सिंहदरबार र स्याल
- बिहीबार १३ जेष्ठ, २०७३
- शोभा शाक्य
आफू परियो विकासे कार्यकर्ता । त्यही रहरले मलाई डोहोर्यायो सिन्धुपाल्चोक । त्यहाँ विकास गर्ने भनी "माकःफुईं" (बाँदरको फूर्ति) गर्दै हिँडेकी मैले सिंहदरबार छिर्ने सपना पनि देखेकी थिइनँ तर त्यहाँ नपुगी पनि नहुने ! भूकम्पपछिको विकास सिंहदरबारतिर छिरेको चाल पाएपछि विकासको स्वीकृति लिन एक दिन म पुनर्निर्माण प्राधिकरण कार्यालय पुगेँ ।सिंहदरबार छिर्नुअघि आफ्नो परिचय खुलाउन कुनै कागजात चाहिन्छ भन्ने मात्र थाहा थियो । कस्सिएर गएँ, सिंहदरबार गेट । ओहो, त्यहाँको रमिता ! पास लिनेको भीड ! सबैलाई विद्युतीय स्क्रीनमा आफ्नो नाम हेर्न आतुर, कोही फलाना नामको पास भन्दै कराउँदै थिए । गेटबाट छिर्न पास चाहिने रहेछ । अझ अचम्मको कुरा त दरबार भित्रका कुनै एक कर्मचारीले सिफारिस गरेपछि मात्र नाम आउने कुराले केहीबेर मलाई सालिक बनायो । केहीबेर त्यो रमिता हेर्दै सोचेँ, यो सिंहदरबार हो कि राजदरबार ? आफ्नो त कोही चिनेको छैन त्यहाँ । अब परेन फसाद ? करिब दुई घण्टा त्यहाँको दृश्य गम्दै अचम्मित भएँ । फेरि सोचेँ, म त काठमाडौंकी पढेलेखेकी महिला, गैससहरूमा काम गरेको अनुभवको थोरै भएपनि आत्माभिमान भएको मान्छे त त्यहाँ पुग्दा निरीह भै लुत्रुक्क परेँ भने दुर्गमका गाउँबाट आफ्ना समस्या वा विकासका लागि अनुरोध र सोच लिएर आउने त्यहाँ छिर्ने सम्भावना होला ? वास्तवमा मन्त्रालय भनेको त सर्वसाधारणको आवाज पुग्नुपर्ने, पहुँच हुनुपर्ने अड्डा होइन र ?
पछि एउटा युवकले धेरैबेर मलाई त्यहाँ पसिना–पसिना भएको देखेपछि मेरो सामुन्ने आएर सोधे । दरबारभित्र मेरो कोही चिनेको कर्मचारी नभएको बताएपछि उनैले आफ्नो परिचय दिँदै भने, 'मेरो नाम विवेक हो, मेरोसँगै तपाईंको नाम पनि सिफारिसका लागि पठाउँछु ल !'
खैर, मेरो काम प्राधिकरणमा हो तर पनि अरु मन्त्रालयको नाममै भए पनि पास आउने पक्का भयो । खुसीले गमक्क भएँ । तर यो गमक्कपन धेरैबेर रहिरहेन । पास कुर्दाकुर्दा हैरान ! विचरा विवेक घरी झ्यालमा हेर्न जान्छ त घरी स्क्रिनमा नाम आयो कि भनेर हेर्छ । कतिपटक त भित्रका सरलाई असहाय पारामा फोन गरिरहेको पनि देखेँ ।
म पनि बिस्तारै पास लिने झ्यालमा हेर्न गएँ । आफ्नो नाम आयो भनी सोधेँ ? त्यहाँका सुरक्षाकर्मीले वास्तै गरेनन्, सायद उनीहरूले नेपाली बुझेनन् वा मेरो बोली प्रष्ट थिएन, थाहा भएन । तीन पटक सोधेपछि बल्ल झर्केर भने, 'बाहिर स्क्रिनमा आयो भने मात्र आउँछ ।' तर स्क्रिनमा नआएपनि हाम्रो नाम भित्र आइसकेको रहेछ । बल्लबल्ल पास हात परेपछि दुवै जनाले लामो सास फे¥यौं, ठूलै रकमको चिठ्ठा जितेझैं गर्व लाग्यो ।
अब भने म लुरीको पनि विशाल सिंहदरबार छिर्ने महान् अवसर आयो । झोला जँचाएर भित्र गएँ । सिंहदरबारभित्र साइनबोर्ड नै साइनबोर्ड, नयाँनयाँ मन्त्रालय । तर पुरानो राणकालीन भवनहरूले मेरा आँखा तानिरहे । पुराना भवनसँगै जोरी खोज्दै ठडिएका नयाँ कंक्रिटका भवन त पटक्कै नसुहाएको, छ्या !
खोज्दाखोज्दा बल्ल प्राधिकरण भएको दरबार भेट्टाइयो । दरबारमा परेवाका बिष्टाले टन्नै सजावट । कत्ति ठूलो दरबार ! बीचमा ठूलो चोक, मनमोहक डिजाइन । पहिलाका राणजीहरू कसरी त्यहाँ घाम ताप्थे होला भन्ने दृश्य कल्पना गरें । लाग्यो राणाजीहरूले त्यति नबनाउँदा हुन् त अहिले हामीले केमा नाक ठड्याउँथ्यौँ, कुन्नी ?
कोठैपिच्छे नयाँ पर्दा, नयाँ नेमप्लेटहरू, छुट्याइएका कोठामा नयाँ फर्निचर, सोफा आदि देखेपछि लाग्यो त्यहाँ काम गर्ने कर्मचारी त राणाभन्दा कम भाग्यमानी होइनन् । बोर्डैपिच्छे सचिव, उपसचिवका नाम पढ्न पाइने तर सबै "बाहिर" । विवेकले मलाई डुलाइरहेको थियो । कोही पनि भेट नभएको स्थिति थियो । सिट खाली खाली, पेन्टरले नेमप्लेटमा "भित्र" भन्ने शब्द पेन्ट गर्नै बिर्सेको हो कि जस्तो ! साना कारिन्दा मात्र भेटिए जसलाई "थाहा छैन"बाहेक केही थाहा नहुने !
बल्लतल्ल एक शाखा अधिकृत भेटिए । उनले मेरा सबै जिज्ञासा मेटाइदिए । उनको फरासिलो व्यवहार र सूचना दिने शैली यी दुवै मन परेकाले उनलाई दुईपटक धन्यवाद दिएँ । एउटा पत्र बुझाउन पनि यताबाट उता, त्यहाँबाट अर्को कोठा होला भन्दै तिनले घुमाए । शायद त्यहाँको नयाँ 'साजसज्जा' देखाउनलाई नै नयाँ मान्छेहरूलाई यसरी यताबाट उता जाउ भनी जानाजान घुमाउने चलन होला !
सिंहदरबारभित्र घन्टौं घुमेर निस्केपछि झोलाको भारी, गर्मी, थकान, भोक, प्यास एक्कैसाथ उर्लेर सतायो । पुनः त्यहाँका सुन्दर पुराना भवनहरूलाई नियाल्दै गेटबाट बाहिरिएँ । जीवनमा पहिलो पटक सिंहदरबार छिर्ने हिम्मत गरेर लखतरान भएकी म विचरी लुरी स्याल !
No comments:
Post a Comment