Sunday, June 18, 2017

Dusty Kathmandu : Tortured Denizens

धुले काठमाडौं : बिनासित्तिको सजाय

'सर, मेरो श्रीमान्लाई ग्वार्को चोकमा ड्युटी नदिनूस्, बेलुकी उनी सासै फेर्न सक्दैनन्, सुत्नै गाह्रो हुन्छ'– एक ट्राफिक प्रहरीकी श्रीमतीले ट्राफिक इन्सपेक्टर सीताराम हाछेथुसमक्ष गरेकी अनुनय हो यो। त्यसपछि हाछेथुले ललितपुरमा ट्राफिकलाई पालैपालो ड्युटी स्पटको अदलीबदली गर्न थाले। तर पनि काठमाडौंमा धुलोरहित ठाउँ नै कहाँ छ र? घटी र बढीको कुरासम्म न हो।

हुन त धुलो र हिलो आजभोलि काठमाडौं उपत्यकाको पर्याय बनेको छ। यो पंक्तिकार एकछिनै भेट्न जाँदा हाछेथुको कार्यकक्ष सातदोबाटोमा चापागाउँ जाने बाटोका सर्वसाधारण बाटो बन्द गर्ने चेतावनी दिइरहेका थिए। कारण थियो– 'मेलम्चीको पाइप जडानको जिम्मा लिएको ठेकेदारले बाटो भत्कायो तर खाल्टा र धुलोप्रति मतलव नगरेकाले स्थानीयको दैनिकी कष्टकर बन्न पुग्यो।

हाछेथु पनि के कम, मेलम्ची खानेपानीका अधिकारीलाई तुरुन्तै फोन लगाए। अनि ह्यान्ड्स फ्रि गरेर वार्तालाप उपस्थितलाई सुनाउँदै बोले। जवाफ आयो कि पाइपलाइन जडान गरेर त्यो सडकको कालोपत्र निकालेपछि अब सडकको जिम्मेवारी विभागको हुन्छ, मेलम्चीको हैन। त्यसपछि उनले फेरि तुरुन्तै सडकका अधिकारीलाई फोन लगाए। उताबाट जवाफ आयो कि मेलम्ची खानेपानीका ठेकेदारले नै आफूले पारेको खाल्डो पुर्नुपर्छ। यसरी जिम्मेवार सेवाप्रदायक निकायले नै एकले अर्कोलाई औंला तेर्स्याउँदै जिम्मेवारी पन्छाएपछि मलगायत त्यहाँ उपस्थितसँग वाल्ल पर्नुको विकल्पै भएन। ग्वार्को, सातदोबाटो, चक्रपथ, कलंकी, एकान्तकुना, जमल, बानेेश्वर, चावहिल आदि त केही उदाहरणमात्र हुन्।

श्वास/प्रश्वासका बिरामी, बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा धुलोले कस्तो असर पार्ला? अनुमानै पनि कहालिलाग्दो हुन्छ। अर्कोतिर त्यस्ता ठाउँमा दिनभर खडा भई ड्युटी गर्न बाध्य ट्राफिक प्रहरीको त कुरै गर्दा पनि जीउ नै सिरिंग हुन्छ। जसले छिनछिनमा सिट्टी बजउनुपर्नाले मास्कसमेत राम्ररी लगाउन पाउँदैनन्। अहिले राजधानीबासीले भोगिरहेका कहालीलाग्दो अवस्था यही हो।

पानी नभएर काकाकुल भएको उपत्यकाबासीलाई मेलम्चीबाट ल्याउने पानी केवल दन्त्य कथा जस्तो लागेको थियो। पाइप बिछ्याउने काम त भयो तर 'कागलाई बेल पाक्यो, हर्ष न विस्मात्' भनेझैं हुन पुगेको छ। बस्ती बस्तीपिच्छे चोक, बाटो, गल्ली, सडक खनेर राम्ररी नपुरेको खाल्डाखुल्डीले नसताएको व्यक्ति नै छैन। पुरेको ठाउँमा पनि जथाभावीतवरले झारा तिर्ने काम गरिएका कारण पूरै सहर कुरूप बन्न पुगेको छ। धुलोको मापदण्ड डब्ल्युएचओका अनुसार २५ पिएम र नेपाल सरकारका अनुसार ४० पिएम हो तर उपत्यकामा कुनै दिन १८० पिएमसम्म धूलो उडेको तत्थ्यांकले देखाएको छ। यो भनेको मानव स्वास्थ्यका लागि अति हानिकारक परिस्थिति हो।

अलि पानी पर्‍यो भने अब त धुलो उड्दैन कि भन्ने लाग्छ तर सडक गल्ली हिलाम्य भएर, ढल फुटेर झन् सास्ती। अलि बाटो सुक्ने हो भने फेरि धूलोकै फन्दामा। यस्तो अवस्थामा सम्बन्धित निकायलाई पेच कस्ने जिम्मेवारी कसको? के आफूले भत्काएको सडक जस्ताको जस्तै पार्नुपर्दैन भत्काउनेले? दुई महिनामा सम्पूर्ण सडक बनाउने मेलम्ची आयोजनाको प्रतिबद्धता कता गयो? प्रतिबद्धता पूरा गर्न नसक्नेलाई ख्वै कारबाही गर्न सकेको? उनीहरूका कमजोरी र लापरबाहीको सिकारचाहिँ किन सर्वसाधारण हुनुपर्ने? अहिले धुलोको आतंकबाट पीडित सबै नेपालीले खाजेको उत्तर यही हो।


This article was published in Nagarik Daily dated 2017 June 15 (2074/03/01).

http://www.nagariknews.com/news/21892/

Tuesday, September 6, 2016

पहाडी मरुभूमि पकरबास

पहाडी मरुभूमि पकरबास


“पकरबासमा पिउने पानी माग्दा पनि धमिलो पानी दिन्छन्, त्यस्तो पानी भनी नखाई फ्याँकेमा उनीहरू कस्तो रिसाउँछन् ।” गौरी बजगाईं, टेवाका स्वयं सेवक बताउँदै थिइन् । पिउनलाई पानी माग्दा पनि धमिलो पानी दिने, फेरि फ्याँकेमा रिसाउने कस्तो अचम्म ?

हामी चढेको टाटासुमो रामेछाप जिल्लाको मन्थलीबाट तामाकोशी पुल तरेपछि बिस्तारै उकालो चढ्न थाल्यो । पूरै कच्ची बाटो तर अघिल्लो रातमा परेको ठूलो झरीले बाटो शान्त र धूलो नउड्ने भएको थियो । खोला भने अलि बढेर धमिलो पानी बग्दै थियो ।

टाटासुमो जति जति डाँडो उक्लिन थाल्यो पारीपट्टी जापानी सहयोगमा बनेको बीपी राजमार्गको नागबेली बाटो बडो सुन्दर देखिन्थ्यो । वरिपरी सुन्दर तथा मनमोहक प्राकृतिक दृश्य हेर्दै अलिमाथि पुग्दा सल्लाको वन आउन थाल्यो । गाडीमा सवार स्थानीय सहयात्रीहरू भन्न थाले “सल्लाको बन भएको ठाउँमा त्यसै त सुख्खा हुन्छ रे त्यसमाथि थोरै थोरै भएपनि पानी जम्ने मुहान पनि भूकम्पपछि सुक्यो ।” त्यसपछि त सिंगै पकरबास गाविस काकाकुल बनेको रहेछ । 

हामी पुगेको दिन गाउँमा निकै खुशियाली छाएको देखियो । बगरजस्तै ढुंगैढुंगा भएको बारीमा गाउँलेहरू बिहानैदेखि मकै छर्नका लागि गोरु जोत्नमा व्यस्त देखिए । त्यो गाउँका निराजन ढुंगेल भन्दै थिए “पानी परेपछि सबैलाई गोरु जोत्नकै हतारो, आफ्नो हलगोरु नहुनेले अरुको गोरुको पालो पर्खिंदासम्म त बारी नै सुकीसक्ने भो ।” सबै गाउँलेले बारी ओसिलो छँदै मकै छर्ने काम नभ्याइएला भन्ने चिन्ता लागेको थियो उनलाई । 

सबैले आ–आफ्नो बलेंसीमा घरमा भएभरको भाँडा थापेर रातभर पानी जम्मा गरेका रहेछन् । त्यहाँका महिला भन्दै थिए – कि डेढदेखि दुई घण्टा तल झरेर मुहानमा लाइन बसी पानी थाप्नु पर्छ कि अझ तल झरी खोलाको धमिलो पानी बोकी उकालो लाग्नु पर्छ । सबैलाई गाग्री, ग्यालेन डोकोमा बोकी हिंडेको देखियो । यसले गर्दा “जे होस्, जस्तै होस् पानी भए पुग्छ” भन्नमा बाध्य छन् पकरबासका स्थानीयहरू । उनीहरूले खान दिएको पानी आगन्तुकले धमिलो भनी फ्याँकेमा उनीहरू त्यत्रो दुःख गरी ल्याएको पानी तिमीहरूले नखाने हो भने हामी त खान्थ्यौं नि, किन फ्याँकेको भनी रिसाउँदा रहेछन् । अब बल्ल बुझियो यस्को कारण । भरखर त्यस गाउँमा पुगेकालाई त्यहाँको दुःख के थाहा ? त्यो दिन गाउँलेहरूलाई खानेपानी मात्र बोके पुग्ने भएको थियो पानी परेकोले ।

प्रयागेश्वर उच्च माध्यामिक विद्यालय पुग्दा देखियो, रातिको झरीले विद्यार्थीहरूमा ल्याएको खुशी । एक हुल विद्यार्थी आइपुगे र विद्यालय प्रांगणमा रातीको वर्षाको पानी जम्मा गरेका साना साना ग्यालिनहरू हल्लाउँदै हेरे, भरीभराउ ड्रमहरू देखे – एक्कासी उनीहरूको अनुहारमा खुशी तरंगीत भएको प्रष्टै पढिरहेकी थिएँ । “ओहो आज त सबै भाँडा टन्न भरिएछ” भन्दै उफ्रिँदै गए । तर यो पंक्तिकारलाई लाग्यो – विद्यालयमा पनि राती आएर त्यत्तिका भाँडामा टन्नै पानी कसले भरे होलान् ? कस्तो जाँगर या बाध्यता !

गाउँलेहरू त्यस रातिको पानी तीन चार दिनलाई पुग्ने भयो भनी ढुक्क देखिन्थे । बस्तुभाउ, भाँडावर्तन, लुगाधुने, चर्पि आदिका लागि ओहो कत्ति काममा प्रयोग गर्न सजिलो भयो । “कस्तो पानी मतलब छैन तर पानी भए पुग्छ” को अवस्थाबाट गुज्रिएको त्यस गाउँ डुल्दाडुल्दै फेरि आकाशमा बादल छाउन थाल्यो । घाम फिक्का हुन थालेपछि उनीहरूमा चिन्ता बढ्न थाल्यो । नयाँ ठाउँमा त्यो चाला देखेर फेरि अर्को अचम्म ! केहीबेर अघि त्यही पानीले खुशी देखिएकाहरू तुरुन्तै पीर गर्न थाल्नुको कारण पछि बल्ल बुझें । “आज फेरी पानी प¥यो भने केमा राख्ने पानी ? बरु दुई चार दिन पछि परेको भए भाँडो रित्तिन्थ्यो र पानी भर्न पाइन्थ्यो ।” पानी परे पनि चिन्ता, नपरे पनि चिन्ता !

पानी पर्नु मात्र पर्छ, के भोक के निन्द्रा गरी पानी थाप्न नकस्सिने हो भने फेरि त्यहि दुई घण्टा तलदेखि पानी बोक्नुको अर्को बिकल्प छैन । “गाउँमा पानीको व्यवस्था गरीदिने त भगवानै होलान् !” एक वृद्धा भन्छिन् । पिउने पानीको त यस्तो दुःख हुने ठाउँका चर्पिहरूमा के अवस्था होला भन्ने लाग्यो ।

विद्यालयमा छात्राहरूसँग एकछिन कुरा गर्दा विशेषतः महिनावारीको बेलामा धेरै दुःख पाउने बताए । त्यहाँका प्रधानाध्यापक हरि नारायण श्रेष्ठ बताउँदै थिए “हामीलाई आकाशे पानी संकलन गर्न ट्यांकी मात्र भएपनि सहयोग गर्नेहरू कोही भए शौचालयका लागि धेरै सुविधा हुने थियो ।” करिब ५०० जना विद्यार्थी संख्या भएको त्यस विद्यालयमा पुराना शौचालयका साथै भूकम्पपछि सेभ द चिल्ड्रेनले बनाई दिएको शौचालय पनि छन्, तर त्यहाँ समस्या देखियो पानीको । दिशा गर्दा त कागज वा ढुंगाले काम टर्छ तर महिनावारी हुँदा के ले पखाल्ने ? 

हुन त काठमाडौं भmन काकाकुल ठाउँ हो, तर यहाँ पैसा भयो भने पानी किन्न पाइन्छ । ट्यांकरले घरघर पु¥याइदिन्छन् । तर पकरबासमा कस्ले पु¥याउला ? त्यहाँका युवा बताउँछन् – यहाँ गाउँबाट विस्थापित हुनु बाहेक अरू कुनै विकल्प छैन अहिले । भूकम्पपछि धेरै दातृ निकायहरू नेपाल ओइरिएका छन्, यो पक्का हो । तर यस्ता अति विकट ठाउँमा पुगेर सहयोग गर्न सक्ने कोही छन् त ? 

भरखरै खानेपानी तथा सरसफाई मन्त्रालयले तीन वर्ष भित्रमा प्रत्येकको घरघरमा पानी भन्ने नाराका साथ “एक घर एक धारा” को कार्यक्रम बन्ने कुरा मन्त्रालयका प्रवक्ताले उद्घोष गरेका छन् । त्यसो त पानीलाई जिन्दगानी भनिन्छ । यस्तो महत्वपूर्ण पानीका समस्यालाई झेलेर ३ वर्षसम्म कुर्ने या मेलम्ची जस्तै “आकाशको फल” पो हुने हो की ? जे होस् ठूला योजना शुरु गर्न कि त सरकारको सहयोग चाहियो कि त दातृसंस्थाको । ठूला ठूला आइएनजिओको आँखाले अति विकट गाउँ देखेनन्, या देखेर पनि अन्देखा गरिरहेका छन्, या सुगम ठाउँमा मात्र काम गरेर प्रतिवेदन तयार गर्न खोजिरहेका छन् ? पहाडको मरुभूमि पकरबास गाविसले मै हुँ भन्ने र यस्ता दातृसंस्थालाई खुलेआम ठाडै चुनौति दिइरहेको छ ।


शोभा शाक्य
shakya_shova1@hotmail.com
June 2016

(Unpublished article)

Sunday, May 29, 2016

Singhadurbar & Shyaal



सिंहदरबार  स्याल

  • बिहीबार १३ जेष्ठ, २०७३
  • शोभा शाक्य

  • 1

(0 votes)
आफू परियो विकासे कार्यकर्ता । त्यही रहरले मलाई डोहोर्यायो सिन्धुपाल्चोक । त्यहाँ विकास गर्ने भनी "माकःफुईं" (बाँदरको फूर्ति) गर्दै हिँडेकी मैले सिंहदरबार छिर्ने सपना पनि देखेकी थिइनँ तर त्यहाँ नपुगी पनि नहुने ! भूकम्पपछिको विकास सिंहदरबारतिर छिरेको चाल पाएपछि विकासको स्वीकृति लिन एक दिन म पुनर्निर्माण प्राधिकरण कार्यालय पुगेँ ।सिंहदरबार छिर्नुअघि आफ्नो परिचय खुलाउन कुनै कागजात चाहिन्छ भन्ने मात्र थाहा थियो । कस्सिएर गएँ, सिंहदरबार गेट । ओहो, त्यहाँको रमिता ! पास लिनेको भीड ! सबैलाई विद्युतीय स्क्रीनमा आफ्नो नाम हेर्न आतुर, कोही फलाना नामको पास भन्दै कराउँदै थिए । गेटबाट छिर्न पास चाहिने रहेछ । अझ अचम्मको कुरा त दरबार भित्रका कुनै एक कर्मचारीले सिफारिस गरेपछि मात्र नाम आउने कुराले केहीबेर मलाई सालिक बनायो । केहीबेर त्यो रमिता हेर्दै सोचेँ, यो सिंहदरबार हो कि राजदरबार ? आफ्नो त कोही चिनेको छैन त्यहाँ । अब परेन फसाद ? करिब दुई घण्टा त्यहाँको दृश्य गम्दै अचम्मित भएँ । फेरि सोचेँ, म त काठमाडौंकी पढेलेखेकी महिला, गैससहरूमा काम गरेको अनुभवको थोरै भएपनि आत्माभिमान भएको मान्छे त त्यहाँ पुग्दा निरीह भै लुत्रुक्क परेँ भने दुर्गमका गाउँबाट आफ्ना समस्या वा विकासका लागि अनुरोध र सोच लिएर आउने त्यहाँ छिर्ने सम्भावना होला ? वास्तवमा मन्त्रालय भनेको त सर्वसाधारणको आवाज पुग्नुपर्ने, पहुँच हुनुपर्ने अड्डा होइन र ?

पछि एउटा युवकले धेरैबेर मलाई त्यहाँ पसिना–पसिना भएको देखेपछि मेरो सामुन्ने आएर सोधे । दरबारभित्र मेरो कोही चिनेको कर्मचारी नभएको बताएपछि उनैले आफ्नो परिचय दिँदै भने, 'मेरो नाम विवेक हो, मेरोसँगै तपाईंको नाम पनि सिफारिसका लागि पठाउँछु ल !'

खैर, मेरो काम प्राधिकरणमा हो तर पनि अरु मन्त्रालयको नाममै भए पनि पास आउने पक्का भयो । खुसीले गमक्क भएँ । तर यो गमक्कपन धेरैबेर रहिरहेन । पास कुर्दाकुर्दा हैरान ! विचरा विवेक घरी झ्यालमा हेर्न जान्छ त घरी स्क्रिनमा नाम आयो कि भनेर हेर्छ । कतिपटक त भित्रका सरलाई असहाय पारामा फोन गरिरहेको पनि देखेँ ।

म पनि बिस्तारै पास लिने झ्यालमा हेर्न गएँ । आफ्नो नाम आयो भनी सोधेँ ? त्यहाँका सुरक्षाकर्मीले वास्तै गरेनन्, सायद उनीहरूले नेपाली बुझेनन् वा मेरो बोली प्रष्ट थिएन, थाहा भएन । तीन पटक सोधेपछि बल्ल झर्केर भने, 'बाहिर स्क्रिनमा आयो भने मात्र आउँछ ।' तर स्क्रिनमा नआएपनि हाम्रो नाम भित्र आइसकेको रहेछ । बल्लबल्ल पास हात परेपछि दुवै जनाले लामो सास फे¥यौं, ठूलै रकमको चिठ्ठा जितेझैं गर्व लाग्यो ।

अब भने म लुरीको पनि विशाल सिंहदरबार छिर्ने महान् अवसर आयो । झोला जँचाएर भित्र गएँ । सिंहदरबारभित्र साइनबोर्ड नै साइनबोर्ड, नयाँनयाँ मन्त्रालय । तर पुरानो राणकालीन भवनहरूले मेरा आँखा तानिरहे । पुराना भवनसँगै जोरी खोज्दै ठडिएका नयाँ कंक्रिटका भवन त पटक्कै नसुहाएको, छ्या !

खोज्दाखोज्दा बल्ल प्राधिकरण भएको दरबार भेट्टाइयो । दरबारमा परेवाका बिष्टाले टन्नै सजावट । कत्ति ठूलो दरबार ! बीचमा ठूलो चोक, मनमोहक डिजाइन । पहिलाका राणजीहरू कसरी त्यहाँ घाम ताप्थे होला भन्ने दृश्य कल्पना गरें । लाग्यो राणाजीहरूले त्यति नबनाउँदा हुन् त अहिले हामीले केमा नाक ठड्याउँथ्यौँ, कुन्नी ?

कोठैपिच्छे नयाँ पर्दा, नयाँ नेमप्लेटहरू, छुट्याइएका कोठामा नयाँ फर्निचर, सोफा आदि देखेपछि लाग्यो त्यहाँ काम गर्ने कर्मचारी त राणाभन्दा कम भाग्यमानी होइनन् । बोर्डैपिच्छे सचिव, उपसचिवका नाम पढ्न पाइने तर सबै "बाहिर" । विवेकले मलाई डुलाइरहेको थियो । कोही पनि भेट नभएको स्थिति थियो । सिट खाली खाली, पेन्टरले नेमप्लेटमा "भित्र" भन्ने शब्द पेन्ट गर्नै बिर्सेको हो कि जस्तो ! साना कारिन्दा मात्र भेटिए जसलाई "थाहा छैन"बाहेक केही थाहा नहुने !

बल्लतल्ल एक शाखा अधिकृत भेटिए । उनले मेरा सबै जिज्ञासा मेटाइदिए । उनको फरासिलो व्यवहार र सूचना दिने शैली यी दुवै मन परेकाले उनलाई दुईपटक धन्यवाद दिएँ । एउटा पत्र बुझाउन पनि यताबाट उता, त्यहाँबाट अर्को कोठा होला भन्दै तिनले घुमाए । शायद त्यहाँको नयाँ 'साजसज्जा' देखाउनलाई नै नयाँ मान्छेहरूलाई यसरी यताबाट उता जाउ भनी जानाजान घुमाउने चलन होला !

सिंहदरबारभित्र घन्टौं घुमेर निस्केपछि झोलाको भारी, गर्मी, थकान, भोक, प्यास एक्कैसाथ उर्लेर सतायो । पुनः त्यहाँका सुन्दर पुराना भवनहरूलाई नियाल्दै गेटबाट बाहिरिएँ । जीवनमा पहिलो पटक सिंहदरबार छिर्ने हिम्मत गरेर लखतरान भएकी म विचरी लुरी स्याल !

- See more at: http://www.nagariknews.com/opinion/story/74350.html#sthash.wywJAxi5.dpuf

Friday, May 13, 2016

सरकारी नीतिको गति (The Condition of Government's Policy)

18 Apr 2016

  • सोमबार ६ बैशाख, २०७३ (Nagarik Daily)
  • शोभा शाक्य
  • Be the first to comment!
 18  1 Google +0  0  2
(0 votes)
महाभूकम्पबाट अकल्पनीय क्षती भएको एक वर्ष पूरा हुन लागिसकेका बेला इपिसेन्टर क्षेत्रमा खासै कार्यक्रमहरू सुरु गर्न/गराउन नसकेर हाल दातृसंस्था र स्थानीय जनता आत्तिन थालेको अवस्था आएको छ।
सिन्धुपाल्चोक जिल्लाको फुल्पिङकोट गाविस जहाँ एउटा घर बचेन, भएका एघारवटै सामुदायिक स्कुलका भवन भत्किए। वर्ल्डभिजन र युनिसेफले भूकम्पलगत्तै बनाइदिएको अस्थायी सिकाइ केन्द्र (टीएलसी)मा त्यहाँका विद्यार्थीले गर्मी र जाडो त काटे। अब हावाहुरीको मौसम सुरु भएको छ। गत फागुनको अन्त्यमा र चैतमा आएको हुरीले केही टहराको छाना र स्कुलका टिएलसीमा क्षति पुर्यारइसकेको छ। च्यानडाँडा प्राथमिक विद्यालयकी प्रधानाध्यापक विणा गुरुङ भन्छिन्– पोहोरपरारभन्दा यो साल हुरीबतासले बढी सताएको छ। दिनहुँ टिएलसीकै पीर छ। पक्की भवन बन्ने कहिले?

फुल्पिङकोटमा भूकम्पपछि एक दुई जनाले बाहेक अरुले नयाँ घर बनाउने आँट गरेका छैनन्। पराकम्पनले पनि अझै सिन्धुपाल्चोकलाई छाड्न खोजेको छैन। टहरोमा बस्ने र टिएलसीमा अध्ययन अध्यापन गर्नेको पीडा पनि उत्तिकै बढेको छ। गाउँलेमा 'ढुंगाको घर बलियो हुँदैन, भूकम्पले भत्काउँछ' भन्ने मानसिकताले जरो गाडेको छ। यस्तो अवस्थामा स्थानीय डकर्मी जो छिमेकी गाउँमा वा काठमाडौंमा काम गर्ने मौका पाएका छन्, उनीहरूले, सबै डकर्मीले भूकम्प प्रतिरोधी भवन निर्माणको तालिम लिनैपर्ने महसुस गरेका छन्। तर कहाँ गएर तालिम लिने उनीहरूलाई थाहा छैन। गत महिना एउटा गैससले त्यहाँ डकर्मीलाई भूकम्प प्रतिरोधी भवन बनाउने तालिम चलाउने पहल गरेकामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सहरी विकास तथा भवन निर्माण विभागको आ–आफ्नो कार्यक्षेत्र र अधिकार आफैँमा प्रष्ट नभएको अवस्थामा तालिम सञ्चालनको स्वीकृति लिन नसकेको गुनासो आएको छ।


तालिमको कुरामात्र नभई विद्यालयका भत्किएका भवन पुनर्निर्माणका कुरा गरौं। शिक्षा विभागमा दातृसंस्थाका सहयोगमा विद्यालय भवन बनाइदिनका लागि दर्जनौं निवेदन गत पुस महिनादेखि नै चाङ लागेका छन्। विभागका अनुसार गत मंसिर मसान्तसम्म मात्र विद्यालय भवन निर्माण आयोजनाको स्वीकृति दिने अधिकार विभागलाई थियो। तर त्यो बेला देशको अनिश्चितकालीन नाकाबन्दीको स्थितिले केही संघसंस्था आफ्ना कार्यक्रम अघि बढाउन हच्केका यथार्थ पनि नभएको होइन। केही संस्थाका पुसदेखिका निवेदन स्थगित भएर जम्मा भएकामा बल्ल गतसाता मात्र मन्त्रालय सरेको सूचना आएको छ। ती निवेदन त्यहाँबाट अझै कतिवटा शाखा पार गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा जानुपर्ने हो र त्यस प्रक्रियाका लागि कति समय लाग्ने हो भन्ने टुंगो छैन। यस प्रक्रियालाई कति समय लाग्छ भनी जुनै टेबलमा सोधे पनि एउटै उत्तर 'हामी कहाँ भन्न सक्छौं र?' आउने गर्छ। त्यसैले पुनर्निर्माणका लागि सरकारले यथाशीघ्र प्रष्टरूपमा नीति बनाइदिएर स्वस्फूर्तरूपमा सहयोगी हात बढाउन चाहेका दातृ संस्थाहरूलाई अनावश्यक झन्झट र निरुत्साहित हुनबाट रोक्न जरुरी देखिन्छ भने सम्बन्धित निकायले पनि जिम्मेवारीपूवर्क आफ्नो योजना अघि बढाउनका लागि दातृसंस्थालाई सकेसम्म सहज र प्रेरणादायी वातावरण मिलाइदिनु आवश्यक छ।
- See more at: http://www.nagariknews.com/opinion/story/66871.html#sthash.dxNPAegJ.dpuf

Wednesday, November 11, 2015

Phulna Nasakeko Phulpingkot


फुल्न नसकेको फुल्पिङकोट


 0  5 Google +0  0  0
(0 votes)
मासाहिरो इसियाकीले यसै साता 'मंगलबारको दिन सिंगापुरमा दीपावलीको छुट्टी छ, तिमीलाई पनि दीपावलीको शुभकामना' भन्दै लेखेको इमेल पढ्दा धेरै खुसी लाग्यो । सिंगापुरका सरकारी कार्यालयमा छुट्टी गरेर दीपावली मनाउने बेला नेपाल भने शोकमा डुबेको छ ।
मासाहिरोको इमेल पढेलगत्तै सिन्धुपाल्चोक जिल्लाको फुल्पिङकोट गाविस पुग्दा दिनभर उनको इमेल बारबार सम्झना आइरह्यो ।

२०७२ वैशाख १२ र २९ गतेका महाभूकम्प र त्यसपछिका अनगिन्ति अनुकम्पनले सबैभन्दा बढी क्षत्विक्षत् १४मध्ये एक सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा धेरै मानव क्षति (३०५७ जना) भयो । ३१४ जना विद्यार्थीले आफ्ना अभिभावक गुमाए । सरकारी तथ्यांकअनुसार सिन्धुपाल्चोकमा ९२ प्रतिशत घर माटो र इँटा÷ढुंगाका छन् । संयुक्त राष्ट्र संघको प्रतिवेदनले यस जिल्लाका पुराना र समयमा मर्मत नभएका कारण ९० प्रतिशत भन्दा बढी घर भत्केको उल्लेख गरेको छ । सदरमुकाम चौताराको अवस्था अत्यन्त कहालीलाग्दो छ । त्यहाँ भूकम्पले बस्न नमिल्ने र भत्काउन पनि नसकेका पक्की भवन दिन कुरेर बसेकाझैं देखिन्छन् । सबैजसो अन्तर्राष्ट्रिय गैससले पालमुनी कार्यालय सञ्चालन तथा बास बस्ने र खाने गर्दै आएका छन् । यस जिल्लाका ७९ गाविसमध्येको फुल्पिङकोट गाविसमा शतप्रतिशत घर र सम्पूर्ण (११ वटा) स्कुल भवनसमेत भत्केका छन् ।

म भर्खरै फुल्पिङकोट गाविस पुग्दा सबैतिर अस्थायी टहरामात्र देखेँ । भत्केर, चर्केर लथालिंग ठडिइरहेका घरहरू भने भित्रभित्रै सुंकसुकाइरहेका जस्ता देखिन्छन् । गाउँमा जो भेटे पनि आफ्ना घरका भग्नावशेष देखाउँदै 'मेरो घर त्यहाँ थियो' भन्छन् । घर भत्के पनि त्यसप्रतिको मोह भत्केको छैन । अहिले सबैजना जस्ता, ढुंगाले बनेका अस्थायी टहरा र गोठ तथा अझ कतिपयको पालमुनी बास भइरहेको अवस्था छ । गाविस कार्यालय र स्वास्थ्य चौकीसमेत पालमै देखिन्छन् ।

यतिमात्र कहाँ हो र, गाउँ छिरेदेखि उराठलाग्दो छ । तिहारको मुखमा जुनै गाउँ छिर्दा पनि जताततै ढकमक्क सयपत्री, मखमली, गोदावरी फूल र लटरम्म फलपूmल हुने मौसममा यही सपना बोकेर गएकी यो पंक्तिकार हिस्स परिन् । गाउँमा कतै फूलको नाम निशानै छैन । छन् त केवल धान र कोदो काट्ने, सुकाउने र भित्र्याउने काममात्र । गाउँलेमा देखिएको थोरै उत्साह भनेको यतिमात्रै हो ।

वैशाखमा घरहरू भत्केलगत्तै विनायोजना बासका लागि नजिकैको बारी वा खेतमा टहरो र गोठ बनाउँदा सबैको खेतीयोग्य जग्गा सानो भयो नै । जीवनको गुजारा चलाउने उपाय खोज्न बाध्य गाउँलेलाई यस्तो बेला कसलाई पूmल रोम्ने र स्याहार्ने जाँगर होला र ? त्यसैले होला फुल्पिङकोट गाविस वडा नं. ५ की सुनमाया तामाङ भन्छिन्– 'पोहोर परार त पूmल टन्नै हुन्थ्यो, यसपालि त केही छैन ।' वडा नं. १ का राजकुमार श्रेष्ठ थप्छन्– पहिला त बुबाले सयभन्दा बढी भोगटे बेच्नुहुन्थ्यो तर यसपालि त भोगटे पनि भएन ।

यो जिल्लामा ६०,४२५ घर छन् । त्यसमध्ये ३ हजार भन्दा बढी घरमा शोक परेको छ । बाँकी घरका बासिन्दा पनि जाडोको स्याँठ सुरु भइसक्दा पनि अझै अस्थायी टहरो र पालमुनी बस्न बाध्य छन् । विद्यार्थी पनि टहरोमा, भुइँमा बसेर पढ्न बाध्य छन् । शायद टहरोमा तिहार मनाउने भएकाले हो कि यो साल फल र पूmलले पनि साथ नदिएको ? पूरै गाउँ उजाड र उराठलाग्दो भएको छ । काग तिहारको दिनसम्म पनि गाउँमा तिहारको कुनै रौनक र तयारी छैन । न बच्चा तथा युवाहरू द्यौसी भैलोको तयारी गरिहेकै देखिन्छन् । यस्तै छ हालत प्रकृतिले ठगेको यसपालिको यो फुल्नै नसकेको फुल्पिङकोट गाविसको ।

Published in Nagarik News Daily.

http://www.nagariknews.com/opinion/story/48483.html
- See more at: http://www.nagariknews.com/opinion/story/48483.html#sthash.AJTjFGCY.dpuf

Friday, January 9, 2015

Campaign Against Chaaupadi



छाउपडी अन्त्य अभियान

  • शुक्रबार २५ पुष, २०७१


भरखरै मदन पुरस्कार पाएकी राधा पौडेल जुम्लामा लैंगिक समानता तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतना अभियान चलाउन दिलोज्यान दिएर लागिपरेकी छन्।
उनको अभियानमा इटालियन फाउन्डेसनको सहयोगमा एक्सन वर्क्स नेपाल, बी ग्रुप तथा सूर्य सामाजिक सेवा संघलगायतका संस्थाले साथ दिइरहेका छन्। यसै सिलसिलामा यही पुसमा जुम्लाका सात गाविसका माध्यमिक तथा निम्न माध्यमिक विद्यालयका प्रधान अध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, लैंगिक सहजकर्ताहरूका लागि छुट्टाछुट्टै तालिम सञ्चालन गरिएको थियो। एउटा गाविसका शिक्षक, अभिभावक, स्वयंसेविका तथा सहजकर्ता सबै एकैचोटी सचेत भएर आआफ्नो तर्फबाट यस अभियानमा लाग्ने हो भने यो काम सार्थक तथा सहज हुन्छ भन्ने कार्यक्रमको अभिप्राय हो। 

यस सचेतना अभियानअन्तर्गत लैंगिक विभेदको अन्त्य, महिला हिंसा तथा यौन दुर्व्यवहारको अन्त्य, महिलाको कार्यबोझमा कमी ल्याउने कार्यक्रम रहेका छन्। साथै, पुरुषको भन्दा महिलाको बढी अधिकार हुने, छाउपडी प्रथा उन्मुलन, गर्भवती तथा सुत्केरीको स्वास्थ्यको हेरचाह, पोषण, पाठेघरसम्बन्धी रोगको समयमा उपचारको विषय पनि समावेश छन्। र, स्थानीय निकायमा महिलाको नाममा आउने बजेट कम्तीमा १० प्रतिशत महिलाकै आर्थिक स्तर बढाउनका लागि छुट्याउन दबाब दिने, हरेक क्षेत्र र तहमा कम्तीमा ३३ प्रतिशत महिलाको अर्थपूर्ण सहभागिता गराउने, बालविवाह, बहुविवाह, चाँडो विवाहबिरुद्ध चेतना वृद्धि तथा अटेर गरेको खण्डमा कानुनबमोजिम सजायका लागि उजुरी गर्ने, महिलालाई आदरसम्मान गर्ने र महिलाको कार्यमा सघाइ छाउपडी हटाउन सहयोग गर्ने पुरुषलाई मर्दपुरुष घोषणा गरी सम्मान गर्ने आदि विषय परेका छन्।

यी विषयमा हाल कायम रहेका समस्या, त्यसको न्यूनीकरण तथा निर्मूल गर्नका लागि ककसले कुनकुन ठाउँ/क्षेत्रबाट कसरी कदम चाल्ने भन्ने कुरामा सहभागितामूलक रूपमा एकदमै सरल शैलीमा जुम्लाकै गाउँको परिवेशमा छलफल गरी निर्क्यौल निकालिएको थियो। निर्क्यौलअनुरूप सबैलाई आफ्नै घरबाट अभियान सुरु गर्न प्रतिबद्ध गराउने, कार्ययोजना बनाउन लगाउने राधाको शैली निरक्षरका लागि पनि अति प्रभावकारी बनेको छ। 

शिक्षकहरूको यसै तालिममा छाउपडी प्रथा बार्नुनपर्ने कुरा उठ्नेबित्तिकै तलियुमका माविका प्रधान अध्यापक निकै रिसाए। अचम्म लाग्दो कुरा त जब एक विद्यालयका प्रधान अध्यापक कुनै राम्रो कुरा, सत्य कुरा सुन्न चाहँदैन, उनको आफ्नो पुरातन, रुढीवादी सोचमा माथि उठ्न चाहँदैन, महिनावारीकै कारण महिलामा हिंसा हुनु हुँदैन भन्ने समेत सुन्न पनि चाहँदैन भने त्यस्ता गुरुले सयौँ विद्यार्थीलाई के सिकाउलान्, कसरी नयाँनयाँ ज्ञान देलान्? उनीहरूबाट उत्पादन हुने विद्यार्थी कस्ता होलान् भन्ने सहजै अनुमान लगाउन सकिन्छ। अझ विद्यालयको मावि तहको पाठ्यक्रममा यौन तथा प्रजनन् स्वास्थ्य शीर्षकअन्तर्गत महिनावारी के हो? यो कसरी हुन्छ? यस्तोबेला केके गर्नु पर्छ आदि स्पष्टसँग उल्लेख गरिएको छ।

एक शिक्षक जो निदाएका बहाना गर्छन् वा आफ्नो अहंकारको डम्फुमात्र बजाउँछन् भने गाउँका निरक्षर तथा साधारण लेखपढमात्र गरेका महिला तथा पुरुष सहजकर्ताहरूचाहिँ यस अभियानमा राम्रो काम गर्दैछन्। समाजमा सकारात्मक परिवर्तनका लागि स्वयंसेवक बनेर अहोरात्र खटेका छन् भने यस्तो अवस्थामा यी निस्वार्थरूपमा लागिपरेका समूहका सहजकर्ताहरूलाई त सलाम गर्नैपर्छ। उदाहरणका लागि डिल्लीचौरकी लाउरीमाया थामी, बैसनीका स्याङ्बो कामी, तलियुमकी चैती गिरि, तारा तिरुवा, पदम रोकाया, लाम्राकी देवीकन्या उपाध्याय, कुडारीकी विमला शाही आदि हुन्।

राधाले हरेक तालिममा उदाहरण दिँदै आएकी छन्, ‘मुक्तिनाथका पुजारी, सुर्खेतका देउतीबज्यैका पुजारी महिला हुन्। उनीहरू महिनावारी नबारी हरेक दिन मन्दिरमा पूजा चालू राख्छन् भने जुम्लामा मात्र महिनावारी भएका महिला आफ्नो सुत्ने कोठा वा भान्छाभित्र छिर्दा किन देउता रिसाउलान्?' राधा आफै पनि स्टाफ नर्सको पढाइपछि मात्र महिनावारीलाई महिलाको गौरव र गहना हो भन्ने बुझेको र त्यसपछि यस्तो विभेद र बन्देजलाई निर्मूल गर्दै महिनावारीका बेला आफ्नी आमाको श्राद्ध गर्ने, पूजाआजा, मन्दिर सबै ठाउँ भ्याउँछिन्। महिनावारी भएको बेला सफासुग्घर हुनु, भित्री लुगा तथा टालो फेर्नु, गुप्तांग धोएर सफा राख्ने, झोलिलो र पोषिलो खाना खाने गर्दा केही समस्या आउँदैन, जुम्लाका देउता पनि रिसाउँदैनन्। जुम्लामा अहिले केही धामीसमेत सकारात्मक परिवर्तनको पक्षमा आइसकेका छन्। सबै धामी यस सत्यतथ्य कुरामा विश्वास गरी छुईछाई हुने कुरा भ्रम र शंकाको उपज हो भन्ने बुझेर गाउँघरका सीधासोझा महिला–पुरुषलाई गलत सूचना दिने काम रोक्छन् भने छाउपडी प्रथामा छिटै परिवर्तन आउने देखिन्छ। 

शिक्षकहरूको तालिममा राधाले भनेकी थिइन्, ‘सबैका घरमा छोरी, आमा, श्रीमती, दिदीबहिनी, भाउजु, बुहारीका रूपमा महिला हुन्छन् र त्यस्ता महिलालाई महिनावारी भएको निहुँ बनाइ जुम्लाको जाडो तथा हिउँ परेको कठ्यांग्रिने बेला पनि छुट्टै गोठमा, घरको तल्लो तल्लामा, असुरक्षित चिसो कोठामा गाईवस्तुसरह बस्न बाध्य बनाइ आफू भने तातो कोठामा ओढ्नेओछ्याउनेसहित सुत्ने पुरुष त पापी, नामर्द हुन्।' यसरी उनले चुनौती दिँदा तालिममा सहभागी शिक्षकहरूले मुन्टो निहुराएर तीतो यथार्थलाई स्वीकारेका थिए। हुन पनि हो कालिकोट र जुम्लामा एक्सन वर्क्स नेपालले सन् २०१३ मा गरेको अध्ययनमा महिनावारी भएको २/३ वर्ष भैसक्दा पनि यहाँका किशोरीहरूलाई महिनावारीकै कारण छोरी भएर जन्मेकोमा धेरै दुःख लाग्ने, रुन मनलाग्ने र ८० प्रतिशत किशोरीलाई मर्न मनलाग्ने सोचाइ आएको देखिएको थियो।

दुई दिने तालिमबाट धेरै चेतना वृद्धि भएको भन्दै शिक्षकहरूले आआफ्नै घरबाट छाउपडी बार्ने प्रथाको अन्त्य गर्ने, विद्यालयमा व्यवस्थापन समितिसँग बैठक राखेर छात्राका लागि छुट्टै शौचालय, पानीको व्यवस्था गर्ने, छात्रछात्रामा विभेद नगर्ने, विद्यालय हातालाई यौन दुर्व्यवहारमुक्त क्षेत्र बनाउने, प्राथमिक उपचारको बाकसजस्तै सेनेटरी प्याडको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्।

अब मात्र हेर्न बाँकी छ, सन् २०१५ मा निरक्षर सामाजिक कार्यकर्ता र यी प्रबुद्ध व्यक्तिमध्ये जुम्लामा को बढी जागरुक बन्ला! सन् २०१४ मा तीन चरणमा तालिम सम्पन्न भैसकेको यस अभियानमा सबै क्षेत्रका, संस्थाका तथा स्थानीय मिलेर एकैचोटी लाग्ने हो भने यो अभियान छिटो सम्पन्न हुने विश्वास गर्नसकिन्छ।

- See more at: http://www.nagariknews.com/opinion/story/31070.html#sthash.g3gpgUwN.dpuf

http://www.nagariknews.com/opinion/story/31070.html

Monday, December 22, 2014

Karnalikaa Kishori (Adolsence Girls of Karnali)

कर्णालीका किशोरी 

  • सोमबार ७ पुष, २०७१
  • Nagark Daily
 'कर्णालीका महिलाको यौवनावस्था आउँदैन'– यो वाक्यद्वारा जुम्लाका महिला विकास अधिकृत अनिता ज्ञवालीले महिला हिंसाविरुद्धको १६ दिने अभियानको कार्यक्रमलाई सम्बोधन गर्दा यो पंक्तिकारलाई जिब्रो चिप्लिएको हो कि भन्ने जस्तो लाग्यो। विश्वासै लागेन।
सार
  • आजभोलि कलिलै उमेरमा 'मागी विवाह' मात्र नभएर 'भागी विवाह' गर्ने पनि धेरै देखिएको छ। यसको दोष जति मोबाइल फेानलाई दिँदै आमाबाबु र शिक्षकहरू निर्दोष हुन खोज्छन्।

त्यसपछि कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले आफूले त्यसै बिहान भेटेका १७ वर्षमात्रका युवतीहरू दुई बच्चाका आमा भइसकेको प्रसंग प्रस्तुत गर्नुले भने अधिकृत ज्ञवालीको भनाइ विश्वास गर्न बाध्य पार्योा। यी दुवै भनाइ साह्रै मार्मिक थिए। कर्णाली भेकमा महिलाले आफ्नो यौवनावस्थाको अनुभव र आनन्द लिन साँच्चै नपाउने तीतो सत्य हो यो।

कर्णाली क्षेत्रमा सानै उमेरमा विवाह गर्ने चलन अझै छ। १२/१४ वर्षमा विवाह गरिदिँदा तुरुन्तै सानै उमेरमै बच्चा पाउँछन्। त्यसपछि तिनका काखमा किताबको सट्टा बच्चा आएपछि किशोरीपन, यौवनावस्था वा वैंशालुपनको मज्जा लिने अवसर कहिल्यै पाउँदैनन्। उनलाई बालबच्चा, घर, परिवार, भान्छा, खेतवारी, जंगल, घाँस, दाउरा, वास्तुभाउ, हेर्दैमा फुर्सद हुँदैन। आफ्नो पढाइ, जिउज्यान र स्वास्थ्यबारे ख्याल गर्ने फुर्सद त कहिले कहिले? विभिन्न चेतनामूलक कार्यक्रमद्वारा बालबिवाह गर्नु/गराउनु अपराध हो। मुलुकको कानुन विपरीत हो भन्ने जानकारी गराउँदा पनि यो प्रथा सजिलै रोकिने छाँट छैन। यसले किशोरीहरूको कलिलो स्वास्थ्यमा नकारात्मक असर पार्छ। उनको शरीर गर्भवती बन्न सक्ने र सुत्केरी हुनसक्ने अवस्थासम्म विकास भइसकेको हुँदैन। यसले गर्दा आमा र बच्चा दुवैको ज्यान जोखिमपूर्ण हुन्छ भने दुवै बाँचे पनि स्वास्थ्य स्थिति कमजोर हुन्छ नै।
 
साथै जुम्लामा सुत्केरी तथा गर्भवती महिलालाई पर्याप्त आराम र पोषणयुक्त खाना दिनुपर्छ भन्ने चेतनाको अझै विकास भइसकेको छैन। कतिपय गाउँमा सुत्केरी र महिनावारी भएकालाई अझै फोहर गोठ (छाउपडी)मा राख्ने र २/३ सातामै काममा लगाउने चलन छ। आराम र पोषिलो खानाको कमीले महिलामा पाठेघरसम्बन्धी समस्या धेरै देखिन्छ। महिला सशक्तीकरण तथा जीविकोपार्जन सुधार कार्यक्रमले २०१४ मा पाँचवटा गाविसमा मात्र १ सय ५० जनाको प्रजनन स्वास्थ्यसम्बन्धी समस्या पत्ता लगाएको छ।
 
आजभोलि कलिलै उमेरमा 'मागी विवाह' मात्र नभएर 'भागी विवाह' गर्ने पनि धेरै देखिएको छ। यसको दोष जति मोबाइल फेानलाई दिँदै आमाबाबु र शिक्षकहरू निर्दोष हुन खोज्छन्। तर बच्चा पाएपछि तिनको पढाइमा पूर्णविराम लाग्छ भने श्रीमान्चाहिँ नेपालगञ्ज वा काठमाडौंतिर पढाइका लागि झर्छन्। सहर बसेर पढाइलाई निरन्तरता दिने हुँदा उनको इच्छा, सोचाइ, रोजाइ, कुरा गर्ने शैली, अपेक्षा, विचार सबै गाउँकी श्रीमती, जो घर– खेत, बच्चा सम्हालेर पढाइ छोडी बसेकी छन् उनीसित एकदमै नमिल्ने हुन्छ। परिणामतः विस्तारै श्रीमान्ले आफ्नै स्तरकी अर्र्की जीवनसाथी खोज्न थाल्छ। बहुविवाह गर्न उनलाई कुनै हिच्किचाहट हुँदैन। कारण गाउँमा धेरैका २/३ वटी श्रीमती उनले देखेका छन्। घर, खेतको कामकै लागि पनि बहुविवाह गर्ने प्रथा छ। सानै उमेरमा बिहे गर्दा बच्चा पाएपछि शरीर र पढाइ मात्र बिग्रेन, अब उनको भविश्य पनि हिंसाको भोगाइतर्फ मोडिन थाल्छ।
 
सौता आएपछि महिलाको जीवन सहज हुँदैन। अझ कतिका सासू र श्रीमान्ले कुट्ने तथा सास्ती दिने हुँदा पनि सहेरै बस्नुपर्छ। प्रहरीमा उजुरी गर्ने हो भने फेरि कहाँ गएर बस्ने? त्यही घर फेरि फर्किंदा हिंसा झन बढ्ने हुन्छ। घरको कुरा बाहिर लगेको वा बेइज्जत गरेको आरोप थपिन्छ। परिवारले त्यसको साटो फेर्छन्। जिल्ला सेवा केन्द्रमा बढीमा ४५ दिनसम्म मात्र राख्ने प्रावधान छ। त्यसपछि कहाँ जाने? एक्लो ज्यान होइन बच्चा पनि साथमा हुन्छन्। त्यसैले महिला उजुरी गर्न डराउँछन्।

भरखरै प्रहरी कार्यालय महिला सेल, जुम्लामा एउटा मुद्दा आएको थियो। भारतमा मजदुरी गर्ने एक युवकले त्यहाँ श्रीमती भएको कुरा लुकाएर जुम्लामा आउँदा दोस्रो विवाह गर्योा। श्रीमती गर्भवती भएको ६ महिनामा भारत गएको युवक फर्केन। पछि थाहा भयो, उनको त्यहाँ पहिल्यै श्रीमती रहिछन्। जुम्लाकी श्रीमती विना श्रीमान् बच्चा लिएर घर बस्न नसकेपछि माइत बस्न थालिन्। बच्चा हुर्काइन्। तरुनी मान्छे, यता श्रीमान्को आउने केही खबर नभएपछि अर्को जीवन साथी रोज्न बाध्य भइन्। अहिले बच्चाका बाउ फर्केर आएका छन्। बच्चालाई ५ वर्षको उमेरमा पहिलो पटक प्रहरीको अगाडि भेट्दै छन्। तर बच्चालाई पढाउन आफैंले भारत लाने उनको जिकिर थियो भने देवरले दाइ नहुँदा घरमा बसेर काम नगरी भाउजूले अन्यत्र बिहे गरेकोमा आक्रोश पोख्दै थिए। बच्चा भने कहिल्यै नदेखेको बाउ भनाउँदोले लाने कुरा गरेकोमा कहालिएर रुँदै थियो। त्यो वातावरण साह्रै दर्दनाक थियो। जति बुझाउँदा पनि नबुझेपछि प्रहरी निरीक्षक प्रेमबहादुर खड्का भन्दै थिए– दिनहुँ यस्ता मुद्दा हेर्दा कहिलेकाहीँ हाम्रो पनि धैर्य टुट्छ।' उनी आफैँ पनि भावुक बनेका थिए।
 
दुःख खप्न नसकेर, सहाराको आवश्यकताले वा बस्ने आश्रयको जरुरतले, एक जना माया गर्ने, हेरचाह गर्ने मान्छेको अपेक्षाले महिलाले अर्को श्रीमान् रोज्न बाध्य भएको देखिन्छ भने त्यहाँ समस्या उनको पहिलो श्रीमान्तर्फको बच्चाको हुन आउँछ। जुम्लामा रहेको बालविवाह र बहुविवाहका कारण उत्पन्न हिंसाको डरलाग्दो स्थिति छ। यसरी छोरीको बाल विवाह गरेर उनको जीवन नर्कमा हाल्नु भन्दा किशोरीहरूलाई राम्रो शिक्षा दिएर आत्मनिर्भर हुन सक्षम बनाउनेतर्फ सचेत गराउन जरुरी छ। आर्थिक सक्षमता नभई जस्तोसुकै कानुन पनि व्यवहारमा कार्यान्वयन हुन गाह्रो हुन्छ। त्यसकारण छोरीलाई सक्षम बनाउनेतर्फ सरकारी तथा गैरसरकारी कार्यक्रमहरू लक्षित हुनु अहिले टड्कारो आवश्यकता देखिन गएको छ भने अभिभावक र शिक्षकले आफ्नो जिम्मेवारी बोध गर्न जरुरी छ।
 
महिला सशक्तीकरण तथा जीविकोपार्जन सुधार कार्यक्रम, जुम्लामा आबद्ध
 
- See more at: http://www.nagariknews.com/opinion/story/29971.html#sthash.b3SqOCeU.dpuf

http://www.nagariknews.com/opinion/story/29971.html