Monday, August 25, 2014

Raamro Tij, Haamro Tij

राम्रो तीज, हाम्रो तीज

यसपाली पनि महिलाहरूको एक मात्र ठूलो चाड तीज आयो । आजभोली तीज झन झन भव्यरुपमा मनाउन थालिएको छ । शहरतिर त दरखाने कार्यक्रम धेरै दिन अगाडिदेखि शुरु हुन थालेको छ । महिला मात्र नभै पुरुषहरू पनि दर खान व्यस्त रहेको पाइन्छ ।

संस्कृतिविद् डा. सत्यमोहन जोशीका अनुसार पार्वतिले शिवजी नै वर पाउँ भनेर ब्रत राखेको बेलादेखि तीजको ब्रत बस्ने चलन चलेको कथन छ । तर पनि आज आएर हामीले यसलाई अलि फरक ढंगले उत्पादनमूलक रुपमा मनाउनु पर्ने देखिन्छ । महिलाहरूको एक मात्र ठूलो चाड भएकोले उन्मुक्त रुपमा मनाउन पाउनु पर्छ । तर कतिपय बुहारीहरू श्रीमान्को, सासुको अनुमति नपाएर माइत जान नपाउने र मन अँध्यारो पारेरै तीज मनाउन बाध्य भएका पनि धेरै छन् । कोही बिधवा भएकोले रातो पहिरनबाट बञ्चित बनाइएका महिलाको पनि अरुको जस्तो उल्लासमय तीज हुन सक्दैन ।

सबै महिला एक हुन्, सबैको तीज–उमंग उस्तै हुनुपर्छ र सबै महिलाले उन्मुक्त भएर तीज मनाउन पाउनु पर्छ । एक महिलाले अर्कोको इच्छा आकांक्षा बुझ्नु पर्छ, त्यसको सम्मान गर्नु पर्छ भने परिवार विशेषतः श्रीमान्हरूले पनि वर्षभरी काममै जोतिने महिलालाई वर्षमा एक पटक आउने तीजमा अन्य कामबाट मुक्त गराएर उल्लसमय तीज मनाउन पाउने वातावरण र व्यवस्था मिलाईदिनु पर्छ ।

धेरै महिलाको दिनभरी पानी पनि नखाएर ब्रत बस्ने चलन छ । आजभोली धेरैको ग्यास्ट्रीक, ब्लड प्रेसर, डायबिटिज आदि समस्याहरू छन् त्यसैले ब्रत बस्ने प्रकृयामा पनि केहि परिवर्तन ल्याउन आवश्यक छ । पानी, फलफूल, जूस, दूध, दहि आदि फलाहार प्रसस्त मात्रामा लिने गर्दा विरामी परिने डर कम हुन्छ । ब्रत बस्ने भनेको त आफ्नो मन शुद्ध राखेर भगवानको आराधना मनैले गर्ने हो । शरीरलाई दुःख दिंदा आराधना गर्न सकिंदैन । फेरि दिनभरी मन्दिर जाने, नाचगान रमाइलो गर्दा शरीरबाट पसिना बढी निस्कँदा शरीरमा पानी तथा लवणको मात्रा कम हुनजान्छ, त्यसैले पनि झोल पदार्थ र फलफूल प्रसस्त मात्रामा खाएर त्यसको पूर्ति गर्दा शरीरलाई हानी हुन पाउँदैन ।

ब्रतको नाममा शरीरलाई सास्ती नदिऔं । त्यसमा पनि गर्भवती, सुत्केरी, बच्चालाई दूध खुवाउने महिला, बृद्धा, विरामी महिलाहरूले तीजको बेला आफ्नो शरीरको बढी ख्याल गरी मनले मात्रै आराधना गर्दा तीजको नाममा स्वास्थ्य बिग्रन पाउँदैन ।

अर्कोकुरा तीजमा गीत गाउँदा सासु, नन्द, आमाजुलाई गालि गरिरहेका हुन्छौं । सबै महिलाको आ–आफ्नै जीवन असुरक्षाको कारण र पुरुष मानसिकता हाबी भएका महिलाका कारण महिलाले महिलालाई दुःख दिने ति घटना, व्यवहार सृजना भएका हुन्छन् । त्यसैले तीजको दिनमा सबै महिला एकजूट भएर एकले अर्काको हौसला बढाएर हर्षोल्लासपूर्वक पर्व मनाउँदा राम्रो हुन्छ । आजभोली तीज हिन्दूहरूको मात्र नभै सबै नेपाली महिलाको पर्व भएको छ । त्यसैले जुनै धर्ममा आस्था भएपनि तीज मनाउने दिदीबहिनीलाई उत्साहित बनाइ सहयोग दिन सक्छौं । तीज मनाउँदा एकल महिलालाई विशेषतः ध्यान दिएर कार्यक्रममा सहजरुपमा उपस्थित हुन सघाउनु पर्छ ।

अन्तमा तीजलाई बढी उत्पादनमूलक बनाउन – महिला सशक्तिकरण, विकास, छाउपडि प्रथाको अन्त्य, सुत्केरीलाई राम्रो स्याहार, सरसफाई, महिलाको कार्यबोझ घटाउने, बाल र बहु विबाह तथा जारी प्रथा हटाउने आदि विषयका चेतनामूलक सन्देश जाने खालका गीतहरू गाएर यसपालिको तीज मनाऔं । तीजको नाममा बढी तडकभडक र खर्च गरी विकृति बढाउनुको साटो समाजमा रहेका विकृति, विसंगतिलाई घटाउन र हटाउन चेतना समेत फैलाऔं । सबैलाई ह्याप्पी तीज ।

शोभा शाक्य

(This article was published on "Karnali Sarokar Daily" dated 2014 August 26 Tuesday (2071 Bhadra 10) - page 2.)

No comments:

Post a Comment