याहार्ने कर्तव्य विशेषतः पति तथा घरपरिवारको हुन्छ। 

(जुम्लामा महिला सशक्तीकरण कार्यक्रमसँग आबद्)

  • शुक्रबार १० असोज, २०७१   Nagarik Daily
  • - See more at: http://www.nagariknews.com/opinion/story/25407.html#sthash.diCeQHnv.YuHqpHOR.dpuf

    Thursday, September 18, 2014

    When we reached to Gothigaun

    गोठीगाउँ पुग्दा

                                                                                                                                               –    शोभा शाक्य

    जुम्ला आएदेखि गोठीचौरको बयान सुनेकी थिएँ । त्यहाँको लेक, चरण, डाँडा, खोला, आदिको प्राकृतिक सौन्दर्य लुट्न र त्यहाँ प्रसस्त पाइने दूध, दही, खीर खानका लागि सहकर्मी साथीहरू सबै उत्साहित थिए । तुरुन्तै महिला सशक्तिकरण तथा जीविकोपार्जन सुधार कार्यक्रमको एउटा तालिम त्यहिं गएर गर्ने निधो भयो “एक पन्थ तीन काज” । तीन साता अघिको कुरा हो, खलंगा बजारबाट दानसाँघु हुँदै अघि बढेदेखि हामी सबै ब्यग्र, एकले अर्कालाई सहयोग गर्ने, ख्याल गर्ने, बाटामा पाइएका स्याउ, मकै, काँक्रो, पानी आदिको उपभोग गर्दै, दायाँ बायाँ देखिएका सुन्दरतामा आफूलाई समाहित गर्दै क्यामेरामा कैद गर्दै साँझमा गोठीचौर पुग्यौंं । त्यहाँका मनोरम दृश्यले हामी सबैलाई पागल बनाएको थियो । गल्फकोर्ट जस्तै देखिने त्यो उपत्यकाको चरणमा किरा जस्ता देखिएका चौपाया हुन भनेर विश्वास गर्न हामीलाई गाह्रो भैरहेको थियो । हामी सबैले आ–आपूmलाई त्यहाँ पुग्न पाएकोमा भाग्यमानी ठान्यौं र भन्यौं यो मौसममा जुम्ला पुग्ने जोकोही त्यहाँ एक पटक पुग्नै पर्ने रहेछ ।

    तालिम अवधि भर विशेष गरी दहिच्यूरा, खीर, तरकारी, दूध आदि धेरै खायौं । तालिम सकेपछि दुई समूहमा बाँडिने निर्णय भयो र बिहान सबेरै एक समूह गर्जाङ्गकोटको बाटो फर्किए र अर्को समूह गोठीचौर गाविसको गोठीगाउँ, बैसनी हुँदै डिल्लाीचौरको लासी तर्फ लाग्यौं । गोठीचौरबाट त्यस रुटमा हिंड्ने हामी सबै नयाँ थियौं । भेंडा फारामबाट ओरालो लाग्ने बित्तिकै गोठीचौरका डाँडाहरूबाट झरेका पानी, खोला, जंगलका मनोरम दृश्य हेर्दै हामी गोठीगाउँ निर पुग्यौं । गाउँ छिर्ने बाटो आउन थालेपछि फोहर बाटो जताततै दिशा देखिन थाल्यो “यो त खुल्ला दिशायुक्त क्षेत्र रहेछ” भन्दै हिंड्यौं । झन झन गाउँ छिर्न थालेपछि बढी फोहर देखियो “गु आयो गाउँ आयो” भनेको साँच्चै हो रहेछ । त्यहाँ अरु बिकल्प पनि थिएन हामीसँग । त्यसै रातभरी परेको पानीले त झन हेर्नै घिन लाग्दो भएको थियो । बाटो नहेरी हिंड्न पनि मिलेन कुल्चिएला भन्ने डर, हेरेर हिंड्दा झन बढी घिन हुने । नथुकुं भन्दा पनि नसकिने । थुक्दा थुक्दा घाँटी नै सुक्यो सबैको ।

    गोठीगाउँ भित्र छिरेपछि झन बिजोग शुरु भयो । झरीले हिलै रहेको बाटो त्यसमा पनि वस्तुको, मान्छेको गोबरमा पानी परेपछि छरिएर, कुल्चिएर छ्यालबिछ्याको अवस्था । खुट्टै टेक्न नमिल्ने गाडिन्थ्यो । त्यस्तोमा पनि बच्चाहरू बिना जुत्ता हिंडेका । बिहानैदेखि केही पुरुष गाउँलेहरू खुट्टा लर्खराउँदै हिंडेका, कसरी जिउ र खुट्टा सन्तुलनमा राखे होलान् ?

    गोठीगाउँ छिचोल्ने बित्तिकै काठमाडौंबाट आउनुभएका एकजना सरलाई घिनले भित्रै पेटदेखि निमोठेर बान्ता गरायो । भर्खरै हिंडेको बाटो देखेर बान्ता भएको हो ठीक भैहाल्छ भन्ने सोच्यौं, विस्तारै उहाँलाई डो¥याउँदै अगाडि बढ्यौं । तर बान्ता रोकिएन । त्यसपछि उहाँलाई ब्लडप्रेसर पनि भएको हुनाले बैसनि चढ्ने ठाडो उकालो नलगी गर्जाङ्गकोटको बाटोबाट फर्किएका साथिहरूसँग फोन सम्पर्क गरी उतैतिर फर्काउने सल्लाह भयो । तुरुन्तै अर्को टोलीका कमल खत्रीले मोटरसाइकल झिकाए र अप्ठेरो बाटोसम्म लिनका लागि आफै कुदे । हामी दिल्लीचौरको बाटो समाउनेहरू पनि उहाँको बान्ता नरोकिएकोमा निकै चिन्तामा हिंड्यौं । करिब १५ पटक बान्त गरेको सिथिल शरीरले मोटरसाइकल नभेटिउञ्जेल धेरै दुःख खेप्नु प¥यो । साधन पाएपछि  विस्तारै होटल पुगेर प्रसस्त पानी खाँदा बल्ल ठीक भयो । कमजोर त बनायो तर अरु कुनै समस्या भएन । गोठीचौरको अघिल्लो दिनको रमाइलो एकैपलमा धुमिल्याइदियो गोठीगाउँ छिर्नाले । एक दर्जन मिलाएर हिंडेका टोली सबैको त्यो दिन पूरै दुःख र चिन्तामय बन्यो ।

    नयाँ आगन्तुकहरू फोहर गाउँ देख्दा तुरुन्तै विरामी भएको सुनेर स्थनीय बासिन्दालाई लाग्न सक्छ – हामी पहिलेदेखि त्यस्तै ठाउँमा हुर्कियौं । तर फोहर भनेको राम्रो कुरा होइन, स्वास्थ्य तथा खानपिन आदि हरेक हिसाबले त्यहाँका बालबच्चा, विरामी, बृद्धाहरूलाई सजिलै असर गर्न सक्छ । बिरामी परेर औषधी खानु भन्दा सफा ठाउँमा बसेर स्वस्थ हुनु उत्तम । भनिन्छ, सफा ठाउँमा देवताले बास गर्छन् । हामीले रेडियो, टिभी, सिनेमा आदिमा सुने देखेको जस्तै आफ्नो गाउँ, ठाउँ सफा र सुन्दर बनाउने हो भने पर्यटकको के कमी जुम्लामा ?


    (यो लेख, जुम्लाबाट प्रकाशित पहिलो स्थानीय दैनिक पत्रिका “कर्णाली सरोकार” २०७१ असोज १ बुधवार (२०१४ सेप्टेम्वर १७) पृष्ठ २ मा प्रकाशित हो ।)

    Tuesday, September 16, 2014

    Delicious Apple, Sour Feeling in Jumla

    जुम्लामा मीठो स्याउ, अमिलो मन

    शुक्रवारको दिन डेरामा फर्कंदा घरपेटीको छोरा, उनी जुम्लाको मेरो सानो साथी, पारसले आफ्नो स्याउको बगैंचाको वारे कुरा गर्दैथियो । मैले तत्कालै उनलाई भोली बिहानै उसको स्याउ बगैंचा घुम्न जाने प्रस्ताव राखें, हाम्रो योजना तुरुन्तै बन्यो ।

    शनिवारको दिन बिहान साढे छ बजे नै मेरो सानो साथी पारस र म चिया खाएर बगैंचा जाने बाटो समायौं । बाटोमा हिलो होला भनी दुबैले गमबुट लगाएका थियौं । बगैंचा हेर्ने मनमा अनेक उत्ताल तरंग र स्याउ आफै टिपेर खाने लालसाका साथ मालाभिडदेखि ठाडो उकालो चढ्न थाल्यौं । मलाई पारसको पाइला भेट्टाउन मुस्किल भैरहेको थियो । नाङ्गो डाँडोको त्यो उकालोमा नाकबाट मात्र नभ्याएर सास छिटोछिटो मुखबाट भित्रबाहिर गर्न थालेको थियो । तरै पनि बीच बीचमा धेरै पटक रोकिएर सासलाई निकास दिनुप¥यो । यहीबेला पछाडि फर्केर हेर्दा खलङ्गा बजार, तिला खोला, एअरपोर्ट, डाँडाहरू साह्रै सुन्दर देखिएका थिए । त्यहिं बसेर हेरिरहुँ जस्तो ।

    नाङ्गो डाँडो छिचोले पछि सल्लाको जंगल भित्र छि¥यौं । म भने बाटोमा भेटेजति स्याउको भारी लिएर फर्केका महिलासँग बोल्दै गएँ । पारसका सबै आफन्तको उतैतिर बर्गैंचा र जग्गा रहेछ । उनी भेटेका महिलाको साइनो देखाउँदै जान थाले । माथि बगैंचाबाट तल झर्नेमा केटाहरू २ – ४ जना मात्र खाली थिए बाँकी सबै महिला, युवती तथा साना नानीसँग आफूभन्दा ठूला भारी थिए । बिहान ७ बज्दा ८० किलो जतिको स्याउ टिपेर, भारी बनाएर तल झरिसकेकाहरू कति बेला उठेर गएका होलान् ? जुम्लामा गरीखाने महिला एकजना पनि मोटोघाटो देखिन । मात्र ४० – ४५ किलोका महिलाले आफूभन्दा ठूलो ८० किलोको भारी कसरी बोक्न सके ? अचम्म लाग्यो । त्यो पनि ठाडो ओरालो त्यत्रो भारीले थिच्ने गरी कसरी झरे होलान् ? जिउ नै सिरिङ्ग भयो । फेरि अँध्यारैमा जंगल जाँदा विशेषगरी नानी तथा युवती कत्तिको सुरक्षित हुन्छ होला भन्ने मनमा लागिरह्यो । विस्तारै पारसलाई सोधें यहाँ –डरलाग्दो हुँदैन ? उसले बाल सुलभ हिसाबले सहजै उत्तर दिए – यहाँ कहिले काहिं भालु आउँछ अरु डर हुँदैन । मलाई लाग्यो– महिलालाई जनावरको भन्दा ठूलो डर त राक्षस स्वभावका मान्छेको पो हुन्छ भन्ने कुरा पारसले कहिले बुझ्ला ? अनि चुपचाप उनलाई पछ्याएँ ।

    पछि थाहा पाएँ महिलाको महिनावारी हुँदा २ दिनसम्म फलपूmको बोट छुन नहुने रहेछ, बिरुवा तथा रुख सुक्ला भनेर । त्यसैले त्यो बेला केटाहरू वा साथीहरूले फल टिपी दिंदा रहेछन् तर महिनावारी हुँदा भारी भने बोक्न हुँदोरहेछ । स्याउ टिप्न गएका केटाहरू पनि भारी बोक्दा अरुले गिज्याउँछन् भनेर खाली फर्किएको देखेर गाली पनि गरें । शनिवारको दिन त फुर्सदका केटाहरू २ – ४ जना मिलेर सँगै भारी बनाएर महिलालाई सहयोग गर्ने हो भने त अरुले पनि गर्न थाल्थे । यो मौसममा खलंगाबाट जुनै दिशातिर लागे पनि स्याउका ठूला ठूला भारी बोकेका महिला मात्र भेटिन्छन् । लाग्छ– जुम्लामा पुरुषनै छैनन् अथवा महिलाले झैं पुरुषमा ८० किलो भारी बोक्ने बर्कत पो छैन की ।

    हामी माथी लाग्दै गयौं, डाँडाको माथी सानो चौर जस्तो मजाको ठाउँ आयो त्यसलाई “घामताप्ने” भन्दो रहेछ, शायद जाडोमा त्यहाँ घामताप्ने गर्छन् होला । डेढघण्टा हिंडेपछि बल्ल “मेलखाने” पुग्यौं जहाँ पारसको बगैंचा छ । त्यहाँ स्याउ फलेको देखेर मेरो त आँखा ठूलो भै सासै अड्कियो, रुखबाट लगातार ४ दाना स्याउ टिपेर खाएँ, पेटै भरियो । बोटले थाम्नै नसकेर भुईंमा लत्रेको रातै स्याउको बुटाहरू देखेर यती खुशी लाग्यो कि काठमाडौंका परिवार, साथीहरू सम्झन थालें र त्यहिंबाट फोन गर्दै स्याउको वर्णन गर्न थालें स्याउ टिप्दै खाँदाको रमाइलो ।

    जुम्लाको मीठो स्याउ त खाएँ तर त्यही स्याउले जुम्लामा महिलाको कार्यबोझ बढाएको देख्दा छिनमै मन खिन्न भयो । स्याउ हुन्थेन भने अँध्यारोमै उठेर स्याउ टिप्न टाढा टाढा बगैंचासम्म जाने र आफूभन्दा ठूलो भारी बोक्ने गर्नु पर्थेन होला जस्तो लाग्यो । खैर, महिलाले यसरी पसिना बगाएर कमाएको पैसामा कति प्रतिशत महिलाको आफ्नो नियन्त्रण हुन्छ होला ? निश्चय पनि बहुसंख्यक पुरुषले स्याउबाट आएको आम्दानी माथी नियन्त्रण राख्दा हुन् । ती महिलाले दुःख गरेको देख्दा, एउटा ज्यामीलेभन्दा बढी (ज्यामीले ८ घण्टा मात्र काम गर्छ) काम गर्नु परेको देख्दा मेरो मन साह्रै निचोरियो । पुरुषले बाहिर चियापसल, वा कतै मनोरञ्जनमा भुल्नुको साटो महिलाको काँधमा काँध मिलाउने हो भने महिलालाई पनि अलि हल्का हुने थियो । घर पनि सुन्दर हुन्थ्यो । आखिर महिला पनि त मानव शरीर धारी नै हुन् । बाटोमा एउटी महिलालाई “कत्ति ठूलो भारी बोकेको” भन्दा उनको जवाफ थियो “हाम्रो शरीर रबरको हो नी ।” यो उत्तरले सिधै मेरो मनमा मात्र नभै आँखामा समेत आक्रमण गरेको थियो, अनि मेरो दिमागले भन्यो “तिमी रबरको होइन, इस्पातकी हौ” ।

    पारसको मम्मीले हिजो मात्रै २.५ क्वीन्टल स्याउ बेचेको सुनाएकी थिइन् । हेर्दै ट्वाक्क भाँच्चिएला जस्ती लिखुरी मम्मीले महिनावारी भएको बेला यत्तिका स्याउ बोक्दा उनको जीउ के भयो होला ? पक्कै पनि उनले कमाएको पैसा त घरै लग्छिन्, बाहिर एक कप चियासमेत नखाएर । यो आम्दानीले पुरुषलाई निकै सजिलो बनाएको हुँदो हो तर उनी बिरामी परीन् वा ओखतीमूलो गर्नु प¥यो वा रुखो खाना र कामको बोझले पाठेघर खस्यो भने त त्यसरी दुःख गरी कमाएको पैसा त अस्पताल पो जाला भन्ने सम्झेर डर लाग्यो । म यहि भावनामा पौडडैं थिएँ पारसले – दिदी स्याउ टिपेर लानुस् कोठामा खानलाई भन्दा झसँग भएँ । मेरो मन त्यसै ती बाटोमा भेटिएका महिलाको स्याउ भारीले अमिलो भैसकेको थियो । त्यसैले मैले पारसलाई भने “हेर रुखमा भएको जहिले टिपे पनि हुन्छ, महिलाको मेहनत परेको खेर फाल्नुहुँदैन” भन्दै उसको मम्मीले भुईंमा छुटाएर गएको र अलि अलि दाग भएर छोडेका स्याउ जम्मा गर्न थालें । रुखको पनि माटोमा लत्रेको मात्र स्याउ टिपेर सानो झोला बनाएँ । पारस छक्क प¥यो । उसको पनि सानो भारी थियो । अब हामी दुबै गफ गर्दै फर्किन थाल्यौं । लाजै मर्दो, हामीलाई ती सानो झोला पनि भारी लागेको थियो ।

    घर आइपुग्दा पारसको मम्मीलाई मैले बोटको स्याउ बचाएर भुईंको माटो लागेको स्याउ मात्र ल्याएको र त्यसको कारण जुम्लामा महिलाको दुःख देखेर हो भनी सुनाउँदा उनी साह्रै भावुक भइन्, निशब्द भै “च्व.. च्व..” मात्र गरिन् । मेरो भने जुम्लाको मीठो स्याउ खाएपनि मन अमिलो भइ नै रह्यो ।

    शोभा शाक्य



    (This article was published in Nagarik Daily of 2071 Bhadra 30 (2014/09/15) Monday, page – 7)

    Monday, September 15, 2014

    Dhaami & Science

    धामी र विज्ञान

    गत महिना जनै पूर्णिमाको बेला जुम्ला पूरै संगीतमय भएको थियो । जताततै ढोलक बजाएर धामीहरू उफ्रँदै हिंडेको देखिन्थ्यो । अझ थानहरूमा त धामीहरू पतुरेको हेर्दा निकै गाह्रो र भयानक देखिन्थ्यो । सुनिन्छ, पहिला पहिला पुरुषमा मात्र धामी जाग्थ्यो रे तर आजभोली पुरुषभन्दा महिला धामी बढ्न थालेका छन् । शायद महिलाहरूमा धार्मिक आस्था बढी हुने र कमलो मनका हुनाले ढोलकको ताल सुनेर तुरुन्तै त्यसैतालमा आफूलाई समाहित गराउने, लट्ठ भएर त्यसैमा समर्पित हुने हुन सक्छ ।

    कर्णाली क्षेत्रमा धामी शब्द नसुन्ने तथा पतुरेको नदेख्ने कोही पनि नहोलान् बरु जीवनमा डाक्टर नदेख्ने कणार्लीवासी धेरै होलान् । जुम्लामा एउटा धामीले देउटा चढेको बेला निलेको फलामको रालो करिब २ महिना पछि कर्णाली विज्ञान प्रतिष्ठानका डाक्टर निरेश थापाले भरखरै अपरेशन गरेर झिकिदिए धामीलाई बचाए । यो समाचार अहिले जुम्लामा हरेकको घर, पसलमा चियागफको विषय बनेको छ । हुन पनि यदि समयमै डाक्टरले त्यो पेटभित्र गाडिएको डण्डी नझिक्ने हो भने त्यो धामी अहिले बाँच्ने आश हुन्थेन होला । त्यसैले हामीले आजको विज्ञानलाई नकार्न सक्दैनौं भने विज्ञानको सकारात्मक उपादेयताको वेवास्ता गर्नु पनि हुँदैन ।

    श्रीदुष्का, तलियुमका बल बहादुर तिरुवा हाल आफै पनि युवा धामी हुन् । उनले १५ वर्षको उमेरमै विवाह गरे, एउटा बच्चा भएपछि बच्चा थामिदै थामिएन । त्यसपछि धामी झाँक्रीका पछि लागे, उनीहरूले भने झैं मुइयूँ (पितृ) छुटाउनका लागि कुखुरा काटे, बोका काटे । बाहुन राखेर पुराण लगाउने, भूत भगाउने आदि पटक पटक यस्तै प्रयास गरे । करिब ५०–६० हजार रुपैया खर्च गरे तर केही फाइदा भएन । उनकी श्रीमतीको ३ वटासम्म बच्चा खेर गयो । पछि इटालीएन फाउण्डेशनको आर्थिक सहयोगमा महिला सशक्तिकरण तथा जीविकोपार्जन कार्यक्रम अन्तरगत बीग्रूपले स्थानीय महिलाको पाठेघर जाँच्ने कार्यक्रम गाविसमै आयोजना गरेको बेला आफ्नी श्रीमतीलाई आमाले पर्दैन भन्दा भन्दै त्यहाँ लगेर जचाए, सुर्खेत अस्पतालमा जचाए तर पाठेघरमा खासै केही समस्या देखिएन । पछि बल बहादुरले त्यही परियोजनाले चलाएको प्रजनन स्वास्थ्य र लैंगिक हिंसा सम्बन्धी एउटा तालिममा भाग लिने मौका पाए । उनी भन्छन् – त्यसपछि मैले केही बुझें जस्तो लाग्छ । अनि उसले पुनः गर्भवती भएकी श्रीमतीलाई गाह्रो साह्रो काम गर्न दिएनन् । घरका सामान्य काम मात्र दिए । यसका लागि उनले आफ्ना बुबा आमासँग संघर्ष गर्नु प¥यो । बुबा आमा खेतीपाती बर्बाद भयो भनेर कराए । तर पनि बल बहादुरले हार मानेनन् बरु आफ्ना अभिभावकलाई बुझउन प्रयास गरे । अन्तमा ९ महिनाको गहन प्रतिक्षा पछि हेल्थ पोष्ट लगेर स्वस्थ बच्चा जन्माए । सुत्केरीलाई गोठमा राख्नु हुँदैन भनी कोठामा राखे, यसमा उनका आमा रिसाए । तर पनि हिम्मत नहारी आमालाई सम्झाउन सफल भए उनी । अहिले पहिलो बच्चा भएको ८ वर्ष पछिको यो बच्चा ३ महिनाको भएको छ । आमा बच्चा दुबै स्वस्थ छन् ।

    तालिमले उनमा र उनको परिवारमा परिवर्तन ल्याएको छ । आफू धामी भएपनि महिनावारी भएका घरका महिलाहरू गोठमा नराखी घरमै बस्ने गराएका छन् उनकै गाउँका ४ परिवारले महिनावारी बार्न छोडिसकेका छन् ।

    हाँकुका एक धामी भन्छन् – आफू धामी भएपनि महिनावारी भनेको प्राकृतिक कुरा भएकोले गोठ बस्ने र बार्ने गर्न नपर्ने सल्लाह दिन्छन् । किनभने आजको समयमा घरै बसेर टर्दैन, गाडी चढ्दा, अफिसहरू, पसलहरू जाँदा महिलाहरूलाई छोइहालिन्छ । उनीहरू महिनावारी भएकै होलन् तर आफूले त्यस्ता कुरामा विस्वास नगर्दा आफूलाई केही नभएको बताउँछन् ।

    यसरी समाजका अगुवा तथा धामीहरूले विज्ञानले प्रमाणित गरेका कुरालाई अँगाल्ने, पहिलादेखि चलि आएको भएपनि आफ्नो स्वास्थ्य, परिवार, समाजलाई हानी पु¥याउने तथा दुःख हुने, ज्यानको पनि पैसाको पनि नाश हुने खालका संस्कृतिहरूमा परिवर्तन ल्याउन हतार भएको छ । अगुवाले जे ग¥यो अरुले सजिलै अनुकरण गर्छन् । जुम्लाका अधिकांश मान्छेहरू सुर्खेत, नेपालगंज, काठमाडौं, भारत अझ अन्य देशमा पुगेका छन् । उनीहरूले त्यहाँ देखेका राम्रा कुराहरू लिएर आफ्नो गाउँमा फर्केपछि आफूले प्रयोग गर्ने र सकिन्छ भने गाउँमा सिकाउने हो भने यो जुम्ला अझ सुन्दर हुने थियो ।


    शोभा शाक्य


    (यो लेख जुम्लाबाट प्रकाशित पहिलो पत्रिका “कर्णाली सरोकार दैनिक” २०७१ भाद्र २८ गते शनिवार (१३ सेप्टेम्वर, २०१४) (वर्ष १ अंक ५९) को पृष्ठ २ मा प्रकाशित भएको हो ।)

    Monday, August 25, 2014

    Raamro Tij, Haamro Tij

    राम्रो तीज, हाम्रो तीज

    यसपाली पनि महिलाहरूको एक मात्र ठूलो चाड तीज आयो । आजभोली तीज झन झन भव्यरुपमा मनाउन थालिएको छ । शहरतिर त दरखाने कार्यक्रम धेरै दिन अगाडिदेखि शुरु हुन थालेको छ । महिला मात्र नभै पुरुषहरू पनि दर खान व्यस्त रहेको पाइन्छ ।

    संस्कृतिविद् डा. सत्यमोहन जोशीका अनुसार पार्वतिले शिवजी नै वर पाउँ भनेर ब्रत राखेको बेलादेखि तीजको ब्रत बस्ने चलन चलेको कथन छ । तर पनि आज आएर हामीले यसलाई अलि फरक ढंगले उत्पादनमूलक रुपमा मनाउनु पर्ने देखिन्छ । महिलाहरूको एक मात्र ठूलो चाड भएकोले उन्मुक्त रुपमा मनाउन पाउनु पर्छ । तर कतिपय बुहारीहरू श्रीमान्को, सासुको अनुमति नपाएर माइत जान नपाउने र मन अँध्यारो पारेरै तीज मनाउन बाध्य भएका पनि धेरै छन् । कोही बिधवा भएकोले रातो पहिरनबाट बञ्चित बनाइएका महिलाको पनि अरुको जस्तो उल्लासमय तीज हुन सक्दैन ।

    सबै महिला एक हुन्, सबैको तीज–उमंग उस्तै हुनुपर्छ र सबै महिलाले उन्मुक्त भएर तीज मनाउन पाउनु पर्छ । एक महिलाले अर्कोको इच्छा आकांक्षा बुझ्नु पर्छ, त्यसको सम्मान गर्नु पर्छ भने परिवार विशेषतः श्रीमान्हरूले पनि वर्षभरी काममै जोतिने महिलालाई वर्षमा एक पटक आउने तीजमा अन्य कामबाट मुक्त गराएर उल्लसमय तीज मनाउन पाउने वातावरण र व्यवस्था मिलाईदिनु पर्छ ।

    धेरै महिलाको दिनभरी पानी पनि नखाएर ब्रत बस्ने चलन छ । आजभोली धेरैको ग्यास्ट्रीक, ब्लड प्रेसर, डायबिटिज आदि समस्याहरू छन् त्यसैले ब्रत बस्ने प्रकृयामा पनि केहि परिवर्तन ल्याउन आवश्यक छ । पानी, फलफूल, जूस, दूध, दहि आदि फलाहार प्रसस्त मात्रामा लिने गर्दा विरामी परिने डर कम हुन्छ । ब्रत बस्ने भनेको त आफ्नो मन शुद्ध राखेर भगवानको आराधना मनैले गर्ने हो । शरीरलाई दुःख दिंदा आराधना गर्न सकिंदैन । फेरि दिनभरी मन्दिर जाने, नाचगान रमाइलो गर्दा शरीरबाट पसिना बढी निस्कँदा शरीरमा पानी तथा लवणको मात्रा कम हुनजान्छ, त्यसैले पनि झोल पदार्थ र फलफूल प्रसस्त मात्रामा खाएर त्यसको पूर्ति गर्दा शरीरलाई हानी हुन पाउँदैन ।

    ब्रतको नाममा शरीरलाई सास्ती नदिऔं । त्यसमा पनि गर्भवती, सुत्केरी, बच्चालाई दूध खुवाउने महिला, बृद्धा, विरामी महिलाहरूले तीजको बेला आफ्नो शरीरको बढी ख्याल गरी मनले मात्रै आराधना गर्दा तीजको नाममा स्वास्थ्य बिग्रन पाउँदैन ।

    अर्कोकुरा तीजमा गीत गाउँदा सासु, नन्द, आमाजुलाई गालि गरिरहेका हुन्छौं । सबै महिलाको आ–आफ्नै जीवन असुरक्षाको कारण र पुरुष मानसिकता हाबी भएका महिलाका कारण महिलाले महिलालाई दुःख दिने ति घटना, व्यवहार सृजना भएका हुन्छन् । त्यसैले तीजको दिनमा सबै महिला एकजूट भएर एकले अर्काको हौसला बढाएर हर्षोल्लासपूर्वक पर्व मनाउँदा राम्रो हुन्छ । आजभोली तीज हिन्दूहरूको मात्र नभै सबै नेपाली महिलाको पर्व भएको छ । त्यसैले जुनै धर्ममा आस्था भएपनि तीज मनाउने दिदीबहिनीलाई उत्साहित बनाइ सहयोग दिन सक्छौं । तीज मनाउँदा एकल महिलालाई विशेषतः ध्यान दिएर कार्यक्रममा सहजरुपमा उपस्थित हुन सघाउनु पर्छ ।

    अन्तमा तीजलाई बढी उत्पादनमूलक बनाउन – महिला सशक्तिकरण, विकास, छाउपडि प्रथाको अन्त्य, सुत्केरीलाई राम्रो स्याहार, सरसफाई, महिलाको कार्यबोझ घटाउने, बाल र बहु विबाह तथा जारी प्रथा हटाउने आदि विषयका चेतनामूलक सन्देश जाने खालका गीतहरू गाएर यसपालिको तीज मनाऔं । तीजको नाममा बढी तडकभडक र खर्च गरी विकृति बढाउनुको साटो समाजमा रहेका विकृति, विसंगतिलाई घटाउन र हटाउन चेतना समेत फैलाऔं । सबैलाई ह्याप्पी तीज ।

    शोभा शाक्य

    (This article was published on "Karnali Sarokar Daily" dated 2014 August 26 Tuesday (2071 Bhadra 10) - page 2.)

    Monday, August 4, 2014

    Jumla Experience and Sanitation

    सुनेको जस्तो छैन जुम्ला : अनुभव


    सुनिने गरिन्थ्यो कर्णाली पिछडिएको भोकमरी, अभावै अभाव यहाँका मानिसहरू कसरी बसिरहेका होलान् तर त्यसो रहेनछ । त्यसको ठीक उल्टो कर्णाली प्रकृतिको सम्भावनाको धरोहर रहेछ । यात्रा कर्णाली जुम्लाको थियो । म पहिलो पटक धेरै ठूलो कौतुहलताकासाथ कार्णाली क्षेत्रको जुम्ला आइपुगें । एअरपोर्टमा ओर्लने बित्तिकैको मिठो हावाको स्पर्श, आफू जहाँ गएपनि नजिकैमा डाँडाहरूले अँगालो हाल्ला जस्तो, चिसो पानी, ढुंगाका सुन्दर घरहरूले मन साह्रै प्रफुल्लित बनायो । काठमाडौं जस्तो काककुल ठाउँबाट आएको मान्छेलाई यहाँको गाउ गाउँ घुम्दा खोलानालासँगैसँगै हिंड्दा धेरै खुशी लाग्यो । तुरुन्तै यहाँका खोला, डाँडा, लटरम्म फलेका स्याउका बोट आदि फेसबूकमा पोष्ट गरें । स्वदेश विदेशबाट यति धेरै लाइक पनि भए र कमेन्ट आए “यू आर सो लक्की टु बि द्योर” ।

    जुम्लामा चारवटा गाविस मिलाएर भरखरै नगरपालिका घोषणा गरेको सुनेर झन खुशी लाग्यो । पहिले आफूले सुनेको र कल्पना गरेको भन्दा धेरै सुगम र सुन्दर लाग्यो जुम्ला । अनि यहाँका नागरिकहरूको आत्मीय आतिथ्यले झन पुलकित भएँ ।

    तर मलाई एउटै कुराले भने बारम्बार घोचिरह्यो सफा र धनी प्रकृतिलाई आफै बिगार्दै छौं के ? हरेक पटक बजार जाँदा जताततै थुप्रिएको फोहरको डुंगुर । भरखरै आएको, ठाउँको नाम थाहा थिएन त्यसैले फोहरको टेम्पल भएको ठाउँनिर भन्थें । जताततै प्लाष्टिक र अव्यवस्थित फोहर शायद नयाँ नगरपालिकाले व्यवस्थापन गर्न नभ्याएकोले होला तर आ–आफ्नो घर पसल अगाडि सफा गर्ने जिम्मेवारी त स्थानीय नागरिकको पनि त हुन्छ होइन र ?

    सन् २०१५ सम्ममा नेपाललाई खुला दिशामुक्त क्षेत्र बनाउने लक्ष्य छ । अब यस्को डेढवर्ष मात्र बाँकी छ । यहाँ भने जताततै खुला दिशायुक्त भएको पाउँदा कहिले चर्पि बनाउने र त्यस्को प्रयोगको बानी कहिले बसाल्ने होला जस्तै लाग्यो । फेरि यो ठाउँ त झिंगाको राज्य नै रहेछ । फोहर ठाउँ र खुल्ला दिशामा बसेर हाम्रो खानामा भन्किने गर्छन् । लाम्राको एक औषधी पसलेले भनेको सम्झिएँ “यो सिजनमा झाडा पखालाको औषधी धेरै बिक्री हुन्छ” । यसको कारण सरसफाइको चेतना र व्यवहारमा कमि त होइन ? डिल्लीचौरको एउटा गाउँमा कुकुरले आचि खाइरहेको देखेथें, एकछिनमै घरको बाहिर भएको भाँडा चाट्न थाल्यो, त्यो भाँडा के गर्ने होला जस्तो लाग्यो । सम्झें एउटा टिभि कार्यक्रम आँखिझ्यालमा खुल्ला दिशायुक्त ठाउँमा बस्नेले वर्षमा कम्तिमा २ किलो दिशा खान्छ भनेको कुरा अनि जिउनै सिरिङ्ग भयो ।

    गाउँतिर घुम्दा देखें, पानी त्यहिं छ तर बच्चाहरूको हातखुट्टा, नाक, मुख फोहरै हुन्छ, न त आमाबाबुलाई सफा गरिदिने फुर्सद छ, न बच्चाहरूलाई नै जानकारी छ । पानी छ्यालफ्याल भएको ठाउँमा बच्चाहरू सफा भए कत्ति राम्रो हुन्थ्यो होला । अझ गाउँकै स्वास्थ्य कार्यकर्ता, महिला समूहका अध्यक्ष जस्ता समय समयमा विभिन्न तालिम लिएकाले समेत आफ्ना बच्चालाई फोहर राखेको, फोहर लुगा लगाइदिएको देख्दा अरुले झन कहिले सिक्ने होला भन्ने लाग्यो ।

    भनिन्छ, आमाबाबुले सिकाउन नसकेको कुरा बच्चालाई स्कूलमा सजिलै सिकाउन सकिन्छ । जुम्लाका केही स्कूल हेर्ने मौका पनि मिल्यो । साना साना विद्यार्थीहरू कपाल नकोरिकन, नाक मुख फोहर गरी स्कूलमा बसेका, कक्षा कोठा साह्रै फोहर, चर्पिको त कुरै नगरुँ । हरेक स्कूलले शुरुको आधा घण्टा स्कूल पुग्ने बित्तिकै हातमुख धुने कपाल कोर्ने र ऐना हेर्ने नियम गरिदिने हो भने केही हप्तामै बानी परिहाल्छ । प्राथमिक तहमा मात्र यसरी सिकाउने हो भने पनि माथि पुगेपछि आफै बानी बसिहाल्छ । अर्को कुरा आफ्नो कक्षाकोठा, चौर आफै सफा गर्ने वा सबैभन्दा सफा राख्नेलाई हरेक महिना सानोतिनो पुरस्कारको व्यवस्था गरी प्रेरणा दिने हो भने पनि सफा गर्ने बानी बस्छ । सरसफाइको कुरा स्कूलबाट सिकेर घरमा अभ्यास गराउनको लागि अझ घर गएर सिकाउन सक्ने गरी तयार गर्नु पर्दछ । सुनेको थिएँ बिराटनगरको एक गाउँमा बालबालिकाको एक टोलीले गाउँमा खुला रुपमा दिशा गर्नेलाई सिट्ठी बजाएर बेइज्जती गर्ने गर्दा त्यहाँ सबैले चर्पिको प्रयोग गर्न थालेको र त्यो गाउँ सफा भएपछि त्यो बालबालिकाहरूले पुरस्कार पाएको कुरा । जुम्लामा पनि यो कुरा असम्भव नहोला ।

    आफ््नो घर वरीपरी अलि माटो ढुंगा थपेर स्लोप पार्ने हो भने पनि झरीको बेला बाटो हिलो हुन्थेन होला । त्यसमा पनि खच्चर र वस्तु हिंडेपछि बाटोको झन बिजोग, जुत्तानै गाडिने । उसैत झिंगा र चल्लाले पिरोल्ने ठाउँ त्यसमाथि सरसफाइमा पछि परेकोले समस्या बढ्दो छ ।

    गाडिको सुविधा नभएकोले गाउँमा स्ट्रेचरमा विरामी बोकेर ओसारेको देखें । अस्पतालको लागि सदरमुकाम आउनु पर्ने दुःखत छँदैछ त्यसैले स्वास्थ्य र सर सफाइमा बढी सचेत गराउँदा पनि विरामी हुने क्रम कम अवश्य होला ।

    मुलुकको समग्र विकासमा मानव जनशक्तिका लगि पनि स्वास्थ्य संवेदनशील पक्ष भएका कारण यसमा ध्यान दिनै पर्छ । विकासे संस्थाहरूले जतिसुकै स्वास्थ्य र सरसफाइ भनेर रटाए पनि स्थानीय स्तरबाट पनि केही पहल नभै परिवर्तन आउन गाह्रो हुने देखिन्छ । हामी सबैको संयुक्त प्रयासले यो सुन्दर जुम्लालाई सफा र स्वच्छ अवश्य बनाउन सक्छौं ।

    शोभा शाक्य

    (यो लेख जुम्लाबाट भरखरै प्रकाशित हुन थालेको “कर्णाली सरोकार दैनिक” वर्ष १ अंक १९ मा २०७१–०४–१९ सोमवार (२०१४ अगष्ट ४) को पृष्ठ – २ मा प्रकाशित भएको हो ।)


     Wooden bridge at Hanku, Jumla


    River at Lasi, Dillichaur
    Apple tree at Dillichaur,
    Gothichaur, Jumla

    Friday, August 1, 2014

    Jaari System in Jumla


    http://www.nagariknews.com/opinion/story/21817.html

     जुम्लामा जारी         

    • शुक्रबार ९ श्रावण, २०७१
    • शोभा शाक्य
    • DISQUS_COMMENTS   
    पहिलो पटक कर्णाली क्षेत्रको जुम्ला जिल्ला पुग्दा त्यहाँ अझै प्रचलनमा रहेको जारी प्रथाले धेरैलाई आश्चर्यचकित बनाउन सक्छ। एक जनाकी पत्नी अर्को पुरुषसँग बिहे गरेर गएमा पूर्वपत्नीको नयाँ पतिलाई जार भनिदोरहेछ। त्यो जारले आफ्नी पत्नी लगेकोमा जरिवाना स्वरूप तिराइने नगद वा वस्तुलाई 'जारी' भनिन्छ। टर्नरको शब्दकोशअनुसार 'जार' शब्द संस्कृतबाट आएको हो।

    जुम्लाको उत्तरी भेक पातरासी गाविस तथा सिंजा भेक, घोडे महादेव, मालिका ठाँटा आदि गाविसतिर जारी प्रथा आजभोलि पनि व्यापक प्रचलनमा रहेको पाइयो। सबै जातिमा यो प्रथा देखिए पनि दलित र मतवाली क्षेत्रीमा बढी प्रचलित रहेछ।
     
    जारलाई एक लाखदेखि ३ लाख रुपियाँसम्म तिराउने चलन रहेको छ। यस्तो जारी तिर्ने र तिराउने प्रथालाई बडो गर्वका साथ निरन्तरता दिइएको पाइन्छ। मिचा गाउँका शारदा सार्की भन्छिन् – पहिला रु १००१/– मात्र जारी तिराउने नियम थियो। साँईं (स्थानीय भाषामा पुरानो पति)ले जारी नमाग्दा पनि जार आफैँले देउता लाग्छ भनेर खसी, गोरु, भैंसी, गाग्रा, ताउला आदि जिन्सी सामान दिन्थे तर आजभोलि नगदमा ३ लाखसम्म पुगिसकेको छ। सुनिन्छ, पहिले त नेपालको अन्य भागमा पनि जारलाई खुकुरीले काटेर आफ्नो सान देखाउँने वा खुकुरी लिएर गई पहिलेकी पत्नीको नाक र कपाल काटी रगत लागेको खुकुरी नचाउँदै फर्कने चलन थियो रे। तर जुम्लामा ठूलो शत्रुको उदाहरण दिनु पर्दा जारजस्तो भन्ने चलन अझै छँदैछ।
     
    जुम्लाका केही महिला, सामाजिक कार्यकर्ता र केही अगुवा पुरुषले पनि अचेल यो चलन नराम्रो हो, महिलालाई वस्तुभाउलाई किनबेच गरे सरह गर्योा भन्न थालेका छन्। अझ पहिलो पतिले भए नभएको गरगहना लत्ताकपडा लिएर गएकोसम्म दोष लगाउँदा रहेछन्। सुनिन्छ, कति जना त जारी तिराएर पर्याप्त पैसा असुल्न पाइने भएकोले पनि पत्नी अरूसँग जाओस् भन्नेहरू पनि छन् रे!
     
    भरखरै जुम्लाको स्थानीय कर्णाली एफएमले इटालिएन फाउन्डेसनको सहयोगमा यसै जारी प्रथासम्बन्धी खोजमूलक कार्यक्रम प्रस्तुत गरेको थियो। जारी प्रथा नराम्रो हो भन्नेमा समाजलाई सजग गराउन त्यतिले मात्र पर्याप्त हुने देखिंदैन। यसको मूल कारण के हो पत्ता लगाउन अति आवश्यक छ। यसका लागि गहन अध्ययन हुनु जरुरी छ। हुन त समाजमा यस्ता कुप्रथा धेरै होलान् तर पनि एक एक गरी बिस्तारै तिनको जरो पत्तालगाई सबैतिरबाट पहल गर्ने हो भने निरुत्साहित गर्न वा निर्मूल गर्न नसकिने चाहिँ होइन।
     
    जारी प्रथा नराम्रो हो भनेरमात्रै पनि समस्याको समाधान हुँदैन। यसरी महिला किन आफ्नो पति, घर, सन्तानसमेत छाडेर अर्को पुरुषसँग जान बाध्य हुन्छन् भन्ने विषयमा गहन अध्ययन हुन आवश्यक देखिन्छ। सरसर्ती हेर्दा चाहिँ के देखिन्छ भने यहाँका महिलाको कार्यबोझ पुरुषका तुलनामा निकै धेरै छ। खेतीमा निर्भर यहाँका बासिन्दामा पुरुषले खेत जोती दिन्छ र त्यसपछिको सबै काम महिलाको जिम्मामा हुन्छ। अझ थप वस्तुभाउ, घाँस दाउरा, अन्न सुकाउने, केलाउने, पिसाउने/कुट्नेदेखि लिएर पकाउने, बालबच्चा, सफसुग्घर, लिपपोत आदि सबै काम महिलाकै पेवा सरह भएको देखिन्छ। पानीको सुविधा नभएको ठाउँमा पानी बोक्नुपर्ने थप बाध्यता छ। यी सबै कार्यबोझ हुँदाहुँदै पनि महिलामाथि घरेलु हिंसा हुने गरेको पाइन्छ। पुरुषको काम नभएपछि दिउँसै तास, क्यारिमको खालमा बस्ने, रक्सी खाएर पत्नी कुट्ने, गाली बेइज्जती गर्ने, गाउँमा हल्ला गर्ने गर्छन्। महिलाले यस्तो ज्यादती पनि सहनु परेकै छ। अर्कोतिर गर्भवती तथा सुत्केरी महिलाले समेत आराम पाउँदैनन्। दुइ साताको दुधे बालक छोडेर जंगल वा खेत जान बाध्य हुन्छन्। यसले गर्दा पनि होला महिलामा त्यस घरप्रति एक प्रकारको वितृष्णा जाग्छ र तिनले आफूलाई एकसरो माया गर्नेको आवश्यकता महसुस गर्छिन्।
     
    यस भेकमा बच्चाहरू सानैमा मगनी गरी सम्धी बनाउने चलन पनि कायमै रहेछ। सूर्य सामाजिक सेवा संघका कार्यक्रम अधिकृत कविन्द्र रोकाया बताउँछन् – अहिले पनि एउटा सामाजिक परिचालकले समेत त्यस पातरासी भेकमा आफ्नो नाबालक छोरालाई गाउँकै बालिकासँग पछि बिहे गरीदिने पक्का गरी मगनी गरेर आफ्नो सम्धी बनाएको छ। यस्तो चलनले के पछि तिनीहरू युवावस्थामा पुग्दा एकले अर्कालाई मनपराउने वा प्रेममय जीन्दगी बिताउन सक्छन् त?
     
    बाल विवाह, जबरजस्ती विवाहका कारण पनि पछि मन, विचार नमिल्दा महिलाले भोग्नु पर्ने पीडाको विकल्प पनि त्यसबाट मुक्तिको खोजी हो। अनि आफूलाई अलिकति माया देखाउने व्यक्ति पाएपछि तिनले त्यतैतिर फालहानेको हुनसक्छ।
     
    समाजमा एकले अर्काकी पत्नी लाँदा त्यहाँ नराम्रो वातावरण उत्पन्न हुन्छ भने परिवार र बालबच्चामा नराम्रो असर पर्न जान्छ। भरखरै तल्लो लोर्पा, डिल्लीचौर गाविसकी एक महिला नाबालक छोरा छाडेर अर्कोसँग गएपछि उनका बाबु, पती र छोरा उनलाई खोज्न भौंतारिरहेका छन्।
     
    यसरी समाजमा विकृति बढ्छ। अझ बच्चाहरूमा कस्तो असर पर्छ त? आफ्ना स्कुल, टोल, गाउँका साथीका अगाडि उनीहरू लज्जित महसुुस हुनुको साथै सानै उमेरमा आमाको मायाबाट वञ्चित हुनुपर्छ। आमाले आफ्नो पहिलाको बच्चा लिएरै गएपनि नयाँ पतीले ती बच्चालाई कस्तो व्यवहार गर्छ भन्ने प्रश्न उठ्छ भने आमाले छोडेर गएमा पनि बच्चाको बाबुले अर्को बिहे गरेपछि उनको अवस्था कस्तो हुन्छ यसै भन्न सकिँँदैन। आखिर दुःख त तिनै अबोध बालबच्चाले नै पाउने न हुन्।
     
    खास त पतिहरूले त्यत्रो घरखेत धानेकी पत्नी घर, बालबच्चा छोडेर अन्त जानु नपर्ने गरी माया प्रेम, हेरविचार गर्नुपर्छ भने टोलमा कहीँ कतै महिला हिंसा भए सबै मिलेर त्यसलाई पछि दोहरिन नदिनेतर्फ लाग्नुपर्छ। साथै यहाँको यस समाजमा रहेका यस्ता कुप्रथा र विकृतिलाई त्यसको कारणको जरैदेखि निर्मूल गर्नेतर्फ जुम्लामा कार्यरत गैसस तथा अन्य निकाय मिलेर सक्रिय हुनुपर्ने देखिन्छ।
     
    जुम्लामा महिला सशक्तीकरण कार्यक्रमसँग आबद्ध
     
    - See more at:  http://www.nagariknews.com/opinion/story/21817.html

    This article was published on Nagarik National Daily on July 25, 2014 (2071 Sharwan 9) Friday (page - 7). This is my first article from Jumla.