Monday, December 22, 2014

Karnalikaa Kishori (Adolsence Girls of Karnali)

कर्णालीका किशोरी 

  • सोमबार ७ पुष, २०७१
  • Nagark Daily
 'कर्णालीका महिलाको यौवनावस्था आउँदैन'– यो वाक्यद्वारा जुम्लाका महिला विकास अधिकृत अनिता ज्ञवालीले महिला हिंसाविरुद्धको १६ दिने अभियानको कार्यक्रमलाई सम्बोधन गर्दा यो पंक्तिकारलाई जिब्रो चिप्लिएको हो कि भन्ने जस्तो लाग्यो। विश्वासै लागेन।
सार
  • आजभोलि कलिलै उमेरमा 'मागी विवाह' मात्र नभएर 'भागी विवाह' गर्ने पनि धेरै देखिएको छ। यसको दोष जति मोबाइल फेानलाई दिँदै आमाबाबु र शिक्षकहरू निर्दोष हुन खोज्छन्।

त्यसपछि कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले आफूले त्यसै बिहान भेटेका १७ वर्षमात्रका युवतीहरू दुई बच्चाका आमा भइसकेको प्रसंग प्रस्तुत गर्नुले भने अधिकृत ज्ञवालीको भनाइ विश्वास गर्न बाध्य पार्योा। यी दुवै भनाइ साह्रै मार्मिक थिए। कर्णाली भेकमा महिलाले आफ्नो यौवनावस्थाको अनुभव र आनन्द लिन साँच्चै नपाउने तीतो सत्य हो यो।

कर्णाली क्षेत्रमा सानै उमेरमा विवाह गर्ने चलन अझै छ। १२/१४ वर्षमा विवाह गरिदिँदा तुरुन्तै सानै उमेरमै बच्चा पाउँछन्। त्यसपछि तिनका काखमा किताबको सट्टा बच्चा आएपछि किशोरीपन, यौवनावस्था वा वैंशालुपनको मज्जा लिने अवसर कहिल्यै पाउँदैनन्। उनलाई बालबच्चा, घर, परिवार, भान्छा, खेतवारी, जंगल, घाँस, दाउरा, वास्तुभाउ, हेर्दैमा फुर्सद हुँदैन। आफ्नो पढाइ, जिउज्यान र स्वास्थ्यबारे ख्याल गर्ने फुर्सद त कहिले कहिले? विभिन्न चेतनामूलक कार्यक्रमद्वारा बालबिवाह गर्नु/गराउनु अपराध हो। मुलुकको कानुन विपरीत हो भन्ने जानकारी गराउँदा पनि यो प्रथा सजिलै रोकिने छाँट छैन। यसले किशोरीहरूको कलिलो स्वास्थ्यमा नकारात्मक असर पार्छ। उनको शरीर गर्भवती बन्न सक्ने र सुत्केरी हुनसक्ने अवस्थासम्म विकास भइसकेको हुँदैन। यसले गर्दा आमा र बच्चा दुवैको ज्यान जोखिमपूर्ण हुन्छ भने दुवै बाँचे पनि स्वास्थ्य स्थिति कमजोर हुन्छ नै।
 
साथै जुम्लामा सुत्केरी तथा गर्भवती महिलालाई पर्याप्त आराम र पोषणयुक्त खाना दिनुपर्छ भन्ने चेतनाको अझै विकास भइसकेको छैन। कतिपय गाउँमा सुत्केरी र महिनावारी भएकालाई अझै फोहर गोठ (छाउपडी)मा राख्ने र २/३ सातामै काममा लगाउने चलन छ। आराम र पोषिलो खानाको कमीले महिलामा पाठेघरसम्बन्धी समस्या धेरै देखिन्छ। महिला सशक्तीकरण तथा जीविकोपार्जन सुधार कार्यक्रमले २०१४ मा पाँचवटा गाविसमा मात्र १ सय ५० जनाको प्रजनन स्वास्थ्यसम्बन्धी समस्या पत्ता लगाएको छ।
 
आजभोलि कलिलै उमेरमा 'मागी विवाह' मात्र नभएर 'भागी विवाह' गर्ने पनि धेरै देखिएको छ। यसको दोष जति मोबाइल फेानलाई दिँदै आमाबाबु र शिक्षकहरू निर्दोष हुन खोज्छन्। तर बच्चा पाएपछि तिनको पढाइमा पूर्णविराम लाग्छ भने श्रीमान्चाहिँ नेपालगञ्ज वा काठमाडौंतिर पढाइका लागि झर्छन्। सहर बसेर पढाइलाई निरन्तरता दिने हुँदा उनको इच्छा, सोचाइ, रोजाइ, कुरा गर्ने शैली, अपेक्षा, विचार सबै गाउँकी श्रीमती, जो घर– खेत, बच्चा सम्हालेर पढाइ छोडी बसेकी छन् उनीसित एकदमै नमिल्ने हुन्छ। परिणामतः विस्तारै श्रीमान्ले आफ्नै स्तरकी अर्र्की जीवनसाथी खोज्न थाल्छ। बहुविवाह गर्न उनलाई कुनै हिच्किचाहट हुँदैन। कारण गाउँमा धेरैका २/३ वटी श्रीमती उनले देखेका छन्। घर, खेतको कामकै लागि पनि बहुविवाह गर्ने प्रथा छ। सानै उमेरमा बिहे गर्दा बच्चा पाएपछि शरीर र पढाइ मात्र बिग्रेन, अब उनको भविश्य पनि हिंसाको भोगाइतर्फ मोडिन थाल्छ।
 
सौता आएपछि महिलाको जीवन सहज हुँदैन। अझ कतिका सासू र श्रीमान्ले कुट्ने तथा सास्ती दिने हुँदा पनि सहेरै बस्नुपर्छ। प्रहरीमा उजुरी गर्ने हो भने फेरि कहाँ गएर बस्ने? त्यही घर फेरि फर्किंदा हिंसा झन बढ्ने हुन्छ। घरको कुरा बाहिर लगेको वा बेइज्जत गरेको आरोप थपिन्छ। परिवारले त्यसको साटो फेर्छन्। जिल्ला सेवा केन्द्रमा बढीमा ४५ दिनसम्म मात्र राख्ने प्रावधान छ। त्यसपछि कहाँ जाने? एक्लो ज्यान होइन बच्चा पनि साथमा हुन्छन्। त्यसैले महिला उजुरी गर्न डराउँछन्।

भरखरै प्रहरी कार्यालय महिला सेल, जुम्लामा एउटा मुद्दा आएको थियो। भारतमा मजदुरी गर्ने एक युवकले त्यहाँ श्रीमती भएको कुरा लुकाएर जुम्लामा आउँदा दोस्रो विवाह गर्योा। श्रीमती गर्भवती भएको ६ महिनामा भारत गएको युवक फर्केन। पछि थाहा भयो, उनको त्यहाँ पहिल्यै श्रीमती रहिछन्। जुम्लाकी श्रीमती विना श्रीमान् बच्चा लिएर घर बस्न नसकेपछि माइत बस्न थालिन्। बच्चा हुर्काइन्। तरुनी मान्छे, यता श्रीमान्को आउने केही खबर नभएपछि अर्को जीवन साथी रोज्न बाध्य भइन्। अहिले बच्चाका बाउ फर्केर आएका छन्। बच्चालाई ५ वर्षको उमेरमा पहिलो पटक प्रहरीको अगाडि भेट्दै छन्। तर बच्चालाई पढाउन आफैंले भारत लाने उनको जिकिर थियो भने देवरले दाइ नहुँदा घरमा बसेर काम नगरी भाउजूले अन्यत्र बिहे गरेकोमा आक्रोश पोख्दै थिए। बच्चा भने कहिल्यै नदेखेको बाउ भनाउँदोले लाने कुरा गरेकोमा कहालिएर रुँदै थियो। त्यो वातावरण साह्रै दर्दनाक थियो। जति बुझाउँदा पनि नबुझेपछि प्रहरी निरीक्षक प्रेमबहादुर खड्का भन्दै थिए– दिनहुँ यस्ता मुद्दा हेर्दा कहिलेकाहीँ हाम्रो पनि धैर्य टुट्छ।' उनी आफैँ पनि भावुक बनेका थिए।
 
दुःख खप्न नसकेर, सहाराको आवश्यकताले वा बस्ने आश्रयको जरुरतले, एक जना माया गर्ने, हेरचाह गर्ने मान्छेको अपेक्षाले महिलाले अर्को श्रीमान् रोज्न बाध्य भएको देखिन्छ भने त्यहाँ समस्या उनको पहिलो श्रीमान्तर्फको बच्चाको हुन आउँछ। जुम्लामा रहेको बालविवाह र बहुविवाहका कारण उत्पन्न हिंसाको डरलाग्दो स्थिति छ। यसरी छोरीको बाल विवाह गरेर उनको जीवन नर्कमा हाल्नु भन्दा किशोरीहरूलाई राम्रो शिक्षा दिएर आत्मनिर्भर हुन सक्षम बनाउनेतर्फ सचेत गराउन जरुरी छ। आर्थिक सक्षमता नभई जस्तोसुकै कानुन पनि व्यवहारमा कार्यान्वयन हुन गाह्रो हुन्छ। त्यसकारण छोरीलाई सक्षम बनाउनेतर्फ सरकारी तथा गैरसरकारी कार्यक्रमहरू लक्षित हुनु अहिले टड्कारो आवश्यकता देखिन गएको छ भने अभिभावक र शिक्षकले आफ्नो जिम्मेवारी बोध गर्न जरुरी छ।
 
महिला सशक्तीकरण तथा जीविकोपार्जन सुधार कार्यक्रम, जुम्लामा आबद्ध
 
- See more at: http://www.nagariknews.com/opinion/story/29971.html#sthash.b3SqOCeU.dpuf

http://www.nagariknews.com/opinion/story/29971.html

Sunday, December 14, 2014

Snowfall in Jumla & News/Photos in Setopati.com


Visi the given links below for more photos and news of Jumla on the day of December 13 & 14 (Saturday and Sunday) 2014. This year's first snowfall. And my photos on Setopati.com.

http://setopati.com/samaj/21693/ - This is the reporting of December 20th Saturday, the condition after the one week of snowfall in Dillichaur VDC, Jumla.


http://setopati.com/samaj/21391/


http://setopati.com/samaj/21350/?fb_action_ids=10204511949812421&fb_action_types=og.comments&fb_source=other_multiline&action_object_map=%5B740732609336735%5D&action_type_map=%5B%22og.comments%22%5D&action_ref_map=%5B%5D

Thursday, December 11, 2014

Violence & Our Roles

हिंसा र हाम्रो कर्तव्य


                                                                                                             –    शोभा शाक्य

हामी महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाउँदै अन्तिम दिनमा आइ पुगेका छौं । नेपालमा मात्र नभै संसार भरी नै यो अभियान मनाइरहेका बेलामा पनि पत्र पत्रिकामा हिंसाका समाचार आइरहेका छन् भने संचारकर्मीको क्यामेरा तथा कलमबाट ओझेलमा परेका हिंसाका घटनाहरू पनि गाउँघरमा थुप्रै नै होलान् । यसै सिलशिलामा, हिंसा भन्नलाई जति सजिलो छ बुझ्न र व्याख्या गर्र्न उति नै गाह्रो पनि छ । पिडकलाई जति सजिलो छ पिडितलाई अति कष्टप्रद हुन्छ । भनिन्छ “अच्चानोको पिडा खुकुरीलाई के थाहा ?”

“हिंसा” भन्ने बित्तिक्कै अर्कालाई घात गर्नु, दुःख हुने, मन नपर्ने, चित्त दुख्ने काम गर्नु भन्ने बुझिन्छ । हिंसा मौखिक, शरीरिक, व्यवहार आदि माध्यमबाट हुन्छ । मौखिक रुपमा बचनले हिंसा गरिरहेको हुन्छ । जथाभावी गाली गलौज, हप्की दप्की, बेइज्जती, मुख छोड्ने, अनावश्यक आरोप, सराप्ने, धम्की दिने, जाँडरक्सीको सुरमा जथाभावी कराउने आदि कृयाकलाप वचनद्वारा हुने हिंसा भित्र पर्छन् । शरीरले गर्ने हिंसामा अर्कालाई मन नपर्ने गरी टाँसिने, शरीरका अंगहरू छुने, करणीको उद्योग वा करणी गर्ने, शरीर वा अरु कुनै माध्यमले कुटपिट गर्ने, भुत्ल्याउने, फोहर मलमुत्र ख्वाउने, शीरमुण्डन गरिदिने, अंगभंग गरिदिने, घाइत पार्ने आदि पर्छन् । शरीरले अरुलाई नछोइ इशाराबाट मात्र पनि दुव्र्यवहार गर्ने हुन्छ जस्तै – आँखा झिम्क्याउने, सुसेली हालेर जिस्क्याउने, जिब्रो पड्काउने, टाउको हात वा खुट्टाले नराम्रो इशारा गर्ने, मुख बंग्याउने आदि क्रियाकलापबाट पनि अरुको मनमा घात पर्न जान्छ ।

व्यवहारले गर्ने हिंसामा छोरा र छोरीलाई खाना, शिक्षा, काममा भेदभाव गर्ने, जात, लिंग वा वर्गको आधारमा विभेद गर्ने, पेटभरी खान नदिने, शरीरले थाम्न नसक्ने गरी भारी बोक्न दिने, कामको बोझ बढाइदिने तर आफूले भने सहयोग नगर्ने, मरीमरी कामगर्न लगाउने तर एकपैसा चलाउने नदिने, काम अनुसारको ज्याला नदिने, सुत्केरी वा महिनावारी भएकालाई छाउगोठमा राख्ने, आराम गर्न नदिने, पोषिलो खाना नदिने, विरामी पर्दा स्वास्थ्य जाँच र औषधी उपचार नगराउने, सानो उमेरमा बिहे गरीदिने, जबरजस्ती वा ढाँटेर÷छलेर बिबाह गराउने, गर्भमै सम्धी बनाउने, अर्काको श्रीमती लाने, जारी प्रथा, बहुबिबाह, घरबाट निकाल्ने वा घरमा बस्नै नसक्ने अवस्था सृजना गर्ने आदि डरलाग्दा हिंसा हुन् ।

यि सबै क्रियाकलापालाई शुक्ष्म रुपमा हेर्ने हो भने हिंसा धेरै डरलाग्दो देखिन्छ र हिंसा शब्दको भाव धेरै व्यापक भएको बुझिन्छ । आजभोली अर्को हिंसा थपिएको छ मोबाइलबाट एस.एम.एस. लेखेर, फोन गरेर, फेसबूक वा इमेलद्वारा गरिने हर्कत । हिंसाले पिडितलाई शारीरिक, मानसिक तथा सामाजिक रुपमा नराम्रो असर पार्छ भने यो क्रम लामो समयसम्म जाँदा उसको आर्थिक अवस्थामा समेत असर पार्ने हुन्छ । समाजमा हिंसा महिला पुरुष दुबैलाई भैरहेको हुन्छ तर यस्ता घटनालाई हेर्ने हो भने धेरै जसो महिला नै पिडित भैरहेका हुन्छन् ।

यि सयौं खाले हिंसाहरू सबैभन्दा धेरै घरभित्रै भैरहेका हुन्छन् । जुम्लाका प्रहरी निरिक्षक प्रेम बहादुर खड्काले महिला हिंसा विरुद्धको एउटा कार्यक्रममा भनेका थिए “सबै भन्दा नजिकको मान्छे ठूलो शत्रु हुन्” । हुन पनि हो नजिककै मान्छेले धेरै घात गरिरहेको हुन्छ । अनि बलियो वा सक्नेले निर्धालाई विभिन्न स्थानमा हिंसा गरिरहेका हुन्छन् जस्तै – समुदायमा, बसपार्क, बसभित्र, कार्यालय, स्कूल÷कलेज, ट्यूशन सेन्टर, छात्रावास, बाटो÷गल्ली, चोक, बजार, सिनेमा हल, मेला, जंगल, खेत, कारखाना आदि स्थानहरूमा हिंसा भैरहेको हुन्छ । थोरैले यि विभिन्न थरीका हिंसाको प्रतिकार गर्छन् वा गर्न खोज्छन् तर धेरैले विभिन्न कारणले बोल्न वा विरोध गर्न सक्दैनन् । लाज वा डरले सकेसम्म सहेर बस्छन् तर सहनु भनेको पिडकलाई झन हौसला बढाउनु हो । त्यसैले पीडा सहनु झन अपराध हो ।

यस्ता हिंसाका घटना पर्दा सकेसम्म आफैले मिलाउने, सम्झाउने वा प्रतिकार गर्न खोज्नु पर्छ, ताकि फेरि नदोहोरियोस् । तर फेरि फेरि यस्ता घटना दोहोरिन्छ भने पिडित र देख्नेले पनि चुप लाग्नु हुँदैन । यदी आफूलाई बोल्न डरलाग्छ वा धम्की र चुनौति आउँछ भने प्रहरीलाई १०० मा वा महिला सेलमा ५२०५९९ (जुम्ला)मा फोन गर्ने बानी बसाल्न जरुरी छ । हिंसा भएको सूचना दिने व्यक्तिको परिचयको प्रहरी कार्यालयले गोपनियता कायम गर्ने हुनाले डराउनु आवश्यक हुँदैन । यसले समाजमा हिसा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्छ । जथाभावी हिंसा गर्नु कुनै पुरुषार्थ नभै अमानवीय व्यवहार वा नामर्दीपना हो । त्यसैले यस्ता व्यक्ति वा कार्यलाई सधै रोकौं वा रोक्न मद्दत गरौं । हामी सबैले प्रतिबद्धता जाहेर गरेर आ–आफ्नो तर्फबाट पनि हिंसा हुन नदिन सजग बनौं ।

(This article was published on Karnali Sarokar Daily dated 2071 Mangsir 24 (10th December, 2014) Wednesday, page 2.)

Monday, December 8, 2014

Interview for White Himal TV, USA

The New School, India China Institute executed a research project on the topic of "Every Day Religion & Sustainable Environment" for about 2 years. It was undertaken in China, India and Nepal. In Nepal, in the leadership of Prof. Mukta Singh Lama  myself, Nawa Raj Lama and Siddhartha Basnet were working. At the end of this research, Mukta Lama and myself got an opportunity to attend 2 seminars at New School and Yala University in March 2013 to present our research outcomes. During that time I got also an opportunity for a short interview for White Himal TV, USA.

Visit the given link to see the interview by Sailesh Shrestha for Sampreshan program.


https://www.youtube.com/watch?v=2oWwSdxfPW4&feature=player_embedded

In this episode there are interviews of Prof. Yu, Laxmi Shova Shakya, and Anil Chitrakar

Tuesday, December 2, 2014

Continuous Campaign Against Women Violence NEEDED

निरन्तर अभियान आवश्यक

  • सोमबार १५ मंसिर, २०७१
  • Published on Nagarik News Daily             
'बुढाले अर्को बिहे गर्यो । सासु, देवर, श्रीमान् सबैले कुट्छन्, त्यसैले छोरी लिएर खलंगा आएँ।' यो कुनै नाटकको डायलग नभै एउटा गोष्ठीमा सहभागी हुन आएकी जुम्लाकी चेली नीता दमाई (नाम परिवर्तन) ले भोगेको यथार्थ हो।
 
मंसिर ९ देखि २४ गतेसम्म हुने 'महिला हिंसाविरुद्धको १६ दिने अभियान' कार्यक्रमको पूर्व तयारीस्वरूप जुम्लामा 'शान्ति र विकासमा ग्रामीण महिलाको भूमिका' विषयक जिल्लास्तरीय दुई दिने कार्यशाला गोष्ठी मंसिर २ र ३ गते आयोजना भएको थियो। इटालिएन फाउण्डेशनको सहयोगमा महिला तथा बालबालिका कार्यालय, भेरी वातावरणीय विशिष्टता समुह, सूर्य सामाजिक सेवा संघ, एक्सन वर्क्स नेपाल र सांग्रिला एसोसियसनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जुम्लाका २४ गाविसका ८० जना महिला–पुरुष सहभागीले आआफ्ना गाउँका कुनाकाप्चामा महिलाले भोग्नुपरेका दुःख, अप्ठेराबारे खुलेर छलफल गरे। जुम्लाका महिला र बालिकाको अवस्था, हिंसा, शिक्षा, शान्ति, निर्णय क्षमता, वातावरण आदि ७ शीर्षकअन्तर्गत झेलिरहेका समस्या र समाधानका उपायबारे छलफल गरी निकालिएको निष्कर्षलाई घोषणापत्रको प्रारूप दिइयो। उक्त प्रारूप प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्दा उनले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जाहेर गर्नुलाई कार्यक्रमको सफलता मान्नुपर्छ।

तर, गोष्ठीका सहभागीमध्ये दुई जनाको पीडाले भने यो पंक्तिकारलाई निकै दुःखी बनायो। नीता दमाई सिंजाबाट मुगुमा प्रेमविवाह गरेर गएकी थिएन्, १५ वर्षको उमेरमै। एउटा छोरा भएपछि श्रीमान्ले अर्की श्रीमती ल्याउँदा उनको हालत झन् खराब भयो। यस्तो स्थितिमा सहयोग गर्नुको सट्टा सासु र देवारले समेत कुट्न थालेपछि ५ वर्षे छोरा र वर्ष दिनकी छोरी बोकेर निस्कन लाग्दा श्रीमान्ले छोरा खोसेर लिए। छोरी भने दिए। अन्ततः उनी छोरी लिएर खलंगाको जिल्ला सेवा केन्द्रमा आश्रय लिन बाध्य भइन्। उनीसँग यस्तो जाडोमा छोरीलाई जुत्ता किन्नेसम्म पैसा छैन। बच्चा छोडेर कहाँ काम गर्न जाने? उनको दुःखको छिनोफानो कसले र कहिले गरिदिने हो?

यस्तै, अर्की सहभागी ३ वर्षको छोरा बोकेर आएकी थिइन्। उनी 'एक पन्थ दो काज' गरी धेरै आशा बोकेर आएकी थिइन्। अदालतमा तारेख भ्याउने र गोष्ठीमा भाग लिने पनि उनको उद्देश्य थियो। उनीसँग गाउँबाट सदरमुकाम आउन लाग्ने खर्चसमेत थिएन। आफ्नै गाउँले दाइले जबरजस्ती करणी गरेपछि बस्न गएको गर्भका कारण उनी अहिले दुःख खेप्दै छिन्। त्यही गर्भको बच्चा हाल ३ वर्षको भैसक्यो, तर पेट बोकाउने केटाले उनलाई स्वीकार्दैन। मुद्दा लड्न पनि धेरै खर्च लाग्ने, त्यसैले जिल्ला सेवा केन्द्रले उनको मुद्दामा सहयोग गर्दै छ, तर तारेख भ्याउनै गाह्रो। 

गाउँबाट खलंगा बजारसम्म आउन उनलाई कम्तीमा एक हजार रुपियाँ नभै पुग्दैन। बच्चा लिएरै आउनु पर्योे। बच्चाको जन्मदर्ता नहुँदा बालभत्ता पनि लिन सकिएको छैन। अझ बच्चालाई विद्यालय पठाउने समय पनि हुनै लागेको छ। उनी अब के गर्ने भनी विचलित छिन्। उनी भन्छिन्, 'जन्म दिने आमाको नाममा पनि बच्चाको जन्मदर्ता नपाइने कस्तो नियम?' अर्कोतिर उनलाई माइत बस्नु भनेको दाजु–भाउजुको ठूलो बोझ हुनु हो। हात खाली बसेको छैन, खेतबारीको काममा सघाउँदा पनि भाउजुले झर्को मान्छिन् रे। एकचोटि बच्चा रोयो भनेर भाउजुले पिर्काले हिर्काउँदा नाबालक छोराको टाउकोमा ठूलो घाउ भयो र टाँका नै लाउनुपर्योक। एकपटक काममा लागिरहेका बेला ३ तल्ला माथिबाट बच्चा खस्यो। धन्न बाँच्यो, सबैको सहयोगले।
दुई वर्षदेखि उनको मुद्दा चलिरहेकै छ। 'अब छिट्टै डी.एन.ए. परीक्षणको रिपोर्ट आउँछ होला,' यतिभन्दा उनको अनुहारमा आशाका किरण धपक्क बलेको थियो। उनले फेरि थपिन्, 'हुन त छोराको अनुहार बाउसँग फोटोकपी जस्तै मिल्छ, तर पनि अहिलेसम्म स्वीकारेको छैन। फेरि कतै पैसा खुवाएर उसको छोरा होइन भनिदियो भने के गर्ने?' नेपालको अदालत र न्यायकर्मीप्रतिको विश्वास क्रमशः कमजोर हुँदै गएको छ। 

कतै काममा जानलाई पनि बच्चाकै समस्या हुने आमालाई। बच्चा कहाँ राख्ने? कसरी विद्यालय पठाउने? विद्यालय पठाउनमात्र पाएको भए पनि उनलाई दिनभर जे काम गर्दा पनि आयआर्जन गर्न सहज हुन्थ्यो। पढाइ पनि प्राथमिक तहसम्मको मात्र छ। माइतीमा सघाएको देख्दैनन्। जेजति समस्या पर्ने महिलालाई नै पर्छ। बच्चाप्रतिको ममताले उनलाई कमजोर बनाइदिएको छ। दुःख गरेर बच्चा स्याहार्दै दुःखसँग पौंठेजोरी खेलिरहेही छन्। तर कहिलेसम्म?

यी दुई महिला त गोष्ठीका प्रतिनिधिपात्र मात्र हुन्। अझै खुलेर अगाडि आउन नसकेेका र बाध्य भएर आँसु पिएर बसेका महिलाहरू गाउँघरमा धेरै छन्। कतिपय हिंसाका घटनामा माइतीमा आश्रय लिन पर्नुको बाध्यताले पनि महिलालाई आँसु नै दिएको छ। श्रीमान्को दुर्व्यवहार सहेर बस्नु परेको छ। जुम्लाकै अर्की महिला श्रीमान्को हिंसा सहननसकेर माइत गइन्। दुई–चार दिनपछि भदाले फुपु तपार्इं कहिले घर जाने? साथीहरू आउँदा मलाई कोठा चाहिन्छ भन्न थाले। भाउजुले सित्तैमा ख्वाउनु परेझैँ व्यवहार गर्न थालिन्। त्यसपछि बाध्य भएर उनी जे भए पनि बस्ने ठाउँमात्रको लागि भए पनि अहिलेलाई मिलापत्र गर्ने भन्न थालिन्।

महिलाले घरमा हुने हिंसाको विरुद्धमा जाहेरी दिने वा घटना बाहिर ल्याउने हो भने उनलाई फेरि त्यही घरमा फर्केर जाँदा हिंसा झन् बढ्ने गरेको पाइन्छ। त्यसैले महिलालाई दाइजोको भन्दा पनि शिक्षा र आयआर्जनमा सक्षम बनाउँदै आत्मनिर्भर बन्न सहयोग गर्ने हो भनेमात्र समस्यासँग जुध्ने क्षमता बढ्छ। अर्को कुरा, जुम्लामा सानै उमेरमा विवाह गर्ने चलन छ। सानैमा विवाह गर्योभ, पढाइ पूरा हुँदैन, बच्चाबच्ची हुन्छ, उमेर बढ्दै जाँदा इच्छा र रोजाइहरू पनि फरक हुँदै जान्छ। यस्तो अवस्थामा श्रीमान्–श्रीमती मिलेर बस्ननसक्ने र पुरुषले अर्को विवाह गर्ने घटना थुप्रै देखिन्छ। 

अब महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ। यही मौकामा हामी सबैले आआफ्नो क्षेत्रबाट यसमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरौँ। आफ्नै घर र आफूबाट यो कार्य सुरु गरौँ। सम्बन्धित निकायले न्याय दिने प्रक्रियामा यथासक्य चाँडो गरौँ। महिला सञ्जालहरू पनि सशक्त भएर गाउँका कुनाकाप्चामा रहेका पीडित महिलाको सहयोग गर्न र पिडकलाई सजाएको दायरामा ल्याउन एकजुट हुने हो भने यो अभियानको सार्थकता बढ्नेछ। यो १६ दिने अभियानलाई सफल पार्नसक्दा समाजमा व्याप्त महिला हिंसामा कमी आउने विश्वास गर्न सकिन्छ। महिला हिंसालाई निर्मूल पार्न १६ दिने मात्र होइन, ३६५ दिन नै अभियान जारी राख्नु जरुरी छ।

(लेखिका महिला सशक्तिकरण तथा जीविकोपार्जन सुधार कार्यक्रम, जुम्लामा कार्यरत।) 
 
- See more at:

http://www.nagariknews.com/opinion/story/28706.html#sthash.lAftqXr8.JSEbKcA0.dpuf

Tuesday, November 11, 2014

Good Drivers & Owners are also there!

राम्रा पनि छन् चालक र व्यवसायी


  • मङ्गलबार २५ कार्तिक, २०७१
  • Nagarik News Daily
 
“पुरुषहरू यता जाने, महिलाहरू उता जानूस्”– यो कुनै कार्यक्रममा स्वयंसेवकको निर्देशन नभई सुर्खेत– काठमाडौं–सुर्खेत रुटमा चल्ने रात्रिबस “काँक्रेबिहार डिलक्स” ११०५ का चालक प्रदीप फौजा मगरको हो। त्यति लामो रुटमा गाडी चलाउँदा पनि उनी रोकेपिच्छे यसरी निर्देशन दिन थाकेनन्। 
शोभा शाक्य



पिसाब फेर्न पुरुषहरू जताततै जाने हुँदा महिलालाई अप्ठेरो पर्ला भनी उनी सजग रहन्थे। यसरी उनले आजका चालक धेरै लैंगिक सचेत भइसकेका छन् भन्ने सन्देश दिइरहेका थिए। बसका महिला यात्रुलाई सिस्टर/म्याडम भनी नम्रतापूर्वक सम्बोधन गरेको सुन्दा परिवारिक यात्राकैै अनुभव हुँदोरहेछ। यो केवल व्यवहारको मात्र कुरा नभई यसले यात्रुलाई यात्रा अवधिभर सुरक्षित, विश्वस्त तथा आफूले तिरेको पैसाको पूरा उपभोग भएको महसुस गराउँदो रहेछ। 

भर्खरैको मकवानपुरको विभत्स दुर्घटना चालक र बस मालिकको कचकचका कारणले भएको समाचार सुनेपछि प्रदीपका बस मालिक दिनेश न्यौपानेलाई यहाँ सम्झन बाध्य भएकी छु। उनले अँध्यारो हुन हुन लागेदेखि नै आफ्ना बस चालकलाई कुरकुरे, चिप्स जस्ता निन्द्रा भगाउने पिरो अमिलो खुवाउँदै, कुरा गर्दै गएका थिए। चालकलाई मात्र होइन, यात्रुसँग पनि उनको मीठो व्यवहार थियो। उनी भन्थे– यातायातको नियममा रात्रिबसमा दुई जना चालक हुनैपर्ने भए पनि तलब भत्ताको महँगीले गर्दा सबैजसो गाडीले एकै जना मात्र चालक प्रयोग गर्दा निमयमै मात्र सीमित हुँदै आएको छ। चाडवाडको अघिपछि मात्र ट्राफिक चेक हुने र फेला परेमा तीन/चार सय रूपियाँ थमाइदिँदा मुक्ति पाइने प्रथाले पनि यातायातमा धेरै दुर्घटना भएका छन्।

दशैं तिहार अघिपछि त बस व्यवसायीको ठूलै मेला भइहाल्यो। सर्वसाधारणलाई आफ्नो योजनाको समयमा निर्दिष्ट स्थानसम्म पुग्नैपर्ने हतारोले गाडीको भित्र, बाहिर, माथि कोच्नसम्म कोचेर राखिने “कोच” बनाएर गुडाउँदा पनि बाध्य भएर बस व्यवसायीलाई फाइदा गराउन तयार हुन्छन्। अर्कोतिर ट्राफिकले देखे पनि नदेखेजस्तो गर्ने र जाँचेजस्तो गर्दा झन् उनीहरूलाई नै फाइदा हुने कारणले पनि वर्षेनी धेरैले ज्यान गुमाउँदै आएका छन्। दशैंयता मात्र २ सय ८३ जनाको मृत्यु र ५ सय घाइते हुनु भनेको ठूलो क्षति हो। गत वर्षको तुलनामा मानवीय क्षति दोब्बर भएको छ। र, ट्राफिक प्रहरी महाशाखाका अनुसार बढी दुर्घटना चालकको लापरबाहीका कारण भइरहेको देखिन्छ। यस्तो स्थितिमा देशमा नियममात्र भएर नपुग्दो रहेछ र नियमको पालना गर्न लगाउन तथा आफू सुरक्षित हुन सर्वसाधारण आफैं पनि सचेत हुनुपर्ने देखिन्छ।

बसका मालिक तथा व्यवसायीले चालकको तन र मनले नसक्ने अवस्थामा अर्को चालक राख्नुपर्छ। बिमा कम्पनीले आफ्नो गाडीको क्षति बेहोरिहाल्छ, यात्रुको जेसुकै होस् भनी यात्रुको ज्यानसँग खेलवाड गर्न कदापि पाइँदैन। गत साल परासीबाट काठमाडौं जाँदा रात्रिबसका चालकलाई निन्द्रा लागेपछि पसलहरू भएको सानो बस्तीमा गाडी रोकी २ घण्टा मजाले सुते। यात्रुहरू पनि कोही सुते, कोही चिसो/तातो खाने, गफ गर्ने, हावा खाने गर्न थाले। पछि फ्रेस भएरमात्र उनले गाडी चलाए। एकछिन ढिला भएर के नै बित्छ र? चालकको हातमा सम्पूर्ण यात्रु तथा बटुवाको ज्यानको रिमोट थामिएको हुन्छ। ऊ अलिकति चुक्यो भने धेरैको जनधनको क्षति हुन्छ। त्यसैले यस्तो महŒवपूर्ण र संवेदनशील जिम्मेवारी बोकेेका चालकलाई कर, धम्कीले स्टेरिङ समाउन बाध्य गर्नु ठूलो मुर्ख्याइ हो। दुर्घटना बेहोर्नु भन्दा बरु एक टि्रप नगर्दा कम नोक्सान होला कि? कुनै पनि व्यवसायीलाई लोभ हुनु स्वाभाविकै हो तर व्यवहारिकता भुल्दा नसोचेको क्षति बेहोर्नुपर्ने हुन्छ।

आजको ब्यस्त जीवनमा रात्रिबसले धेरै सुविधा दिँदै आएको छ। काँक्रेबिहार बसका युएनमा कार्यरत एक यात्रु भन्दै थिए- 'प्रायः युएन कर्मचारीले पनि आजभोलि रात्रिबस प्रयोग गर्न थालेका छन्। राति सुत्ने समयमा आफ्नो गन्तव्यमा पुगिने हुँदा यसको प्रयोग बढेको छ। यस्तो लोकप्रियता कमाउने बेलामा सबै चालक तथा व्यवसायी/गाडी धनीले यात्रुको हितलाई ध्यान दिने, राम्रो व्यवहार गर्ने, समयको ख्याल गर्ने, बसलाई राम्रो अवस्थामा राख्ने, सफा राख्ने हो भने आजको समय भनेको बसकै हो। यात्रुलाई मीठो बोलेर राम्रो व्यवहार पाउँदाको अनुभव सम्झँदा मन खुसी हुन्छ।

चालकको जीवन पनि सजिलो छैन। धेरै दुःख गरेको देखिन्छ। आफ्नो निन्द्रा भगाउन पिरो अमिलो, जंकफुड, पानपराग, गुट्खा, खैनी खाने, बेलामा खान सुत्न नपाइने हुँदा तिनको स्वास्थ्यमा कस्तो असर पर्ला? कतिपय युवा चालकको जोसिने, नराम्रो बोल्ने, युवती/महिलालाई नराम्रो व्यवहार गर्ने, रक्सी पिएर चलाउने, प्रतिस्पर्धामा चलाउने, आदि व्यवहारले यो पेशामा रहेका सबै नराम्रा हुन्छन् भन्ने छाप परेको छ। व्यवसायीलाई घाटाकै चिन्ता भए पनि देशको यातायात नियमलाई कडा बनाउने, कर्मचारीलाई इमानदार बनाउने, राम्रो अनुगमन, बसका कर्मचारीलाई तालिमको व्यवस्था, मुस्कानसहितको सेवाका लागि प्रेरणा, लैंगिक सचेत गराउने र राम्रालाई पुरस्कार तथा नराम्रा तथा गल्ती गर्नेलाई सजायको दायरामा लग्ने व्यवस्था कडा हुने हो भने दुर्घटना र मानसिक तथा आर्थिक क्षतिमा कमी आउँथ्यो।

काठमाडौंमा एउटा यातायातले लगातार दुर्घटना गरी धेरै मान्छे मारेपछि स्वयम्भू यातायातको नाममात्र फेरेर व्यवसाय निरन्तर गरेको पनि देखियो। ठोक्किएका तथा लडेका व्यक्तिलाई गाडी ब्याक गरेर मार्ने अपराधीको जिन्दगीभर गाडी चलाउन नपाउने गरी लाइसन्स खारेज गर्ने वा कुनै कडाभन्दा कडा सजायको व्यवस्था गर्न सकेको भए राक्षसी स्वभाव घट्ने थियो वा मानवताको भावना पाल्न बाध्य गराइन्थ्यो होला। 

मकवानपुरको विभत्स दुर्घटना भएको दिन १२ बजेतिर काँक्रेबिहार डिलक्सका बस मालिक दिनेशको अचानक फोन आउँदा म छक्कै परें। किन फोन गर्नुभएको भनी सोध्दा– “कता हुनुहुन्छ?, हामी कहिलेकाहीँ यात्रुलाई सम्झन्छौं” भने। जुम्लामा त्यतिबेलासम्म त्यो खबर पुगेकै थिएन। पछिमात्र थाहा भयो तिहारलगत्तै सबै यात्रा गर्ने हुँदा डरलाग्दो दुर्घटनाको बेला म कहाँ रहेछु भनेर खोजी गरेका रहेछन्। सम्झेर पनि मन पुलकित भयो। जे होस्, नेपालका राम्रो सेवा दिइरहेका चालक तथा बस मालिकलाई भने सलाम गर्नैपर्छ।
 
- See more at: http://www.nagariknews.com/opinion/story/27540.html#sthash.659EGWiP.dpuf

Tuesday, October 14, 2014

Sutkeriko Surtaa

सुत्केरीको सुर्ता

मातृ सुरक्षा कार्यक्रमको सर्भेका लागि जुम्ला पुगेका इलामका गणेश लिम्बू जुम्लाको कालिकाखेतु गाविसबाट फर्केपछि एक्लै बोल्दै गरेको भेटेँ। कारण, उनले सुनाए- बुअ गाउँमा शाही थरकी महिला घरैमा सुत्केरी भइछिन्। साल अड्केपछि निकै कष्ट भएर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराएछन्। 
अनि फर्काएर गोठमा राखेछन्। चार दिनकी सुत्केरीलाई शिशुसहित फोहर गोठमा गाईभैंसीलाई झैं राखेको देखेर साह्रै चित्त दुख्यो। उनले त्यहाँ देखेछन् – झ्याल पनि नभएको गोठमा दाउरा बाल्दा धुँवा जाने ठाउँ नभएर निसास्सिने, आफैले लुगा धुनु पर्ने बिजोग। पतिले आफ्नी अर्धाङ्गिनीलाई पशुजस्तो अमानवीय व्यवहार गरेको र सासुले आफूले भोगेका पीडा सम्झनुको साटो बुहारीलाई पनि त्यसै पीडामा पार्नु परम अमानवीय घटना हो। गोठको फोहर, गन्ध, किराफट्यांग्रा, आँखाले नदेखिने जीवाणु, नजिकै वस्तुभाउ आदिले नवजात शिशु र सुत्केरीलाई कस्तो असर पर्ला? 

गणेश, पूर्वका सुत्केरी लिम्बू महिलालाई दाँज्न थाल्छन् – इलामतिर भए सुत्केरी हुनु कहिले कहिले, गर्भधारणलगत्तै पतिले विशेष हेरविचार गर्नेगर्छन्। गाह्रोसाह्रो काम गर्न दिँदैनन्। सासु, नन्द, आमाजुले पनि उत्तिकै स्याहार गर्छन्। सुत्केरी हुँदा त घरको सफा कोठामा राखी न्यानो लुगा दिएर, मासु तथा झोलिलो पौष्टिक खाना दिन्छन्। सेकाउने, मालिस गरिदिने आदिबाट पूरै आराम गराउँछन्। पति आफैँले लुगा धोइदिने वा घरका अन्यले सहयोग गर्छन्। तर, जुम्लामा किन यस्तो व्यवहार गरेको?
एउटै नेपालको पहाडी भेक र हिमाली भेक अनि एक छेउबाट अर्को छेउमा कति फरक चलन? के यो सबै मान्छेले नै बनाएका होइनन् र?

पश्चिमा मुलुकमा गर्भबस्नु अघि दुबै मिलेर राम्रोसँग योजना बनाउँछन् – कहिले पाउने, कति पैसा चाहिन्छ, पत्नीको स्वास्थ्य स्थिति ठीक छ छैन डाक्टरसँग कहिले सल्लाह गर्ने आदि। पत्नीको गर्भावस्थाको सुरुको समाचार सुन्न पतिलगायत आफन्त र साथीभाइहरू व्यग्र प्रतीक्षा गर्छन्। सकारात्मक समाचार सुन्नासाथ उत्सव मनाउँछन्। बधाईको ओइरो लाग्छ। अनि बच्चालाई न्यानो लुगा तयार गर्ने, खेलौनादेखि बच्चालाई चाहिने सामान उपहार दिने काम सुरु हुन्छ। उनीहरूको लागि माया, आत्मीयता दर्शाउने एउटा अवसर हुनेगर्छ जुन कुनै हालतमा पनि गुमाउन चाहँदैनन्। गर्भवती महिलालाई सुखी र खुसी पार्ने प्रयास सबैले गर्छन्। गर्भवती महिलाको मानसिक तथा शारीरिक स्थितिले आउने बच्चाको स्वास्थ्यमा ठूलो असर पार्छ भन्छन्। त्यसैले होला, गर्भावस्था र सुत्केरी अवस्थाको हरेक पलको खुसीलाई टाढाटाढाका साथीसंगीसँग बाँड्न लालायित हुन्छन्।
अस्पतालमा सुत्केरी हुँदा पतिलाई अनिवार्यरूपमा पत्नीसँगै राख्छन्। सहयोग, माया दिँदै प्रसव पीडा बाँड्ने चलन छ। पति कुनै कारण विशेषले पत्नीको प्रसवावस्थामा उपस्थित हुन नसके मानवीय भावनाबाट च्युत भएको भन्दै पारपाचुकेसमेत हुँदा रहेछ। सुत्केरीपछि पनि पतिले बच्चा र आमालाई पूरा तनमनले स्याहार्छन्। राति आमालाई राम्रो निन्द्रा र आराम चाहिन्छ भनेर आफूले बच्चा च्यापेर पत्नीलाई सुत्न दिन्छन्। 

विदेशका कुरा छाडौं, काठमाडौंतिर आजभोलि गर्भ रहेको खबर पाउनासाथ मिठाइ बाँड्ने चलन सुरु भएको छ। गर्भवतीको विशेष स्याहार गर्ने, प्रशस्त आराम र पोषिलो खाना दिने गर्छन्। सुत्केरी हुँदा उत्सवको रूपमा लिन्छन्। गर्भावस्थाको हरेक पललाई 'इन्ज्वाय्' गर्न दिइन्छ। नेवार संस्कृतिलाई हेर्ने हो भने सुत्केरी भएको करिब एक महिना घरमा र त्यसपछि डेढ दुई महिना माइतमा बसेर सुत्केरी स्याहार्छन्। दिनमा ४ छाक पोषिलो खाना दिन्छन्। आफ्नो घरमा तेल लगाइदिने मान्छे छैन भने भाडामा मान्छे लगाएर पनि स्याहार्ने चलन छ।

सन् १९९७ मा सप्तरीमा काम गर्दा स्पेनकी सहकर्मी गर्भवती थिइन्। उनकी बृद्धा आमालाई फोनबाटमात्र कुरा गरेर चित्त नबुझेर आफ्नी छोरीको मनपर्ने खानेकुरा पकाएर खुवाउनलाई स्पेनदेखि सप्तरी पुगेकी थिइन्। यता अर्की आमाको कुरा गरौं। जुम्लामा गत महिना एउटा तालिमका क्रममा तलियुम (हाल चन्दननाथ नगरपालिका) को श्रीदुष्का गाउँमा भ्रमण गर्दा झरी परेको थियो। माइत आएकी डेढ महिनाकी सुत्केरी छोरीलाई महिनावारी भएको भन्दै उनकी आमाले गोबर र हिलो भएको गोठमा बस्न बाध्य गराएको देखियो। सानो बच्चालाई एउटा खास्टोमा बेरेर त्यहीँ भुईंमा राखेका थिए। त्यहीबेला हाम्रो साथमा रहेकी नर्स राधा पौडेलले बुझ्दा, सुत्केरी भएपछि पाठेघरमा बाँकी रहेका सालका टुक्रा झरेको रहेछ। यस्तो बेला त्यसरी बेवास्ता गरी फोहरमा बस्दा, ज्वरो आएमा आमाको मृत्युसमेत हुन सक्थ्यो। उनलाई माथि कोठामा लगेर राख्न र तुरुन्त स्वास्थ्य जाँच गराउनका लागि आफ्नै आमालाई कुरा बुझाउन धेरै नै जोडबल गर्नुपर्यो। महिनावारी भएकीलाई घरभित्र राख्दा देउता लाग्छन् भन्ने अन्धविश्वासले २१ औं शताब्दीमा पनि गोठमा बस्ने (छाउपडी) संस्कार दुःख लाग्दो हो।

हाँकुका नियापानी गाउँमा एकजना समाज सुधारकले भनेका थिएः पहिलापहिला छोरी पाए ३ महिना र छोरा पाए ६ महिना मासु खान हुँदैन भन्ने धारणा थियो। पछि परिवर्तन भयो र मासु खान दिन थाले। यस्तै समाजमा एक दुईजना सुरो महिला र पुरुष निस्कनु पर्यो, जसले कुरीति तथा आफ्नै शरीरलाई हानी नोक्सानी पुर्याउने खालका प्रचलन परिवर्तन गराओस्। स्वस्थ बन्न र बनाउन सबैले आआफ्नो घरबाट सुरु गर्नैपर्छ। नेपालको अन्तरिम संविधान, २०६३ को धारा- २० ले पनि यौन तथा प्रजनन स्वास्थ्यलाई विशेष अधिकारमा स्थान दिएको छ। आमा हुन पाउनु उनको स्वतन्त्रता र स्वनिर्णय भनेको छ। आमाहरूलाई विशेष रुपमा सफा ठाउँमा राखी राम्ररी स्याहार्ने कर्तव्य विशेषतः पति तथा घरपरिवारको हुन्छ। 

(जुम्लामा महिला सशक्तीकरण कार्यक्रमसँग आबद्)

  • शुक्रबार १० असोज, २०७१   Nagarik Daily
  • - See more at: http://www.nagariknews.com/opinion/story/25407.html#sthash.diCeQHnv.YuHqpHOR.dpuf