राम्रा पनि छन् चालक र व्यवसायी
- मङ्गलबार २५ कार्तिक, २०७१
- Nagarik News Daily
“पुरुषहरू यता जाने, महिलाहरू उता जानूस्”– यो कुनै कार्यक्रममा स्वयंसेवकको निर्देशन नभई सुर्खेत– काठमाडौं–सुर्खेत रुटमा चल्ने रात्रिबस “काँक्रेबिहार डिलक्स” ११०५ का चालक प्रदीप फौजा मगरको हो। त्यति लामो रुटमा गाडी चलाउँदा पनि उनी रोकेपिच्छे यसरी निर्देशन दिन थाकेनन्।
भर्खरैको मकवानपुरको विभत्स दुर्घटना चालक र बस मालिकको कचकचका कारणले भएको समाचार सुनेपछि प्रदीपका बस मालिक दिनेश न्यौपानेलाई यहाँ सम्झन बाध्य भएकी छु। उनले अँध्यारो हुन हुन लागेदेखि नै आफ्ना बस चालकलाई कुरकुरे, चिप्स जस्ता निन्द्रा भगाउने पिरो अमिलो खुवाउँदै, कुरा गर्दै गएका थिए। चालकलाई मात्र होइन, यात्रुसँग पनि उनको मीठो व्यवहार थियो। उनी भन्थे– यातायातको नियममा रात्रिबसमा दुई जना चालक हुनैपर्ने भए पनि तलब भत्ताको महँगीले गर्दा सबैजसो गाडीले एकै जना मात्र चालक प्रयोग गर्दा निमयमै मात्र सीमित हुँदै आएको छ। चाडवाडको अघिपछि मात्र ट्राफिक चेक हुने र फेला परेमा तीन/चार सय रूपियाँ थमाइदिँदा मुक्ति पाइने प्रथाले पनि यातायातमा धेरै दुर्घटना भएका छन्।
दशैं तिहार अघिपछि त बस व्यवसायीको ठूलै मेला भइहाल्यो। सर्वसाधारणलाई आफ्नो योजनाको समयमा निर्दिष्ट स्थानसम्म पुग्नैपर्ने हतारोले गाडीको भित्र, बाहिर, माथि कोच्नसम्म कोचेर राखिने “कोच” बनाएर गुडाउँदा पनि बाध्य भएर बस व्यवसायीलाई फाइदा गराउन तयार हुन्छन्। अर्कोतिर ट्राफिकले देखे पनि नदेखेजस्तो गर्ने र जाँचेजस्तो गर्दा झन् उनीहरूलाई नै फाइदा हुने कारणले पनि वर्षेनी धेरैले ज्यान गुमाउँदै आएका छन्। दशैंयता मात्र २ सय ८३ जनाको मृत्यु र ५ सय घाइते हुनु भनेको ठूलो क्षति हो। गत वर्षको तुलनामा मानवीय क्षति दोब्बर भएको छ। र, ट्राफिक प्रहरी महाशाखाका अनुसार बढी दुर्घटना चालकको लापरबाहीका कारण भइरहेको देखिन्छ। यस्तो स्थितिमा देशमा नियममात्र भएर नपुग्दो रहेछ र नियमको पालना गर्न लगाउन तथा आफू सुरक्षित हुन सर्वसाधारण आफैं पनि सचेत हुनुपर्ने देखिन्छ।
बसका मालिक तथा व्यवसायीले चालकको तन र मनले नसक्ने अवस्थामा अर्को चालक राख्नुपर्छ। बिमा कम्पनीले आफ्नो गाडीको क्षति बेहोरिहाल्छ, यात्रुको जेसुकै होस् भनी यात्रुको ज्यानसँग खेलवाड गर्न कदापि पाइँदैन। गत साल परासीबाट काठमाडौं जाँदा रात्रिबसका चालकलाई निन्द्रा लागेपछि पसलहरू भएको सानो बस्तीमा गाडी रोकी २ घण्टा मजाले सुते। यात्रुहरू पनि कोही सुते, कोही चिसो/तातो खाने, गफ गर्ने, हावा खाने गर्न थाले। पछि फ्रेस भएरमात्र उनले गाडी चलाए। एकछिन ढिला भएर के नै बित्छ र? चालकको हातमा सम्पूर्ण यात्रु तथा बटुवाको ज्यानको रिमोट थामिएको हुन्छ। ऊ अलिकति चुक्यो भने धेरैको जनधनको क्षति हुन्छ। त्यसैले यस्तो महŒवपूर्ण र संवेदनशील जिम्मेवारी बोकेेका चालकलाई कर, धम्कीले स्टेरिङ समाउन बाध्य गर्नु ठूलो मुर्ख्याइ हो। दुर्घटना बेहोर्नु भन्दा बरु एक टि्रप नगर्दा कम नोक्सान होला कि? कुनै पनि व्यवसायीलाई लोभ हुनु स्वाभाविकै हो तर व्यवहारिकता भुल्दा नसोचेको क्षति बेहोर्नुपर्ने हुन्छ।
आजको ब्यस्त जीवनमा रात्रिबसले धेरै सुविधा दिँदै आएको छ। काँक्रेबिहार बसका युएनमा कार्यरत एक यात्रु भन्दै थिए- 'प्रायः युएन कर्मचारीले पनि आजभोलि रात्रिबस प्रयोग गर्न थालेका छन्। राति सुत्ने समयमा आफ्नो गन्तव्यमा पुगिने हुँदा यसको प्रयोग बढेको छ। यस्तो लोकप्रियता कमाउने बेलामा सबै चालक तथा व्यवसायी/गाडी धनीले यात्रुको हितलाई ध्यान दिने, राम्रो व्यवहार गर्ने, समयको ख्याल गर्ने, बसलाई राम्रो अवस्थामा राख्ने, सफा राख्ने हो भने आजको समय भनेको बसकै हो। यात्रुलाई मीठो बोलेर राम्रो व्यवहार पाउँदाको अनुभव सम्झँदा मन खुसी हुन्छ।
चालकको जीवन पनि सजिलो छैन। धेरै दुःख गरेको देखिन्छ। आफ्नो निन्द्रा भगाउन पिरो अमिलो, जंकफुड, पानपराग, गुट्खा, खैनी खाने, बेलामा खान सुत्न नपाइने हुँदा तिनको स्वास्थ्यमा कस्तो असर पर्ला? कतिपय युवा चालकको जोसिने, नराम्रो बोल्ने, युवती/महिलालाई नराम्रो व्यवहार गर्ने, रक्सी पिएर चलाउने, प्रतिस्पर्धामा चलाउने, आदि व्यवहारले यो पेशामा रहेका सबै नराम्रा हुन्छन् भन्ने छाप परेको छ। व्यवसायीलाई घाटाकै चिन्ता भए पनि देशको यातायात नियमलाई कडा बनाउने, कर्मचारीलाई इमानदार बनाउने, राम्रो अनुगमन, बसका कर्मचारीलाई तालिमको व्यवस्था, मुस्कानसहितको सेवाका लागि प्रेरणा, लैंगिक सचेत गराउने र राम्रालाई पुरस्कार तथा नराम्रा तथा गल्ती गर्नेलाई सजायको दायरामा लग्ने व्यवस्था कडा हुने हो भने दुर्घटना र मानसिक तथा आर्थिक क्षतिमा कमी आउँथ्यो।
काठमाडौंमा एउटा यातायातले लगातार दुर्घटना गरी धेरै मान्छे मारेपछि स्वयम्भू यातायातको नाममात्र फेरेर व्यवसाय निरन्तर गरेको पनि देखियो। ठोक्किएका तथा लडेका व्यक्तिलाई गाडी ब्याक गरेर मार्ने अपराधीको जिन्दगीभर गाडी चलाउन नपाउने गरी लाइसन्स खारेज गर्ने वा कुनै कडाभन्दा कडा सजायको व्यवस्था गर्न सकेको भए राक्षसी स्वभाव घट्ने थियो वा मानवताको भावना पाल्न बाध्य गराइन्थ्यो होला।
मकवानपुरको विभत्स दुर्घटना भएको दिन १२ बजेतिर काँक्रेबिहार डिलक्सका बस मालिक दिनेशको अचानक फोन आउँदा म छक्कै परें। किन फोन गर्नुभएको भनी सोध्दा– “कता हुनुहुन्छ?, हामी कहिलेकाहीँ यात्रुलाई सम्झन्छौं” भने। जुम्लामा त्यतिबेलासम्म त्यो खबर पुगेकै थिएन। पछिमात्र थाहा भयो तिहारलगत्तै सबै यात्रा गर्ने हुँदा डरलाग्दो दुर्घटनाको बेला म कहाँ रहेछु भनेर खोजी गरेका रहेछन्। सम्झेर पनि मन पुलकित भयो। जे होस्, नेपालका राम्रो सेवा दिइरहेका चालक तथा बस मालिकलाई भने सलाम गर्नैपर्छ।
No comments:
Post a Comment