Friday, August 1, 2014

Jaari System in Jumla


http://www.nagariknews.com/opinion/story/21817.html

 जुम्लामा जारी         

  • शुक्रबार ९ श्रावण, २०७१
  • शोभा शाक्य
  • DISQUS_COMMENTS   
पहिलो पटक कर्णाली क्षेत्रको जुम्ला जिल्ला पुग्दा त्यहाँ अझै प्रचलनमा रहेको जारी प्रथाले धेरैलाई आश्चर्यचकित बनाउन सक्छ। एक जनाकी पत्नी अर्को पुरुषसँग बिहे गरेर गएमा पूर्वपत्नीको नयाँ पतिलाई जार भनिदोरहेछ। त्यो जारले आफ्नी पत्नी लगेकोमा जरिवाना स्वरूप तिराइने नगद वा वस्तुलाई 'जारी' भनिन्छ। टर्नरको शब्दकोशअनुसार 'जार' शब्द संस्कृतबाट आएको हो।

जुम्लाको उत्तरी भेक पातरासी गाविस तथा सिंजा भेक, घोडे महादेव, मालिका ठाँटा आदि गाविसतिर जारी प्रथा आजभोलि पनि व्यापक प्रचलनमा रहेको पाइयो। सबै जातिमा यो प्रथा देखिए पनि दलित र मतवाली क्षेत्रीमा बढी प्रचलित रहेछ।
 
जारलाई एक लाखदेखि ३ लाख रुपियाँसम्म तिराउने चलन रहेको छ। यस्तो जारी तिर्ने र तिराउने प्रथालाई बडो गर्वका साथ निरन्तरता दिइएको पाइन्छ। मिचा गाउँका शारदा सार्की भन्छिन् – पहिला रु १००१/– मात्र जारी तिराउने नियम थियो। साँईं (स्थानीय भाषामा पुरानो पति)ले जारी नमाग्दा पनि जार आफैँले देउता लाग्छ भनेर खसी, गोरु, भैंसी, गाग्रा, ताउला आदि जिन्सी सामान दिन्थे तर आजभोलि नगदमा ३ लाखसम्म पुगिसकेको छ। सुनिन्छ, पहिले त नेपालको अन्य भागमा पनि जारलाई खुकुरीले काटेर आफ्नो सान देखाउँने वा खुकुरी लिएर गई पहिलेकी पत्नीको नाक र कपाल काटी रगत लागेको खुकुरी नचाउँदै फर्कने चलन थियो रे। तर जुम्लामा ठूलो शत्रुको उदाहरण दिनु पर्दा जारजस्तो भन्ने चलन अझै छँदैछ।
 
जुम्लाका केही महिला, सामाजिक कार्यकर्ता र केही अगुवा पुरुषले पनि अचेल यो चलन नराम्रो हो, महिलालाई वस्तुभाउलाई किनबेच गरे सरह गर्योा भन्न थालेका छन्। अझ पहिलो पतिले भए नभएको गरगहना लत्ताकपडा लिएर गएकोसम्म दोष लगाउँदा रहेछन्। सुनिन्छ, कति जना त जारी तिराएर पर्याप्त पैसा असुल्न पाइने भएकोले पनि पत्नी अरूसँग जाओस् भन्नेहरू पनि छन् रे!
 
भरखरै जुम्लाको स्थानीय कर्णाली एफएमले इटालिएन फाउन्डेसनको सहयोगमा यसै जारी प्रथासम्बन्धी खोजमूलक कार्यक्रम प्रस्तुत गरेको थियो। जारी प्रथा नराम्रो हो भन्नेमा समाजलाई सजग गराउन त्यतिले मात्र पर्याप्त हुने देखिंदैन। यसको मूल कारण के हो पत्ता लगाउन अति आवश्यक छ। यसका लागि गहन अध्ययन हुनु जरुरी छ। हुन त समाजमा यस्ता कुप्रथा धेरै होलान् तर पनि एक एक गरी बिस्तारै तिनको जरो पत्तालगाई सबैतिरबाट पहल गर्ने हो भने निरुत्साहित गर्न वा निर्मूल गर्न नसकिने चाहिँ होइन।
 
जारी प्रथा नराम्रो हो भनेरमात्रै पनि समस्याको समाधान हुँदैन। यसरी महिला किन आफ्नो पति, घर, सन्तानसमेत छाडेर अर्को पुरुषसँग जान बाध्य हुन्छन् भन्ने विषयमा गहन अध्ययन हुन आवश्यक देखिन्छ। सरसर्ती हेर्दा चाहिँ के देखिन्छ भने यहाँका महिलाको कार्यबोझ पुरुषका तुलनामा निकै धेरै छ। खेतीमा निर्भर यहाँका बासिन्दामा पुरुषले खेत जोती दिन्छ र त्यसपछिको सबै काम महिलाको जिम्मामा हुन्छ। अझ थप वस्तुभाउ, घाँस दाउरा, अन्न सुकाउने, केलाउने, पिसाउने/कुट्नेदेखि लिएर पकाउने, बालबच्चा, सफसुग्घर, लिपपोत आदि सबै काम महिलाकै पेवा सरह भएको देखिन्छ। पानीको सुविधा नभएको ठाउँमा पानी बोक्नुपर्ने थप बाध्यता छ। यी सबै कार्यबोझ हुँदाहुँदै पनि महिलामाथि घरेलु हिंसा हुने गरेको पाइन्छ। पुरुषको काम नभएपछि दिउँसै तास, क्यारिमको खालमा बस्ने, रक्सी खाएर पत्नी कुट्ने, गाली बेइज्जती गर्ने, गाउँमा हल्ला गर्ने गर्छन्। महिलाले यस्तो ज्यादती पनि सहनु परेकै छ। अर्कोतिर गर्भवती तथा सुत्केरी महिलाले समेत आराम पाउँदैनन्। दुइ साताको दुधे बालक छोडेर जंगल वा खेत जान बाध्य हुन्छन्। यसले गर्दा पनि होला महिलामा त्यस घरप्रति एक प्रकारको वितृष्णा जाग्छ र तिनले आफूलाई एकसरो माया गर्नेको आवश्यकता महसुस गर्छिन्।
 
यस भेकमा बच्चाहरू सानैमा मगनी गरी सम्धी बनाउने चलन पनि कायमै रहेछ। सूर्य सामाजिक सेवा संघका कार्यक्रम अधिकृत कविन्द्र रोकाया बताउँछन् – अहिले पनि एउटा सामाजिक परिचालकले समेत त्यस पातरासी भेकमा आफ्नो नाबालक छोरालाई गाउँकै बालिकासँग पछि बिहे गरीदिने पक्का गरी मगनी गरेर आफ्नो सम्धी बनाएको छ। यस्तो चलनले के पछि तिनीहरू युवावस्थामा पुग्दा एकले अर्कालाई मनपराउने वा प्रेममय जीन्दगी बिताउन सक्छन् त?
 
बाल विवाह, जबरजस्ती विवाहका कारण पनि पछि मन, विचार नमिल्दा महिलाले भोग्नु पर्ने पीडाको विकल्प पनि त्यसबाट मुक्तिको खोजी हो। अनि आफूलाई अलिकति माया देखाउने व्यक्ति पाएपछि तिनले त्यतैतिर फालहानेको हुनसक्छ।
 
समाजमा एकले अर्काकी पत्नी लाँदा त्यहाँ नराम्रो वातावरण उत्पन्न हुन्छ भने परिवार र बालबच्चामा नराम्रो असर पर्न जान्छ। भरखरै तल्लो लोर्पा, डिल्लीचौर गाविसकी एक महिला नाबालक छोरा छाडेर अर्कोसँग गएपछि उनका बाबु, पती र छोरा उनलाई खोज्न भौंतारिरहेका छन्।
 
यसरी समाजमा विकृति बढ्छ। अझ बच्चाहरूमा कस्तो असर पर्छ त? आफ्ना स्कुल, टोल, गाउँका साथीका अगाडि उनीहरू लज्जित महसुुस हुनुको साथै सानै उमेरमा आमाको मायाबाट वञ्चित हुनुपर्छ। आमाले आफ्नो पहिलाको बच्चा लिएरै गएपनि नयाँ पतीले ती बच्चालाई कस्तो व्यवहार गर्छ भन्ने प्रश्न उठ्छ भने आमाले छोडेर गएमा पनि बच्चाको बाबुले अर्को बिहे गरेपछि उनको अवस्था कस्तो हुन्छ यसै भन्न सकिँँदैन। आखिर दुःख त तिनै अबोध बालबच्चाले नै पाउने न हुन्।
 
खास त पतिहरूले त्यत्रो घरखेत धानेकी पत्नी घर, बालबच्चा छोडेर अन्त जानु नपर्ने गरी माया प्रेम, हेरविचार गर्नुपर्छ भने टोलमा कहीँ कतै महिला हिंसा भए सबै मिलेर त्यसलाई पछि दोहरिन नदिनेतर्फ लाग्नुपर्छ। साथै यहाँको यस समाजमा रहेका यस्ता कुप्रथा र विकृतिलाई त्यसको कारणको जरैदेखि निर्मूल गर्नेतर्फ जुम्लामा कार्यरत गैसस तथा अन्य निकाय मिलेर सक्रिय हुनुपर्ने देखिन्छ।
 
जुम्लामा महिला सशक्तीकरण कार्यक्रमसँग आबद्ध
 
- See more at:  http://www.nagariknews.com/opinion/story/21817.html

This article was published on Nagarik National Daily on July 25, 2014 (2071 Sharwan 9) Friday (page - 7). This is my first article from Jumla.

No comments:

Post a Comment