Monday, August 25, 2014

Raamro Tij, Haamro Tij

राम्रो तीज, हाम्रो तीज

यसपाली पनि महिलाहरूको एक मात्र ठूलो चाड तीज आयो । आजभोली तीज झन झन भव्यरुपमा मनाउन थालिएको छ । शहरतिर त दरखाने कार्यक्रम धेरै दिन अगाडिदेखि शुरु हुन थालेको छ । महिला मात्र नभै पुरुषहरू पनि दर खान व्यस्त रहेको पाइन्छ ।

संस्कृतिविद् डा. सत्यमोहन जोशीका अनुसार पार्वतिले शिवजी नै वर पाउँ भनेर ब्रत राखेको बेलादेखि तीजको ब्रत बस्ने चलन चलेको कथन छ । तर पनि आज आएर हामीले यसलाई अलि फरक ढंगले उत्पादनमूलक रुपमा मनाउनु पर्ने देखिन्छ । महिलाहरूको एक मात्र ठूलो चाड भएकोले उन्मुक्त रुपमा मनाउन पाउनु पर्छ । तर कतिपय बुहारीहरू श्रीमान्को, सासुको अनुमति नपाएर माइत जान नपाउने र मन अँध्यारो पारेरै तीज मनाउन बाध्य भएका पनि धेरै छन् । कोही बिधवा भएकोले रातो पहिरनबाट बञ्चित बनाइएका महिलाको पनि अरुको जस्तो उल्लासमय तीज हुन सक्दैन ।

सबै महिला एक हुन्, सबैको तीज–उमंग उस्तै हुनुपर्छ र सबै महिलाले उन्मुक्त भएर तीज मनाउन पाउनु पर्छ । एक महिलाले अर्कोको इच्छा आकांक्षा बुझ्नु पर्छ, त्यसको सम्मान गर्नु पर्छ भने परिवार विशेषतः श्रीमान्हरूले पनि वर्षभरी काममै जोतिने महिलालाई वर्षमा एक पटक आउने तीजमा अन्य कामबाट मुक्त गराएर उल्लसमय तीज मनाउन पाउने वातावरण र व्यवस्था मिलाईदिनु पर्छ ।

धेरै महिलाको दिनभरी पानी पनि नखाएर ब्रत बस्ने चलन छ । आजभोली धेरैको ग्यास्ट्रीक, ब्लड प्रेसर, डायबिटिज आदि समस्याहरू छन् त्यसैले ब्रत बस्ने प्रकृयामा पनि केहि परिवर्तन ल्याउन आवश्यक छ । पानी, फलफूल, जूस, दूध, दहि आदि फलाहार प्रसस्त मात्रामा लिने गर्दा विरामी परिने डर कम हुन्छ । ब्रत बस्ने भनेको त आफ्नो मन शुद्ध राखेर भगवानको आराधना मनैले गर्ने हो । शरीरलाई दुःख दिंदा आराधना गर्न सकिंदैन । फेरि दिनभरी मन्दिर जाने, नाचगान रमाइलो गर्दा शरीरबाट पसिना बढी निस्कँदा शरीरमा पानी तथा लवणको मात्रा कम हुनजान्छ, त्यसैले पनि झोल पदार्थ र फलफूल प्रसस्त मात्रामा खाएर त्यसको पूर्ति गर्दा शरीरलाई हानी हुन पाउँदैन ।

ब्रतको नाममा शरीरलाई सास्ती नदिऔं । त्यसमा पनि गर्भवती, सुत्केरी, बच्चालाई दूध खुवाउने महिला, बृद्धा, विरामी महिलाहरूले तीजको बेला आफ्नो शरीरको बढी ख्याल गरी मनले मात्रै आराधना गर्दा तीजको नाममा स्वास्थ्य बिग्रन पाउँदैन ।

अर्कोकुरा तीजमा गीत गाउँदा सासु, नन्द, आमाजुलाई गालि गरिरहेका हुन्छौं । सबै महिलाको आ–आफ्नै जीवन असुरक्षाको कारण र पुरुष मानसिकता हाबी भएका महिलाका कारण महिलाले महिलालाई दुःख दिने ति घटना, व्यवहार सृजना भएका हुन्छन् । त्यसैले तीजको दिनमा सबै महिला एकजूट भएर एकले अर्काको हौसला बढाएर हर्षोल्लासपूर्वक पर्व मनाउँदा राम्रो हुन्छ । आजभोली तीज हिन्दूहरूको मात्र नभै सबै नेपाली महिलाको पर्व भएको छ । त्यसैले जुनै धर्ममा आस्था भएपनि तीज मनाउने दिदीबहिनीलाई उत्साहित बनाइ सहयोग दिन सक्छौं । तीज मनाउँदा एकल महिलालाई विशेषतः ध्यान दिएर कार्यक्रममा सहजरुपमा उपस्थित हुन सघाउनु पर्छ ।

अन्तमा तीजलाई बढी उत्पादनमूलक बनाउन – महिला सशक्तिकरण, विकास, छाउपडि प्रथाको अन्त्य, सुत्केरीलाई राम्रो स्याहार, सरसफाई, महिलाको कार्यबोझ घटाउने, बाल र बहु विबाह तथा जारी प्रथा हटाउने आदि विषयका चेतनामूलक सन्देश जाने खालका गीतहरू गाएर यसपालिको तीज मनाऔं । तीजको नाममा बढी तडकभडक र खर्च गरी विकृति बढाउनुको साटो समाजमा रहेका विकृति, विसंगतिलाई घटाउन र हटाउन चेतना समेत फैलाऔं । सबैलाई ह्याप्पी तीज ।

शोभा शाक्य

(This article was published on "Karnali Sarokar Daily" dated 2014 August 26 Tuesday (2071 Bhadra 10) - page 2.)

Monday, August 4, 2014

Jumla Experience and Sanitation

सुनेको जस्तो छैन जुम्ला : अनुभव


सुनिने गरिन्थ्यो कर्णाली पिछडिएको भोकमरी, अभावै अभाव यहाँका मानिसहरू कसरी बसिरहेका होलान् तर त्यसो रहेनछ । त्यसको ठीक उल्टो कर्णाली प्रकृतिको सम्भावनाको धरोहर रहेछ । यात्रा कर्णाली जुम्लाको थियो । म पहिलो पटक धेरै ठूलो कौतुहलताकासाथ कार्णाली क्षेत्रको जुम्ला आइपुगें । एअरपोर्टमा ओर्लने बित्तिकैको मिठो हावाको स्पर्श, आफू जहाँ गएपनि नजिकैमा डाँडाहरूले अँगालो हाल्ला जस्तो, चिसो पानी, ढुंगाका सुन्दर घरहरूले मन साह्रै प्रफुल्लित बनायो । काठमाडौं जस्तो काककुल ठाउँबाट आएको मान्छेलाई यहाँको गाउ गाउँ घुम्दा खोलानालासँगैसँगै हिंड्दा धेरै खुशी लाग्यो । तुरुन्तै यहाँका खोला, डाँडा, लटरम्म फलेका स्याउका बोट आदि फेसबूकमा पोष्ट गरें । स्वदेश विदेशबाट यति धेरै लाइक पनि भए र कमेन्ट आए “यू आर सो लक्की टु बि द्योर” ।

जुम्लामा चारवटा गाविस मिलाएर भरखरै नगरपालिका घोषणा गरेको सुनेर झन खुशी लाग्यो । पहिले आफूले सुनेको र कल्पना गरेको भन्दा धेरै सुगम र सुन्दर लाग्यो जुम्ला । अनि यहाँका नागरिकहरूको आत्मीय आतिथ्यले झन पुलकित भएँ ।

तर मलाई एउटै कुराले भने बारम्बार घोचिरह्यो सफा र धनी प्रकृतिलाई आफै बिगार्दै छौं के ? हरेक पटक बजार जाँदा जताततै थुप्रिएको फोहरको डुंगुर । भरखरै आएको, ठाउँको नाम थाहा थिएन त्यसैले फोहरको टेम्पल भएको ठाउँनिर भन्थें । जताततै प्लाष्टिक र अव्यवस्थित फोहर शायद नयाँ नगरपालिकाले व्यवस्थापन गर्न नभ्याएकोले होला तर आ–आफ्नो घर पसल अगाडि सफा गर्ने जिम्मेवारी त स्थानीय नागरिकको पनि त हुन्छ होइन र ?

सन् २०१५ सम्ममा नेपाललाई खुला दिशामुक्त क्षेत्र बनाउने लक्ष्य छ । अब यस्को डेढवर्ष मात्र बाँकी छ । यहाँ भने जताततै खुला दिशायुक्त भएको पाउँदा कहिले चर्पि बनाउने र त्यस्को प्रयोगको बानी कहिले बसाल्ने होला जस्तै लाग्यो । फेरि यो ठाउँ त झिंगाको राज्य नै रहेछ । फोहर ठाउँ र खुल्ला दिशामा बसेर हाम्रो खानामा भन्किने गर्छन् । लाम्राको एक औषधी पसलेले भनेको सम्झिएँ “यो सिजनमा झाडा पखालाको औषधी धेरै बिक्री हुन्छ” । यसको कारण सरसफाइको चेतना र व्यवहारमा कमि त होइन ? डिल्लीचौरको एउटा गाउँमा कुकुरले आचि खाइरहेको देखेथें, एकछिनमै घरको बाहिर भएको भाँडा चाट्न थाल्यो, त्यो भाँडा के गर्ने होला जस्तो लाग्यो । सम्झें एउटा टिभि कार्यक्रम आँखिझ्यालमा खुल्ला दिशायुक्त ठाउँमा बस्नेले वर्षमा कम्तिमा २ किलो दिशा खान्छ भनेको कुरा अनि जिउनै सिरिङ्ग भयो ।

गाउँतिर घुम्दा देखें, पानी त्यहिं छ तर बच्चाहरूको हातखुट्टा, नाक, मुख फोहरै हुन्छ, न त आमाबाबुलाई सफा गरिदिने फुर्सद छ, न बच्चाहरूलाई नै जानकारी छ । पानी छ्यालफ्याल भएको ठाउँमा बच्चाहरू सफा भए कत्ति राम्रो हुन्थ्यो होला । अझ गाउँकै स्वास्थ्य कार्यकर्ता, महिला समूहका अध्यक्ष जस्ता समय समयमा विभिन्न तालिम लिएकाले समेत आफ्ना बच्चालाई फोहर राखेको, फोहर लुगा लगाइदिएको देख्दा अरुले झन कहिले सिक्ने होला भन्ने लाग्यो ।

भनिन्छ, आमाबाबुले सिकाउन नसकेको कुरा बच्चालाई स्कूलमा सजिलै सिकाउन सकिन्छ । जुम्लाका केही स्कूल हेर्ने मौका पनि मिल्यो । साना साना विद्यार्थीहरू कपाल नकोरिकन, नाक मुख फोहर गरी स्कूलमा बसेका, कक्षा कोठा साह्रै फोहर, चर्पिको त कुरै नगरुँ । हरेक स्कूलले शुरुको आधा घण्टा स्कूल पुग्ने बित्तिकै हातमुख धुने कपाल कोर्ने र ऐना हेर्ने नियम गरिदिने हो भने केही हप्तामै बानी परिहाल्छ । प्राथमिक तहमा मात्र यसरी सिकाउने हो भने पनि माथि पुगेपछि आफै बानी बसिहाल्छ । अर्को कुरा आफ्नो कक्षाकोठा, चौर आफै सफा गर्ने वा सबैभन्दा सफा राख्नेलाई हरेक महिना सानोतिनो पुरस्कारको व्यवस्था गरी प्रेरणा दिने हो भने पनि सफा गर्ने बानी बस्छ । सरसफाइको कुरा स्कूलबाट सिकेर घरमा अभ्यास गराउनको लागि अझ घर गएर सिकाउन सक्ने गरी तयार गर्नु पर्दछ । सुनेको थिएँ बिराटनगरको एक गाउँमा बालबालिकाको एक टोलीले गाउँमा खुला रुपमा दिशा गर्नेलाई सिट्ठी बजाएर बेइज्जती गर्ने गर्दा त्यहाँ सबैले चर्पिको प्रयोग गर्न थालेको र त्यो गाउँ सफा भएपछि त्यो बालबालिकाहरूले पुरस्कार पाएको कुरा । जुम्लामा पनि यो कुरा असम्भव नहोला ।

आफ््नो घर वरीपरी अलि माटो ढुंगा थपेर स्लोप पार्ने हो भने पनि झरीको बेला बाटो हिलो हुन्थेन होला । त्यसमा पनि खच्चर र वस्तु हिंडेपछि बाटोको झन बिजोग, जुत्तानै गाडिने । उसैत झिंगा र चल्लाले पिरोल्ने ठाउँ त्यसमाथि सरसफाइमा पछि परेकोले समस्या बढ्दो छ ।

गाडिको सुविधा नभएकोले गाउँमा स्ट्रेचरमा विरामी बोकेर ओसारेको देखें । अस्पतालको लागि सदरमुकाम आउनु पर्ने दुःखत छँदैछ त्यसैले स्वास्थ्य र सर सफाइमा बढी सचेत गराउँदा पनि विरामी हुने क्रम कम अवश्य होला ।

मुलुकको समग्र विकासमा मानव जनशक्तिका लगि पनि स्वास्थ्य संवेदनशील पक्ष भएका कारण यसमा ध्यान दिनै पर्छ । विकासे संस्थाहरूले जतिसुकै स्वास्थ्य र सरसफाइ भनेर रटाए पनि स्थानीय स्तरबाट पनि केही पहल नभै परिवर्तन आउन गाह्रो हुने देखिन्छ । हामी सबैको संयुक्त प्रयासले यो सुन्दर जुम्लालाई सफा र स्वच्छ अवश्य बनाउन सक्छौं ।

शोभा शाक्य

(यो लेख जुम्लाबाट भरखरै प्रकाशित हुन थालेको “कर्णाली सरोकार दैनिक” वर्ष १ अंक १९ मा २०७१–०४–१९ सोमवार (२०१४ अगष्ट ४) को पृष्ठ – २ मा प्रकाशित भएको हो ।)


 Wooden bridge at Hanku, Jumla


River at Lasi, Dillichaur
Apple tree at Dillichaur,
Gothichaur, Jumla

Friday, August 1, 2014

Jaari System in Jumla


http://www.nagariknews.com/opinion/story/21817.html

 जुम्लामा जारी         

  • शुक्रबार ९ श्रावण, २०७१
  • शोभा शाक्य
  • DISQUS_COMMENTS   
पहिलो पटक कर्णाली क्षेत्रको जुम्ला जिल्ला पुग्दा त्यहाँ अझै प्रचलनमा रहेको जारी प्रथाले धेरैलाई आश्चर्यचकित बनाउन सक्छ। एक जनाकी पत्नी अर्को पुरुषसँग बिहे गरेर गएमा पूर्वपत्नीको नयाँ पतिलाई जार भनिदोरहेछ। त्यो जारले आफ्नी पत्नी लगेकोमा जरिवाना स्वरूप तिराइने नगद वा वस्तुलाई 'जारी' भनिन्छ। टर्नरको शब्दकोशअनुसार 'जार' शब्द संस्कृतबाट आएको हो।

जुम्लाको उत्तरी भेक पातरासी गाविस तथा सिंजा भेक, घोडे महादेव, मालिका ठाँटा आदि गाविसतिर जारी प्रथा आजभोलि पनि व्यापक प्रचलनमा रहेको पाइयो। सबै जातिमा यो प्रथा देखिए पनि दलित र मतवाली क्षेत्रीमा बढी प्रचलित रहेछ।
 
जारलाई एक लाखदेखि ३ लाख रुपियाँसम्म तिराउने चलन रहेको छ। यस्तो जारी तिर्ने र तिराउने प्रथालाई बडो गर्वका साथ निरन्तरता दिइएको पाइन्छ। मिचा गाउँका शारदा सार्की भन्छिन् – पहिला रु १००१/– मात्र जारी तिराउने नियम थियो। साँईं (स्थानीय भाषामा पुरानो पति)ले जारी नमाग्दा पनि जार आफैँले देउता लाग्छ भनेर खसी, गोरु, भैंसी, गाग्रा, ताउला आदि जिन्सी सामान दिन्थे तर आजभोलि नगदमा ३ लाखसम्म पुगिसकेको छ। सुनिन्छ, पहिले त नेपालको अन्य भागमा पनि जारलाई खुकुरीले काटेर आफ्नो सान देखाउँने वा खुकुरी लिएर गई पहिलेकी पत्नीको नाक र कपाल काटी रगत लागेको खुकुरी नचाउँदै फर्कने चलन थियो रे। तर जुम्लामा ठूलो शत्रुको उदाहरण दिनु पर्दा जारजस्तो भन्ने चलन अझै छँदैछ।
 
जुम्लाका केही महिला, सामाजिक कार्यकर्ता र केही अगुवा पुरुषले पनि अचेल यो चलन नराम्रो हो, महिलालाई वस्तुभाउलाई किनबेच गरे सरह गर्योा भन्न थालेका छन्। अझ पहिलो पतिले भए नभएको गरगहना लत्ताकपडा लिएर गएकोसम्म दोष लगाउँदा रहेछन्। सुनिन्छ, कति जना त जारी तिराएर पर्याप्त पैसा असुल्न पाइने भएकोले पनि पत्नी अरूसँग जाओस् भन्नेहरू पनि छन् रे!
 
भरखरै जुम्लाको स्थानीय कर्णाली एफएमले इटालिएन फाउन्डेसनको सहयोगमा यसै जारी प्रथासम्बन्धी खोजमूलक कार्यक्रम प्रस्तुत गरेको थियो। जारी प्रथा नराम्रो हो भन्नेमा समाजलाई सजग गराउन त्यतिले मात्र पर्याप्त हुने देखिंदैन। यसको मूल कारण के हो पत्ता लगाउन अति आवश्यक छ। यसका लागि गहन अध्ययन हुनु जरुरी छ। हुन त समाजमा यस्ता कुप्रथा धेरै होलान् तर पनि एक एक गरी बिस्तारै तिनको जरो पत्तालगाई सबैतिरबाट पहल गर्ने हो भने निरुत्साहित गर्न वा निर्मूल गर्न नसकिने चाहिँ होइन।
 
जारी प्रथा नराम्रो हो भनेरमात्रै पनि समस्याको समाधान हुँदैन। यसरी महिला किन आफ्नो पति, घर, सन्तानसमेत छाडेर अर्को पुरुषसँग जान बाध्य हुन्छन् भन्ने विषयमा गहन अध्ययन हुन आवश्यक देखिन्छ। सरसर्ती हेर्दा चाहिँ के देखिन्छ भने यहाँका महिलाको कार्यबोझ पुरुषका तुलनामा निकै धेरै छ। खेतीमा निर्भर यहाँका बासिन्दामा पुरुषले खेत जोती दिन्छ र त्यसपछिको सबै काम महिलाको जिम्मामा हुन्छ। अझ थप वस्तुभाउ, घाँस दाउरा, अन्न सुकाउने, केलाउने, पिसाउने/कुट्नेदेखि लिएर पकाउने, बालबच्चा, सफसुग्घर, लिपपोत आदि सबै काम महिलाकै पेवा सरह भएको देखिन्छ। पानीको सुविधा नभएको ठाउँमा पानी बोक्नुपर्ने थप बाध्यता छ। यी सबै कार्यबोझ हुँदाहुँदै पनि महिलामाथि घरेलु हिंसा हुने गरेको पाइन्छ। पुरुषको काम नभएपछि दिउँसै तास, क्यारिमको खालमा बस्ने, रक्सी खाएर पत्नी कुट्ने, गाली बेइज्जती गर्ने, गाउँमा हल्ला गर्ने गर्छन्। महिलाले यस्तो ज्यादती पनि सहनु परेकै छ। अर्कोतिर गर्भवती तथा सुत्केरी महिलाले समेत आराम पाउँदैनन्। दुइ साताको दुधे बालक छोडेर जंगल वा खेत जान बाध्य हुन्छन्। यसले गर्दा पनि होला महिलामा त्यस घरप्रति एक प्रकारको वितृष्णा जाग्छ र तिनले आफूलाई एकसरो माया गर्नेको आवश्यकता महसुस गर्छिन्।
 
यस भेकमा बच्चाहरू सानैमा मगनी गरी सम्धी बनाउने चलन पनि कायमै रहेछ। सूर्य सामाजिक सेवा संघका कार्यक्रम अधिकृत कविन्द्र रोकाया बताउँछन् – अहिले पनि एउटा सामाजिक परिचालकले समेत त्यस पातरासी भेकमा आफ्नो नाबालक छोरालाई गाउँकै बालिकासँग पछि बिहे गरीदिने पक्का गरी मगनी गरेर आफ्नो सम्धी बनाएको छ। यस्तो चलनले के पछि तिनीहरू युवावस्थामा पुग्दा एकले अर्कालाई मनपराउने वा प्रेममय जीन्दगी बिताउन सक्छन् त?
 
बाल विवाह, जबरजस्ती विवाहका कारण पनि पछि मन, विचार नमिल्दा महिलाले भोग्नु पर्ने पीडाको विकल्प पनि त्यसबाट मुक्तिको खोजी हो। अनि आफूलाई अलिकति माया देखाउने व्यक्ति पाएपछि तिनले त्यतैतिर फालहानेको हुनसक्छ।
 
समाजमा एकले अर्काकी पत्नी लाँदा त्यहाँ नराम्रो वातावरण उत्पन्न हुन्छ भने परिवार र बालबच्चामा नराम्रो असर पर्न जान्छ। भरखरै तल्लो लोर्पा, डिल्लीचौर गाविसकी एक महिला नाबालक छोरा छाडेर अर्कोसँग गएपछि उनका बाबु, पती र छोरा उनलाई खोज्न भौंतारिरहेका छन्।
 
यसरी समाजमा विकृति बढ्छ। अझ बच्चाहरूमा कस्तो असर पर्छ त? आफ्ना स्कुल, टोल, गाउँका साथीका अगाडि उनीहरू लज्जित महसुुस हुनुको साथै सानै उमेरमा आमाको मायाबाट वञ्चित हुनुपर्छ। आमाले आफ्नो पहिलाको बच्चा लिएरै गएपनि नयाँ पतीले ती बच्चालाई कस्तो व्यवहार गर्छ भन्ने प्रश्न उठ्छ भने आमाले छोडेर गएमा पनि बच्चाको बाबुले अर्को बिहे गरेपछि उनको अवस्था कस्तो हुन्छ यसै भन्न सकिँँदैन। आखिर दुःख त तिनै अबोध बालबच्चाले नै पाउने न हुन्।
 
खास त पतिहरूले त्यत्रो घरखेत धानेकी पत्नी घर, बालबच्चा छोडेर अन्त जानु नपर्ने गरी माया प्रेम, हेरविचार गर्नुपर्छ भने टोलमा कहीँ कतै महिला हिंसा भए सबै मिलेर त्यसलाई पछि दोहरिन नदिनेतर्फ लाग्नुपर्छ। साथै यहाँको यस समाजमा रहेका यस्ता कुप्रथा र विकृतिलाई त्यसको कारणको जरैदेखि निर्मूल गर्नेतर्फ जुम्लामा कार्यरत गैसस तथा अन्य निकाय मिलेर सक्रिय हुनुपर्ने देखिन्छ।
 
जुम्लामा महिला सशक्तीकरण कार्यक्रमसँग आबद्ध
 
- See more at:  http://www.nagariknews.com/opinion/story/21817.html

This article was published on Nagarik National Daily on July 25, 2014 (2071 Sharwan 9) Friday (page - 7). This is my first article from Jumla.