Tuesday, September 6, 2016

पहाडी मरुभूमि पकरबास

पहाडी मरुभूमि पकरबास


“पकरबासमा पिउने पानी माग्दा पनि धमिलो पानी दिन्छन्, त्यस्तो पानी भनी नखाई फ्याँकेमा उनीहरू कस्तो रिसाउँछन् ।” गौरी बजगाईं, टेवाका स्वयं सेवक बताउँदै थिइन् । पिउनलाई पानी माग्दा पनि धमिलो पानी दिने, फेरि फ्याँकेमा रिसाउने कस्तो अचम्म ?

हामी चढेको टाटासुमो रामेछाप जिल्लाको मन्थलीबाट तामाकोशी पुल तरेपछि बिस्तारै उकालो चढ्न थाल्यो । पूरै कच्ची बाटो तर अघिल्लो रातमा परेको ठूलो झरीले बाटो शान्त र धूलो नउड्ने भएको थियो । खोला भने अलि बढेर धमिलो पानी बग्दै थियो ।

टाटासुमो जति जति डाँडो उक्लिन थाल्यो पारीपट्टी जापानी सहयोगमा बनेको बीपी राजमार्गको नागबेली बाटो बडो सुन्दर देखिन्थ्यो । वरिपरी सुन्दर तथा मनमोहक प्राकृतिक दृश्य हेर्दै अलिमाथि पुग्दा सल्लाको वन आउन थाल्यो । गाडीमा सवार स्थानीय सहयात्रीहरू भन्न थाले “सल्लाको बन भएको ठाउँमा त्यसै त सुख्खा हुन्छ रे त्यसमाथि थोरै थोरै भएपनि पानी जम्ने मुहान पनि भूकम्पपछि सुक्यो ।” त्यसपछि त सिंगै पकरबास गाविस काकाकुल बनेको रहेछ । 

हामी पुगेको दिन गाउँमा निकै खुशियाली छाएको देखियो । बगरजस्तै ढुंगैढुंगा भएको बारीमा गाउँलेहरू बिहानैदेखि मकै छर्नका लागि गोरु जोत्नमा व्यस्त देखिए । त्यो गाउँका निराजन ढुंगेल भन्दै थिए “पानी परेपछि सबैलाई गोरु जोत्नकै हतारो, आफ्नो हलगोरु नहुनेले अरुको गोरुको पालो पर्खिंदासम्म त बारी नै सुकीसक्ने भो ।” सबै गाउँलेले बारी ओसिलो छँदै मकै छर्ने काम नभ्याइएला भन्ने चिन्ता लागेको थियो उनलाई । 

सबैले आ–आफ्नो बलेंसीमा घरमा भएभरको भाँडा थापेर रातभर पानी जम्मा गरेका रहेछन् । त्यहाँका महिला भन्दै थिए – कि डेढदेखि दुई घण्टा तल झरेर मुहानमा लाइन बसी पानी थाप्नु पर्छ कि अझ तल झरी खोलाको धमिलो पानी बोकी उकालो लाग्नु पर्छ । सबैलाई गाग्री, ग्यालेन डोकोमा बोकी हिंडेको देखियो । यसले गर्दा “जे होस्, जस्तै होस् पानी भए पुग्छ” भन्नमा बाध्य छन् पकरबासका स्थानीयहरू । उनीहरूले खान दिएको पानी आगन्तुकले धमिलो भनी फ्याँकेमा उनीहरू त्यत्रो दुःख गरी ल्याएको पानी तिमीहरूले नखाने हो भने हामी त खान्थ्यौं नि, किन फ्याँकेको भनी रिसाउँदा रहेछन् । अब बल्ल बुझियो यस्को कारण । भरखर त्यस गाउँमा पुगेकालाई त्यहाँको दुःख के थाहा ? त्यो दिन गाउँलेहरूलाई खानेपानी मात्र बोके पुग्ने भएको थियो पानी परेकोले ।

प्रयागेश्वर उच्च माध्यामिक विद्यालय पुग्दा देखियो, रातिको झरीले विद्यार्थीहरूमा ल्याएको खुशी । एक हुल विद्यार्थी आइपुगे र विद्यालय प्रांगणमा रातीको वर्षाको पानी जम्मा गरेका साना साना ग्यालिनहरू हल्लाउँदै हेरे, भरीभराउ ड्रमहरू देखे – एक्कासी उनीहरूको अनुहारमा खुशी तरंगीत भएको प्रष्टै पढिरहेकी थिएँ । “ओहो आज त सबै भाँडा टन्न भरिएछ” भन्दै उफ्रिँदै गए । तर यो पंक्तिकारलाई लाग्यो – विद्यालयमा पनि राती आएर त्यत्तिका भाँडामा टन्नै पानी कसले भरे होलान् ? कस्तो जाँगर या बाध्यता !

गाउँलेहरू त्यस रातिको पानी तीन चार दिनलाई पुग्ने भयो भनी ढुक्क देखिन्थे । बस्तुभाउ, भाँडावर्तन, लुगाधुने, चर्पि आदिका लागि ओहो कत्ति काममा प्रयोग गर्न सजिलो भयो । “कस्तो पानी मतलब छैन तर पानी भए पुग्छ” को अवस्थाबाट गुज्रिएको त्यस गाउँ डुल्दाडुल्दै फेरि आकाशमा बादल छाउन थाल्यो । घाम फिक्का हुन थालेपछि उनीहरूमा चिन्ता बढ्न थाल्यो । नयाँ ठाउँमा त्यो चाला देखेर फेरि अर्को अचम्म ! केहीबेर अघि त्यही पानीले खुशी देखिएकाहरू तुरुन्तै पीर गर्न थाल्नुको कारण पछि बल्ल बुझें । “आज फेरी पानी प¥यो भने केमा राख्ने पानी ? बरु दुई चार दिन पछि परेको भए भाँडो रित्तिन्थ्यो र पानी भर्न पाइन्थ्यो ।” पानी परे पनि चिन्ता, नपरे पनि चिन्ता !

पानी पर्नु मात्र पर्छ, के भोक के निन्द्रा गरी पानी थाप्न नकस्सिने हो भने फेरि त्यहि दुई घण्टा तलदेखि पानी बोक्नुको अर्को बिकल्प छैन । “गाउँमा पानीको व्यवस्था गरीदिने त भगवानै होलान् !” एक वृद्धा भन्छिन् । पिउने पानीको त यस्तो दुःख हुने ठाउँका चर्पिहरूमा के अवस्था होला भन्ने लाग्यो ।

विद्यालयमा छात्राहरूसँग एकछिन कुरा गर्दा विशेषतः महिनावारीको बेलामा धेरै दुःख पाउने बताए । त्यहाँका प्रधानाध्यापक हरि नारायण श्रेष्ठ बताउँदै थिए “हामीलाई आकाशे पानी संकलन गर्न ट्यांकी मात्र भएपनि सहयोग गर्नेहरू कोही भए शौचालयका लागि धेरै सुविधा हुने थियो ।” करिब ५०० जना विद्यार्थी संख्या भएको त्यस विद्यालयमा पुराना शौचालयका साथै भूकम्पपछि सेभ द चिल्ड्रेनले बनाई दिएको शौचालय पनि छन्, तर त्यहाँ समस्या देखियो पानीको । दिशा गर्दा त कागज वा ढुंगाले काम टर्छ तर महिनावारी हुँदा के ले पखाल्ने ? 

हुन त काठमाडौं भmन काकाकुल ठाउँ हो, तर यहाँ पैसा भयो भने पानी किन्न पाइन्छ । ट्यांकरले घरघर पु¥याइदिन्छन् । तर पकरबासमा कस्ले पु¥याउला ? त्यहाँका युवा बताउँछन् – यहाँ गाउँबाट विस्थापित हुनु बाहेक अरू कुनै विकल्प छैन अहिले । भूकम्पपछि धेरै दातृ निकायहरू नेपाल ओइरिएका छन्, यो पक्का हो । तर यस्ता अति विकट ठाउँमा पुगेर सहयोग गर्न सक्ने कोही छन् त ? 

भरखरै खानेपानी तथा सरसफाई मन्त्रालयले तीन वर्ष भित्रमा प्रत्येकको घरघरमा पानी भन्ने नाराका साथ “एक घर एक धारा” को कार्यक्रम बन्ने कुरा मन्त्रालयका प्रवक्ताले उद्घोष गरेका छन् । त्यसो त पानीलाई जिन्दगानी भनिन्छ । यस्तो महत्वपूर्ण पानीका समस्यालाई झेलेर ३ वर्षसम्म कुर्ने या मेलम्ची जस्तै “आकाशको फल” पो हुने हो की ? जे होस् ठूला योजना शुरु गर्न कि त सरकारको सहयोग चाहियो कि त दातृसंस्थाको । ठूला ठूला आइएनजिओको आँखाले अति विकट गाउँ देखेनन्, या देखेर पनि अन्देखा गरिरहेका छन्, या सुगम ठाउँमा मात्र काम गरेर प्रतिवेदन तयार गर्न खोजिरहेका छन् ? पहाडको मरुभूमि पकरबास गाविसले मै हुँ भन्ने र यस्ता दातृसंस्थालाई खुलेआम ठाडै चुनौति दिइरहेको छ ।


शोभा शाक्य
shakya_shova1@hotmail.com
June 2016

(Unpublished article)

Sunday, May 29, 2016

Singhadurbar & Shyaal



सिंहदरबार  स्याल

  • बिहीबार १३ जेष्ठ, २०७३
  • शोभा शाक्य

  • 1

(0 votes)
आफू परियो विकासे कार्यकर्ता । त्यही रहरले मलाई डोहोर्यायो सिन्धुपाल्चोक । त्यहाँ विकास गर्ने भनी "माकःफुईं" (बाँदरको फूर्ति) गर्दै हिँडेकी मैले सिंहदरबार छिर्ने सपना पनि देखेकी थिइनँ तर त्यहाँ नपुगी पनि नहुने ! भूकम्पपछिको विकास सिंहदरबारतिर छिरेको चाल पाएपछि विकासको स्वीकृति लिन एक दिन म पुनर्निर्माण प्राधिकरण कार्यालय पुगेँ ।सिंहदरबार छिर्नुअघि आफ्नो परिचय खुलाउन कुनै कागजात चाहिन्छ भन्ने मात्र थाहा थियो । कस्सिएर गएँ, सिंहदरबार गेट । ओहो, त्यहाँको रमिता ! पास लिनेको भीड ! सबैलाई विद्युतीय स्क्रीनमा आफ्नो नाम हेर्न आतुर, कोही फलाना नामको पास भन्दै कराउँदै थिए । गेटबाट छिर्न पास चाहिने रहेछ । अझ अचम्मको कुरा त दरबार भित्रका कुनै एक कर्मचारीले सिफारिस गरेपछि मात्र नाम आउने कुराले केहीबेर मलाई सालिक बनायो । केहीबेर त्यो रमिता हेर्दै सोचेँ, यो सिंहदरबार हो कि राजदरबार ? आफ्नो त कोही चिनेको छैन त्यहाँ । अब परेन फसाद ? करिब दुई घण्टा त्यहाँको दृश्य गम्दै अचम्मित भएँ । फेरि सोचेँ, म त काठमाडौंकी पढेलेखेकी महिला, गैससहरूमा काम गरेको अनुभवको थोरै भएपनि आत्माभिमान भएको मान्छे त त्यहाँ पुग्दा निरीह भै लुत्रुक्क परेँ भने दुर्गमका गाउँबाट आफ्ना समस्या वा विकासका लागि अनुरोध र सोच लिएर आउने त्यहाँ छिर्ने सम्भावना होला ? वास्तवमा मन्त्रालय भनेको त सर्वसाधारणको आवाज पुग्नुपर्ने, पहुँच हुनुपर्ने अड्डा होइन र ?

पछि एउटा युवकले धेरैबेर मलाई त्यहाँ पसिना–पसिना भएको देखेपछि मेरो सामुन्ने आएर सोधे । दरबारभित्र मेरो कोही चिनेको कर्मचारी नभएको बताएपछि उनैले आफ्नो परिचय दिँदै भने, 'मेरो नाम विवेक हो, मेरोसँगै तपाईंको नाम पनि सिफारिसका लागि पठाउँछु ल !'

खैर, मेरो काम प्राधिकरणमा हो तर पनि अरु मन्त्रालयको नाममै भए पनि पास आउने पक्का भयो । खुसीले गमक्क भएँ । तर यो गमक्कपन धेरैबेर रहिरहेन । पास कुर्दाकुर्दा हैरान ! विचरा विवेक घरी झ्यालमा हेर्न जान्छ त घरी स्क्रिनमा नाम आयो कि भनेर हेर्छ । कतिपटक त भित्रका सरलाई असहाय पारामा फोन गरिरहेको पनि देखेँ ।

म पनि बिस्तारै पास लिने झ्यालमा हेर्न गएँ । आफ्नो नाम आयो भनी सोधेँ ? त्यहाँका सुरक्षाकर्मीले वास्तै गरेनन्, सायद उनीहरूले नेपाली बुझेनन् वा मेरो बोली प्रष्ट थिएन, थाहा भएन । तीन पटक सोधेपछि बल्ल झर्केर भने, 'बाहिर स्क्रिनमा आयो भने मात्र आउँछ ।' तर स्क्रिनमा नआएपनि हाम्रो नाम भित्र आइसकेको रहेछ । बल्लबल्ल पास हात परेपछि दुवै जनाले लामो सास फे¥यौं, ठूलै रकमको चिठ्ठा जितेझैं गर्व लाग्यो ।

अब भने म लुरीको पनि विशाल सिंहदरबार छिर्ने महान् अवसर आयो । झोला जँचाएर भित्र गएँ । सिंहदरबारभित्र साइनबोर्ड नै साइनबोर्ड, नयाँनयाँ मन्त्रालय । तर पुरानो राणकालीन भवनहरूले मेरा आँखा तानिरहे । पुराना भवनसँगै जोरी खोज्दै ठडिएका नयाँ कंक्रिटका भवन त पटक्कै नसुहाएको, छ्या !

खोज्दाखोज्दा बल्ल प्राधिकरण भएको दरबार भेट्टाइयो । दरबारमा परेवाका बिष्टाले टन्नै सजावट । कत्ति ठूलो दरबार ! बीचमा ठूलो चोक, मनमोहक डिजाइन । पहिलाका राणजीहरू कसरी त्यहाँ घाम ताप्थे होला भन्ने दृश्य कल्पना गरें । लाग्यो राणाजीहरूले त्यति नबनाउँदा हुन् त अहिले हामीले केमा नाक ठड्याउँथ्यौँ, कुन्नी ?

कोठैपिच्छे नयाँ पर्दा, नयाँ नेमप्लेटहरू, छुट्याइएका कोठामा नयाँ फर्निचर, सोफा आदि देखेपछि लाग्यो त्यहाँ काम गर्ने कर्मचारी त राणाभन्दा कम भाग्यमानी होइनन् । बोर्डैपिच्छे सचिव, उपसचिवका नाम पढ्न पाइने तर सबै "बाहिर" । विवेकले मलाई डुलाइरहेको थियो । कोही पनि भेट नभएको स्थिति थियो । सिट खाली खाली, पेन्टरले नेमप्लेटमा "भित्र" भन्ने शब्द पेन्ट गर्नै बिर्सेको हो कि जस्तो ! साना कारिन्दा मात्र भेटिए जसलाई "थाहा छैन"बाहेक केही थाहा नहुने !

बल्लतल्ल एक शाखा अधिकृत भेटिए । उनले मेरा सबै जिज्ञासा मेटाइदिए । उनको फरासिलो व्यवहार र सूचना दिने शैली यी दुवै मन परेकाले उनलाई दुईपटक धन्यवाद दिएँ । एउटा पत्र बुझाउन पनि यताबाट उता, त्यहाँबाट अर्को कोठा होला भन्दै तिनले घुमाए । शायद त्यहाँको नयाँ 'साजसज्जा' देखाउनलाई नै नयाँ मान्छेहरूलाई यसरी यताबाट उता जाउ भनी जानाजान घुमाउने चलन होला !

सिंहदरबारभित्र घन्टौं घुमेर निस्केपछि झोलाको भारी, गर्मी, थकान, भोक, प्यास एक्कैसाथ उर्लेर सतायो । पुनः त्यहाँका सुन्दर पुराना भवनहरूलाई नियाल्दै गेटबाट बाहिरिएँ । जीवनमा पहिलो पटक सिंहदरबार छिर्ने हिम्मत गरेर लखतरान भएकी म विचरी लुरी स्याल !

- See more at: http://www.nagariknews.com/opinion/story/74350.html#sthash.wywJAxi5.dpuf

Friday, May 13, 2016

सरकारी नीतिको गति (The Condition of Government's Policy)

18 Apr 2016

  • सोमबार ६ बैशाख, २०७३ (Nagarik Daily)
  • शोभा शाक्य
  • Be the first to comment!
 18  1 Google +0  0  2
(0 votes)
महाभूकम्पबाट अकल्पनीय क्षती भएको एक वर्ष पूरा हुन लागिसकेका बेला इपिसेन्टर क्षेत्रमा खासै कार्यक्रमहरू सुरु गर्न/गराउन नसकेर हाल दातृसंस्था र स्थानीय जनता आत्तिन थालेको अवस्था आएको छ।
सिन्धुपाल्चोक जिल्लाको फुल्पिङकोट गाविस जहाँ एउटा घर बचेन, भएका एघारवटै सामुदायिक स्कुलका भवन भत्किए। वर्ल्डभिजन र युनिसेफले भूकम्पलगत्तै बनाइदिएको अस्थायी सिकाइ केन्द्र (टीएलसी)मा त्यहाँका विद्यार्थीले गर्मी र जाडो त काटे। अब हावाहुरीको मौसम सुरु भएको छ। गत फागुनको अन्त्यमा र चैतमा आएको हुरीले केही टहराको छाना र स्कुलका टिएलसीमा क्षति पुर्यारइसकेको छ। च्यानडाँडा प्राथमिक विद्यालयकी प्रधानाध्यापक विणा गुरुङ भन्छिन्– पोहोरपरारभन्दा यो साल हुरीबतासले बढी सताएको छ। दिनहुँ टिएलसीकै पीर छ। पक्की भवन बन्ने कहिले?

फुल्पिङकोटमा भूकम्पपछि एक दुई जनाले बाहेक अरुले नयाँ घर बनाउने आँट गरेका छैनन्। पराकम्पनले पनि अझै सिन्धुपाल्चोकलाई छाड्न खोजेको छैन। टहरोमा बस्ने र टिएलसीमा अध्ययन अध्यापन गर्नेको पीडा पनि उत्तिकै बढेको छ। गाउँलेमा 'ढुंगाको घर बलियो हुँदैन, भूकम्पले भत्काउँछ' भन्ने मानसिकताले जरो गाडेको छ। यस्तो अवस्थामा स्थानीय डकर्मी जो छिमेकी गाउँमा वा काठमाडौंमा काम गर्ने मौका पाएका छन्, उनीहरूले, सबै डकर्मीले भूकम्प प्रतिरोधी भवन निर्माणको तालिम लिनैपर्ने महसुस गरेका छन्। तर कहाँ गएर तालिम लिने उनीहरूलाई थाहा छैन। गत महिना एउटा गैससले त्यहाँ डकर्मीलाई भूकम्प प्रतिरोधी भवन बनाउने तालिम चलाउने पहल गरेकामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सहरी विकास तथा भवन निर्माण विभागको आ–आफ्नो कार्यक्षेत्र र अधिकार आफैँमा प्रष्ट नभएको अवस्थामा तालिम सञ्चालनको स्वीकृति लिन नसकेको गुनासो आएको छ।


तालिमको कुरामात्र नभई विद्यालयका भत्किएका भवन पुनर्निर्माणका कुरा गरौं। शिक्षा विभागमा दातृसंस्थाका सहयोगमा विद्यालय भवन बनाइदिनका लागि दर्जनौं निवेदन गत पुस महिनादेखि नै चाङ लागेका छन्। विभागका अनुसार गत मंसिर मसान्तसम्म मात्र विद्यालय भवन निर्माण आयोजनाको स्वीकृति दिने अधिकार विभागलाई थियो। तर त्यो बेला देशको अनिश्चितकालीन नाकाबन्दीको स्थितिले केही संघसंस्था आफ्ना कार्यक्रम अघि बढाउन हच्केका यथार्थ पनि नभएको होइन। केही संस्थाका पुसदेखिका निवेदन स्थगित भएर जम्मा भएकामा बल्ल गतसाता मात्र मन्त्रालय सरेको सूचना आएको छ। ती निवेदन त्यहाँबाट अझै कतिवटा शाखा पार गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा जानुपर्ने हो र त्यस प्रक्रियाका लागि कति समय लाग्ने हो भन्ने टुंगो छैन। यस प्रक्रियालाई कति समय लाग्छ भनी जुनै टेबलमा सोधे पनि एउटै उत्तर 'हामी कहाँ भन्न सक्छौं र?' आउने गर्छ। त्यसैले पुनर्निर्माणका लागि सरकारले यथाशीघ्र प्रष्टरूपमा नीति बनाइदिएर स्वस्फूर्तरूपमा सहयोगी हात बढाउन चाहेका दातृ संस्थाहरूलाई अनावश्यक झन्झट र निरुत्साहित हुनबाट रोक्न जरुरी देखिन्छ भने सम्बन्धित निकायले पनि जिम्मेवारीपूवर्क आफ्नो योजना अघि बढाउनका लागि दातृसंस्थालाई सकेसम्म सहज र प्रेरणादायी वातावरण मिलाइदिनु आवश्यक छ।
- See more at: http://www.nagariknews.com/opinion/story/66871.html#sthash.dxNPAegJ.dpuf