Monday, September 15, 2014

Dhaami & Science

धामी र विज्ञान

गत महिना जनै पूर्णिमाको बेला जुम्ला पूरै संगीतमय भएको थियो । जताततै ढोलक बजाएर धामीहरू उफ्रँदै हिंडेको देखिन्थ्यो । अझ थानहरूमा त धामीहरू पतुरेको हेर्दा निकै गाह्रो र भयानक देखिन्थ्यो । सुनिन्छ, पहिला पहिला पुरुषमा मात्र धामी जाग्थ्यो रे तर आजभोली पुरुषभन्दा महिला धामी बढ्न थालेका छन् । शायद महिलाहरूमा धार्मिक आस्था बढी हुने र कमलो मनका हुनाले ढोलकको ताल सुनेर तुरुन्तै त्यसैतालमा आफूलाई समाहित गराउने, लट्ठ भएर त्यसैमा समर्पित हुने हुन सक्छ ।

कर्णाली क्षेत्रमा धामी शब्द नसुन्ने तथा पतुरेको नदेख्ने कोही पनि नहोलान् बरु जीवनमा डाक्टर नदेख्ने कणार्लीवासी धेरै होलान् । जुम्लामा एउटा धामीले देउटा चढेको बेला निलेको फलामको रालो करिब २ महिना पछि कर्णाली विज्ञान प्रतिष्ठानका डाक्टर निरेश थापाले भरखरै अपरेशन गरेर झिकिदिए धामीलाई बचाए । यो समाचार अहिले जुम्लामा हरेकको घर, पसलमा चियागफको विषय बनेको छ । हुन पनि यदि समयमै डाक्टरले त्यो पेटभित्र गाडिएको डण्डी नझिक्ने हो भने त्यो धामी अहिले बाँच्ने आश हुन्थेन होला । त्यसैले हामीले आजको विज्ञानलाई नकार्न सक्दैनौं भने विज्ञानको सकारात्मक उपादेयताको वेवास्ता गर्नु पनि हुँदैन ।

श्रीदुष्का, तलियुमका बल बहादुर तिरुवा हाल आफै पनि युवा धामी हुन् । उनले १५ वर्षको उमेरमै विवाह गरे, एउटा बच्चा भएपछि बच्चा थामिदै थामिएन । त्यसपछि धामी झाँक्रीका पछि लागे, उनीहरूले भने झैं मुइयूँ (पितृ) छुटाउनका लागि कुखुरा काटे, बोका काटे । बाहुन राखेर पुराण लगाउने, भूत भगाउने आदि पटक पटक यस्तै प्रयास गरे । करिब ५०–६० हजार रुपैया खर्च गरे तर केही फाइदा भएन । उनकी श्रीमतीको ३ वटासम्म बच्चा खेर गयो । पछि इटालीएन फाउण्डेशनको आर्थिक सहयोगमा महिला सशक्तिकरण तथा जीविकोपार्जन कार्यक्रम अन्तरगत बीग्रूपले स्थानीय महिलाको पाठेघर जाँच्ने कार्यक्रम गाविसमै आयोजना गरेको बेला आफ्नी श्रीमतीलाई आमाले पर्दैन भन्दा भन्दै त्यहाँ लगेर जचाए, सुर्खेत अस्पतालमा जचाए तर पाठेघरमा खासै केही समस्या देखिएन । पछि बल बहादुरले त्यही परियोजनाले चलाएको प्रजनन स्वास्थ्य र लैंगिक हिंसा सम्बन्धी एउटा तालिममा भाग लिने मौका पाए । उनी भन्छन् – त्यसपछि मैले केही बुझें जस्तो लाग्छ । अनि उसले पुनः गर्भवती भएकी श्रीमतीलाई गाह्रो साह्रो काम गर्न दिएनन् । घरका सामान्य काम मात्र दिए । यसका लागि उनले आफ्ना बुबा आमासँग संघर्ष गर्नु प¥यो । बुबा आमा खेतीपाती बर्बाद भयो भनेर कराए । तर पनि बल बहादुरले हार मानेनन् बरु आफ्ना अभिभावकलाई बुझउन प्रयास गरे । अन्तमा ९ महिनाको गहन प्रतिक्षा पछि हेल्थ पोष्ट लगेर स्वस्थ बच्चा जन्माए । सुत्केरीलाई गोठमा राख्नु हुँदैन भनी कोठामा राखे, यसमा उनका आमा रिसाए । तर पनि हिम्मत नहारी आमालाई सम्झाउन सफल भए उनी । अहिले पहिलो बच्चा भएको ८ वर्ष पछिको यो बच्चा ३ महिनाको भएको छ । आमा बच्चा दुबै स्वस्थ छन् ।

तालिमले उनमा र उनको परिवारमा परिवर्तन ल्याएको छ । आफू धामी भएपनि महिनावारी भएका घरका महिलाहरू गोठमा नराखी घरमै बस्ने गराएका छन् उनकै गाउँका ४ परिवारले महिनावारी बार्न छोडिसकेका छन् ।

हाँकुका एक धामी भन्छन् – आफू धामी भएपनि महिनावारी भनेको प्राकृतिक कुरा भएकोले गोठ बस्ने र बार्ने गर्न नपर्ने सल्लाह दिन्छन् । किनभने आजको समयमा घरै बसेर टर्दैन, गाडी चढ्दा, अफिसहरू, पसलहरू जाँदा महिलाहरूलाई छोइहालिन्छ । उनीहरू महिनावारी भएकै होलन् तर आफूले त्यस्ता कुरामा विस्वास नगर्दा आफूलाई केही नभएको बताउँछन् ।

यसरी समाजका अगुवा तथा धामीहरूले विज्ञानले प्रमाणित गरेका कुरालाई अँगाल्ने, पहिलादेखि चलि आएको भएपनि आफ्नो स्वास्थ्य, परिवार, समाजलाई हानी पु¥याउने तथा दुःख हुने, ज्यानको पनि पैसाको पनि नाश हुने खालका संस्कृतिहरूमा परिवर्तन ल्याउन हतार भएको छ । अगुवाले जे ग¥यो अरुले सजिलै अनुकरण गर्छन् । जुम्लाका अधिकांश मान्छेहरू सुर्खेत, नेपालगंज, काठमाडौं, भारत अझ अन्य देशमा पुगेका छन् । उनीहरूले त्यहाँ देखेका राम्रा कुराहरू लिएर आफ्नो गाउँमा फर्केपछि आफूले प्रयोग गर्ने र सकिन्छ भने गाउँमा सिकाउने हो भने यो जुम्ला अझ सुन्दर हुने थियो ।


शोभा शाक्य


(यो लेख जुम्लाबाट प्रकाशित पहिलो पत्रिका “कर्णाली सरोकार दैनिक” २०७१ भाद्र २८ गते शनिवार (१३ सेप्टेम्वर, २०१४) (वर्ष १ अंक ५९) को पृष्ठ २ मा प्रकाशित भएको हो ।)

No comments:

Post a Comment