Thursday, December 11, 2014

Violence & Our Roles

हिंसा र हाम्रो कर्तव्य


                                                                                                             –    शोभा शाक्य

हामी महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाउँदै अन्तिम दिनमा आइ पुगेका छौं । नेपालमा मात्र नभै संसार भरी नै यो अभियान मनाइरहेका बेलामा पनि पत्र पत्रिकामा हिंसाका समाचार आइरहेका छन् भने संचारकर्मीको क्यामेरा तथा कलमबाट ओझेलमा परेका हिंसाका घटनाहरू पनि गाउँघरमा थुप्रै नै होलान् । यसै सिलशिलामा, हिंसा भन्नलाई जति सजिलो छ बुझ्न र व्याख्या गर्र्न उति नै गाह्रो पनि छ । पिडकलाई जति सजिलो छ पिडितलाई अति कष्टप्रद हुन्छ । भनिन्छ “अच्चानोको पिडा खुकुरीलाई के थाहा ?”

“हिंसा” भन्ने बित्तिक्कै अर्कालाई घात गर्नु, दुःख हुने, मन नपर्ने, चित्त दुख्ने काम गर्नु भन्ने बुझिन्छ । हिंसा मौखिक, शरीरिक, व्यवहार आदि माध्यमबाट हुन्छ । मौखिक रुपमा बचनले हिंसा गरिरहेको हुन्छ । जथाभावी गाली गलौज, हप्की दप्की, बेइज्जती, मुख छोड्ने, अनावश्यक आरोप, सराप्ने, धम्की दिने, जाँडरक्सीको सुरमा जथाभावी कराउने आदि कृयाकलाप वचनद्वारा हुने हिंसा भित्र पर्छन् । शरीरले गर्ने हिंसामा अर्कालाई मन नपर्ने गरी टाँसिने, शरीरका अंगहरू छुने, करणीको उद्योग वा करणी गर्ने, शरीर वा अरु कुनै माध्यमले कुटपिट गर्ने, भुत्ल्याउने, फोहर मलमुत्र ख्वाउने, शीरमुण्डन गरिदिने, अंगभंग गरिदिने, घाइत पार्ने आदि पर्छन् । शरीरले अरुलाई नछोइ इशाराबाट मात्र पनि दुव्र्यवहार गर्ने हुन्छ जस्तै – आँखा झिम्क्याउने, सुसेली हालेर जिस्क्याउने, जिब्रो पड्काउने, टाउको हात वा खुट्टाले नराम्रो इशारा गर्ने, मुख बंग्याउने आदि क्रियाकलापबाट पनि अरुको मनमा घात पर्न जान्छ ।

व्यवहारले गर्ने हिंसामा छोरा र छोरीलाई खाना, शिक्षा, काममा भेदभाव गर्ने, जात, लिंग वा वर्गको आधारमा विभेद गर्ने, पेटभरी खान नदिने, शरीरले थाम्न नसक्ने गरी भारी बोक्न दिने, कामको बोझ बढाइदिने तर आफूले भने सहयोग नगर्ने, मरीमरी कामगर्न लगाउने तर एकपैसा चलाउने नदिने, काम अनुसारको ज्याला नदिने, सुत्केरी वा महिनावारी भएकालाई छाउगोठमा राख्ने, आराम गर्न नदिने, पोषिलो खाना नदिने, विरामी पर्दा स्वास्थ्य जाँच र औषधी उपचार नगराउने, सानो उमेरमा बिहे गरीदिने, जबरजस्ती वा ढाँटेर÷छलेर बिबाह गराउने, गर्भमै सम्धी बनाउने, अर्काको श्रीमती लाने, जारी प्रथा, बहुबिबाह, घरबाट निकाल्ने वा घरमा बस्नै नसक्ने अवस्था सृजना गर्ने आदि डरलाग्दा हिंसा हुन् ।

यि सबै क्रियाकलापालाई शुक्ष्म रुपमा हेर्ने हो भने हिंसा धेरै डरलाग्दो देखिन्छ र हिंसा शब्दको भाव धेरै व्यापक भएको बुझिन्छ । आजभोली अर्को हिंसा थपिएको छ मोबाइलबाट एस.एम.एस. लेखेर, फोन गरेर, फेसबूक वा इमेलद्वारा गरिने हर्कत । हिंसाले पिडितलाई शारीरिक, मानसिक तथा सामाजिक रुपमा नराम्रो असर पार्छ भने यो क्रम लामो समयसम्म जाँदा उसको आर्थिक अवस्थामा समेत असर पार्ने हुन्छ । समाजमा हिंसा महिला पुरुष दुबैलाई भैरहेको हुन्छ तर यस्ता घटनालाई हेर्ने हो भने धेरै जसो महिला नै पिडित भैरहेका हुन्छन् ।

यि सयौं खाले हिंसाहरू सबैभन्दा धेरै घरभित्रै भैरहेका हुन्छन् । जुम्लाका प्रहरी निरिक्षक प्रेम बहादुर खड्काले महिला हिंसा विरुद्धको एउटा कार्यक्रममा भनेका थिए “सबै भन्दा नजिकको मान्छे ठूलो शत्रु हुन्” । हुन पनि हो नजिककै मान्छेले धेरै घात गरिरहेको हुन्छ । अनि बलियो वा सक्नेले निर्धालाई विभिन्न स्थानमा हिंसा गरिरहेका हुन्छन् जस्तै – समुदायमा, बसपार्क, बसभित्र, कार्यालय, स्कूल÷कलेज, ट्यूशन सेन्टर, छात्रावास, बाटो÷गल्ली, चोक, बजार, सिनेमा हल, मेला, जंगल, खेत, कारखाना आदि स्थानहरूमा हिंसा भैरहेको हुन्छ । थोरैले यि विभिन्न थरीका हिंसाको प्रतिकार गर्छन् वा गर्न खोज्छन् तर धेरैले विभिन्न कारणले बोल्न वा विरोध गर्न सक्दैनन् । लाज वा डरले सकेसम्म सहेर बस्छन् तर सहनु भनेको पिडकलाई झन हौसला बढाउनु हो । त्यसैले पीडा सहनु झन अपराध हो ।

यस्ता हिंसाका घटना पर्दा सकेसम्म आफैले मिलाउने, सम्झाउने वा प्रतिकार गर्न खोज्नु पर्छ, ताकि फेरि नदोहोरियोस् । तर फेरि फेरि यस्ता घटना दोहोरिन्छ भने पिडित र देख्नेले पनि चुप लाग्नु हुँदैन । यदी आफूलाई बोल्न डरलाग्छ वा धम्की र चुनौति आउँछ भने प्रहरीलाई १०० मा वा महिला सेलमा ५२०५९९ (जुम्ला)मा फोन गर्ने बानी बसाल्न जरुरी छ । हिंसा भएको सूचना दिने व्यक्तिको परिचयको प्रहरी कार्यालयले गोपनियता कायम गर्ने हुनाले डराउनु आवश्यक हुँदैन । यसले समाजमा हिसा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्छ । जथाभावी हिंसा गर्नु कुनै पुरुषार्थ नभै अमानवीय व्यवहार वा नामर्दीपना हो । त्यसैले यस्ता व्यक्ति वा कार्यलाई सधै रोकौं वा रोक्न मद्दत गरौं । हामी सबैले प्रतिबद्धता जाहेर गरेर आ–आफ्नो तर्फबाट पनि हिंसा हुन नदिन सजग बनौं ।

(This article was published on Karnali Sarokar Daily dated 2071 Mangsir 24 (10th December, 2014) Wednesday, page 2.)

No comments:

Post a Comment