Tuesday, September 6, 2016

पहाडी मरुभूमि पकरबास

पहाडी मरुभूमि पकरबास


“पकरबासमा पिउने पानी माग्दा पनि धमिलो पानी दिन्छन्, त्यस्तो पानी भनी नखाई फ्याँकेमा उनीहरू कस्तो रिसाउँछन् ।” गौरी बजगाईं, टेवाका स्वयं सेवक बताउँदै थिइन् । पिउनलाई पानी माग्दा पनि धमिलो पानी दिने, फेरि फ्याँकेमा रिसाउने कस्तो अचम्म ?

हामी चढेको टाटासुमो रामेछाप जिल्लाको मन्थलीबाट तामाकोशी पुल तरेपछि बिस्तारै उकालो चढ्न थाल्यो । पूरै कच्ची बाटो तर अघिल्लो रातमा परेको ठूलो झरीले बाटो शान्त र धूलो नउड्ने भएको थियो । खोला भने अलि बढेर धमिलो पानी बग्दै थियो ।

टाटासुमो जति जति डाँडो उक्लिन थाल्यो पारीपट्टी जापानी सहयोगमा बनेको बीपी राजमार्गको नागबेली बाटो बडो सुन्दर देखिन्थ्यो । वरिपरी सुन्दर तथा मनमोहक प्राकृतिक दृश्य हेर्दै अलिमाथि पुग्दा सल्लाको वन आउन थाल्यो । गाडीमा सवार स्थानीय सहयात्रीहरू भन्न थाले “सल्लाको बन भएको ठाउँमा त्यसै त सुख्खा हुन्छ रे त्यसमाथि थोरै थोरै भएपनि पानी जम्ने मुहान पनि भूकम्पपछि सुक्यो ।” त्यसपछि त सिंगै पकरबास गाविस काकाकुल बनेको रहेछ । 

हामी पुगेको दिन गाउँमा निकै खुशियाली छाएको देखियो । बगरजस्तै ढुंगैढुंगा भएको बारीमा गाउँलेहरू बिहानैदेखि मकै छर्नका लागि गोरु जोत्नमा व्यस्त देखिए । त्यो गाउँका निराजन ढुंगेल भन्दै थिए “पानी परेपछि सबैलाई गोरु जोत्नकै हतारो, आफ्नो हलगोरु नहुनेले अरुको गोरुको पालो पर्खिंदासम्म त बारी नै सुकीसक्ने भो ।” सबै गाउँलेले बारी ओसिलो छँदै मकै छर्ने काम नभ्याइएला भन्ने चिन्ता लागेको थियो उनलाई । 

सबैले आ–आफ्नो बलेंसीमा घरमा भएभरको भाँडा थापेर रातभर पानी जम्मा गरेका रहेछन् । त्यहाँका महिला भन्दै थिए – कि डेढदेखि दुई घण्टा तल झरेर मुहानमा लाइन बसी पानी थाप्नु पर्छ कि अझ तल झरी खोलाको धमिलो पानी बोकी उकालो लाग्नु पर्छ । सबैलाई गाग्री, ग्यालेन डोकोमा बोकी हिंडेको देखियो । यसले गर्दा “जे होस्, जस्तै होस् पानी भए पुग्छ” भन्नमा बाध्य छन् पकरबासका स्थानीयहरू । उनीहरूले खान दिएको पानी आगन्तुकले धमिलो भनी फ्याँकेमा उनीहरू त्यत्रो दुःख गरी ल्याएको पानी तिमीहरूले नखाने हो भने हामी त खान्थ्यौं नि, किन फ्याँकेको भनी रिसाउँदा रहेछन् । अब बल्ल बुझियो यस्को कारण । भरखर त्यस गाउँमा पुगेकालाई त्यहाँको दुःख के थाहा ? त्यो दिन गाउँलेहरूलाई खानेपानी मात्र बोके पुग्ने भएको थियो पानी परेकोले ।

प्रयागेश्वर उच्च माध्यामिक विद्यालय पुग्दा देखियो, रातिको झरीले विद्यार्थीहरूमा ल्याएको खुशी । एक हुल विद्यार्थी आइपुगे र विद्यालय प्रांगणमा रातीको वर्षाको पानी जम्मा गरेका साना साना ग्यालिनहरू हल्लाउँदै हेरे, भरीभराउ ड्रमहरू देखे – एक्कासी उनीहरूको अनुहारमा खुशी तरंगीत भएको प्रष्टै पढिरहेकी थिएँ । “ओहो आज त सबै भाँडा टन्न भरिएछ” भन्दै उफ्रिँदै गए । तर यो पंक्तिकारलाई लाग्यो – विद्यालयमा पनि राती आएर त्यत्तिका भाँडामा टन्नै पानी कसले भरे होलान् ? कस्तो जाँगर या बाध्यता !

गाउँलेहरू त्यस रातिको पानी तीन चार दिनलाई पुग्ने भयो भनी ढुक्क देखिन्थे । बस्तुभाउ, भाँडावर्तन, लुगाधुने, चर्पि आदिका लागि ओहो कत्ति काममा प्रयोग गर्न सजिलो भयो । “कस्तो पानी मतलब छैन तर पानी भए पुग्छ” को अवस्थाबाट गुज्रिएको त्यस गाउँ डुल्दाडुल्दै फेरि आकाशमा बादल छाउन थाल्यो । घाम फिक्का हुन थालेपछि उनीहरूमा चिन्ता बढ्न थाल्यो । नयाँ ठाउँमा त्यो चाला देखेर फेरि अर्को अचम्म ! केहीबेर अघि त्यही पानीले खुशी देखिएकाहरू तुरुन्तै पीर गर्न थाल्नुको कारण पछि बल्ल बुझें । “आज फेरी पानी प¥यो भने केमा राख्ने पानी ? बरु दुई चार दिन पछि परेको भए भाँडो रित्तिन्थ्यो र पानी भर्न पाइन्थ्यो ।” पानी परे पनि चिन्ता, नपरे पनि चिन्ता !

पानी पर्नु मात्र पर्छ, के भोक के निन्द्रा गरी पानी थाप्न नकस्सिने हो भने फेरि त्यहि दुई घण्टा तलदेखि पानी बोक्नुको अर्को बिकल्प छैन । “गाउँमा पानीको व्यवस्था गरीदिने त भगवानै होलान् !” एक वृद्धा भन्छिन् । पिउने पानीको त यस्तो दुःख हुने ठाउँका चर्पिहरूमा के अवस्था होला भन्ने लाग्यो ।

विद्यालयमा छात्राहरूसँग एकछिन कुरा गर्दा विशेषतः महिनावारीको बेलामा धेरै दुःख पाउने बताए । त्यहाँका प्रधानाध्यापक हरि नारायण श्रेष्ठ बताउँदै थिए “हामीलाई आकाशे पानी संकलन गर्न ट्यांकी मात्र भएपनि सहयोग गर्नेहरू कोही भए शौचालयका लागि धेरै सुविधा हुने थियो ।” करिब ५०० जना विद्यार्थी संख्या भएको त्यस विद्यालयमा पुराना शौचालयका साथै भूकम्पपछि सेभ द चिल्ड्रेनले बनाई दिएको शौचालय पनि छन्, तर त्यहाँ समस्या देखियो पानीको । दिशा गर्दा त कागज वा ढुंगाले काम टर्छ तर महिनावारी हुँदा के ले पखाल्ने ? 

हुन त काठमाडौं भmन काकाकुल ठाउँ हो, तर यहाँ पैसा भयो भने पानी किन्न पाइन्छ । ट्यांकरले घरघर पु¥याइदिन्छन् । तर पकरबासमा कस्ले पु¥याउला ? त्यहाँका युवा बताउँछन् – यहाँ गाउँबाट विस्थापित हुनु बाहेक अरू कुनै विकल्प छैन अहिले । भूकम्पपछि धेरै दातृ निकायहरू नेपाल ओइरिएका छन्, यो पक्का हो । तर यस्ता अति विकट ठाउँमा पुगेर सहयोग गर्न सक्ने कोही छन् त ? 

भरखरै खानेपानी तथा सरसफाई मन्त्रालयले तीन वर्ष भित्रमा प्रत्येकको घरघरमा पानी भन्ने नाराका साथ “एक घर एक धारा” को कार्यक्रम बन्ने कुरा मन्त्रालयका प्रवक्ताले उद्घोष गरेका छन् । त्यसो त पानीलाई जिन्दगानी भनिन्छ । यस्तो महत्वपूर्ण पानीका समस्यालाई झेलेर ३ वर्षसम्म कुर्ने या मेलम्ची जस्तै “आकाशको फल” पो हुने हो की ? जे होस् ठूला योजना शुरु गर्न कि त सरकारको सहयोग चाहियो कि त दातृसंस्थाको । ठूला ठूला आइएनजिओको आँखाले अति विकट गाउँ देखेनन्, या देखेर पनि अन्देखा गरिरहेका छन्, या सुगम ठाउँमा मात्र काम गरेर प्रतिवेदन तयार गर्न खोजिरहेका छन् ? पहाडको मरुभूमि पकरबास गाविसले मै हुँ भन्ने र यस्ता दातृसंस्थालाई खुलेआम ठाडै चुनौति दिइरहेको छ ।


शोभा शाक्य
shakya_shova1@hotmail.com
June 2016

(Unpublished article)