Friday, September 20, 2019

बुढ्यौलीका व्यथा (Trouble in Old Age)

बुढ्यौलीका व्यथा



लेखकबाट थप

         ‘तिमी दिनभरि सुत्छौ, अनि कहाँबाट निद्रा परोस् ? हामी राति निदाउनु पर्दैन ?’ एक पुरुष आवाजले एउटा वृद्धालाई रातको करिब बजे हकार्दै गरेको सुनेपछि कारणवश धुम्बाराही बास बसेकी यो पंक्तिकारलाई रात काट्न साह्रै कठिन भयो।
     ती वृद्धाले हप्काइ खानुभन्दा केही समय अगाडिदेखि लगातार बोलाइरहेकी थिइन्। उनलाई केही चाहिएको थियो कि ? सोधिदिने कसले ? उनी प्रतिनिधि पात्र मात्र हुन्। यस्ता दृश्य टोलटोलमा देखिन्छन्।
     आजको युगमा शारीरिक तथा मानसिक रूपमा कमजोर भएका उमेर पाकेकाहरू तीव्र पश्चिमाकरणको नकारात्मक मारमा परेका छन्। हुन बूढो हुनु प्राकृतिक नियम हो आफ्नोे वशभन्दा बाहिरको कुरा। मानिसले आफ्नो खानपान व्यायाममा ध्यान दिने हो भने शारीरिक तन्दुरुस्ती राम्रो हुन्छ। तर अहिले नेपालमा प्रायः ५०६० वर्ष कटेपछि मानिस विभिन्न रोगको सिकार भएको पाइन्छ। यस खालको शारीरिक कष्ट बुढेसकालमा झन् बढी आइपर्नु स्वाभाविकै हो।
     अर्को डरलाग्दो कुरा बुढेसकालमा खेप्नुपर्ने मानसिक तनाव हो। आफ्नो अवस्था आफ्ना सन्तानबाट आइपर्ने तनाव धेरैजसो वृद्धले खेपिराखेका छन्। अनि बोल्दा पनि करायो भन्ने, उनीहरूको आवश्यकतालाई बेवास्ता गर्ने, झर्कीफर्की गर्ने। संस्कृतिविद् सत्यमोहन जोशी अपवादका प्रतिनिधि हुन्, जो १०० वर्ष कटेर पनि आफ्नो स्मरण शक्ति शारीरिक तन्दुरुस्ती चुस्त छ। तर धेरैजसोको ६० वर्ष हाराहारी पुग्दा सम्झना शक्ति कमजोर हुन थाल्छ। त्यही कुरा एकपटक भन्दा बढी बोल्नेबित्तिकै परिवारलाई टाउको दुखाइ हुन्छकत्ति करकर गरेको भन्दै।
पहिलो पुस्ताका वृद्धहरूले आफ्ना छोराछोरी नातिनातिनाबाट राम्रो स्याहार आदर पाए।आफ्नो बाउलाई डोकोमा राखेर फ्याँक्न लैजाँदा सानो छोरोले त्यो डोको नफाल्नू, पछि तपाईंलाई पनि बूढा हुँदा यसैगरी फ्याँक्न चाहिन्छ भन्योभन्ने लोककथाले पनि कति शिक्षा दिन्थ्यो। त्यो बेला आफूभन्दा ठूलालाई सम्मान गर्नु, सेवा गर्नुलाई धर्म कर्तव्य मानिन्थ्यो।
     यस सिलसिलामा डा.नोबल किशोर राईले एउटा कार्यक्रममा भनेका थिए– ‘हिजोआज केटाकेटीलाई सानैदेखि अधिकार मात्र सिकाइयो, तर कर्तव्य सिकाइएन।हुन पनि हो, आजको नयाँ पुस्ताले अधिकार मात्रै खोजे। आफ्ना आमाबाबु, हजुरआमा÷बुबा हेर्न गाह्रो मान्ने, तर उनीहरूको सम्पत्ति भने मुद्दा हालेर लिने चलन हाबी भएको छ। लुभुको प्रशस्त जग्गा भएको एक परिवारमा छोराहरूले एकल आमासँग मुद्दा हालेर आफ्नो अंश लिएपछि ती वृद्धालाई अलपत्र पारेको घटना धेरै पुरानो भएको छैन।
     हुन सम्पत्तिका मालिकलाई स्याहारेको खण्डमा मात्र सन्तानले पुरस्कार स्वरूप अंश पाउनुपर्ने होइन ? तर नेपालको कानुनले कपुतहरूलाई सहज बनाइदिएका कारण पनि वृद्धहरू मारमा परेका छन्। आफूले जन्माउँदैमा सम्पत्ति दिनुपर्ने किन ? आफूलाई जन्माएर दुःखगरी हुर्काएको बदलामा केही प्रत्युपकार नगर्ने, तर बूढाबूढीलाई दुईछाक ख्वाएको दागबत्ति दिएको साटो सम्पत्ति चाहिने ?
     आजको परिवेशमा परिवार टुक्रिने सानो परिवारमा बस्दा श्रीमान्श्रीमती दुवै काममा जानुपर्ने कारण पनि ज्येष्ठ नागरिकहरू दिनभर एक्लो हुने गरेका छन्। साँझ जब उनीहरू थाकेर फर्किन्छन्, नियास्रिएका बूढाबूढीका समस्या सुन्न चाहँदैनन्, अनि सुरु हुन्छझर्कीफर्की। अझ बिरामी, कमजोर अशक्तहरूले पापै गरेझैं दुःख भोग्नुपर्ने हुन्छ। बिरामी हुँदा जाउलोसम्म पकाइदिने कोही नभएका घर पनि छन्।
     विदेश पलायन हुने चलन महाभूकम्पपछि ह्वात्तै बढेको छ। विदेश पढ्न गएकाहरू उतै अड्किन्छन्, केही महिना के विदेशमा टेक्यो, नेपाल फोहर, अवसर नभएको भन्दै फर्किन खोज्दैनन्। कतिपय बाध्यतावश कामका लागि खाडी मुलुकमा पसिना÷रगत बगाउन जान्छन्। उनीहरूका घरमा पनि बूढाबूढी एक्लिन थालेका छन्। बूढाबूढी दुवै भएका घरमा एकले अर्काको मुख हेरेर, आपसी सहयोग गरेर दिन बिताउँछन्, तर एकल वृद्ध या वृद्धाको अवस्था साह्रै दुःखदायी छ। यस्तै एक्लोपनाको असह्य पीडाले सन्तानको अपहेलनाबाट छटपटिएर होला, उनीहरू सडकमा आउन बाध्य भएका।
     मानव सेवा आश्रमका १२ वटै शाखामा जाने हो भने सडकबाट उठाएर ल्याइएका बाआमाहरू राख्ने ठाउँ नै छैन। ललितपुर शाखामा मात्रै हाल ५३ जना आश्रित छन्। एउटा घटना यस्तो भयो कि सडकबाट त्यहाँ ल्याइएका वृद्धको घर खोजतलास गरी उनका छोराहरूलाई लिन आउन पटकपटक अनुरोध गरियो। त्यतिबेला वास्ता गरेनन्। तर जब ती वृद्धको मृत्यु भयो, तब उनीहरू मेरो बाउ कसरी ¥यो भनेर केरकार गर्ने छोराछोरी पनि छन्, हाम्रो समाजमा। बूढाबूढीलाई गाउँबाट काठमाडौं ल्याएर बाटैमा तथा आश्रमछेउ छोडेर जाने पुत्रहरू पनि रहेको कुरा समाचारमा धेरै आइसकेका छन्।
     काठमाडौंमा हिजोआज दिवासेवा केन्द्र तथा आश्रम खुल्न थालेका छन्। जसरी आफ्ना बच्चालाई घरमा हेर्ने मान्छे भएन भने हामी पैसाको मतलब नगरी डेकेयर तथा स्कुलमा सुरक्षित तवरले राख्न लान्छौं, त्यसैगरी आमाबाबु हेर्न नभ्याएको अवस्थामा दिवासेवा केन्द्रसम्म पु¥याउनुपर्ने वा हेरालु राख्नुपर्ने कर्तव्यको पाठ कसले पढाउने ? सम्पत्तिको अंशमा अधिकार भन्न सक्ने सन्तानले सेवा गर्नुपर्ने कर्तव्य भने कमैले मात्र सिकेको देखिन्छ।
     घरमा बूढाबूढीलाई रुवाएर, वास्ता नगरेर उनीहरूले आफ्ना बच्चाहरूलाई पनि त्यही संस्कार सिकाइरहेका छन्। यसले भविष्यमा अझ  स्वार्थी समाजको र्सिजना हुने ठूलो डर छ।
     हुन ज्येष्ठ नागरिक पनि सबै सजिला कहाँ हुन्छन् ! उखानै गोरु बूढो भए भिर खोज्छ, मान्छे बूढो भए निहँु खोज्छ। बूढेसकालमा विभिन्न रोग, बिर्सिने बानी तथा नयाँ पुस्तासँगको वैचारिक मतभेदले गर्दा गनगन गर्ने हुन्छन्। जसले गर्दा अति व्यस्त छोराछोरीलाई दिक्क लाग्नु स्वाभाविकै हो। बूढाबूढी स्याहारेकालाई मात्र थाहा हुन्छउनीहरूलाई हेर्नु बच्चा हेर्नुभन्दा गाह्रो हुन्छ। सकेसम्म उनीहरूको जीवन सहज बनाइदिने प्रयास गर्नु सन्तानको जिम्मेवारी हो। हामी पनि अवश्य एकदिन बूढो हुन्छौं आफू त्यही अवस्थामा पुग्दा आफूलाई के कस्तो सेवा पाए हुन्थ्यो भन्ने कुराको कल्पना मात्र गर्ने हो भने पनि अहिलेका वृद्धहरूले अलि सुख पाउने थिए कि !
     अन्तमा, हामी, ज्येष्ठ नागरिकहरूको सुखद् अवस्था तथा राम्रो पारिवारिक हेरचाह सम्मान भएको समाज हेर्न चाहन्छौं भने समाजमा आफ्ना आमाबुवा तथा सासुससुरालाई देवता समान श्रद्धापूर्वक हेरविचार गर्ने छोराबुहारीहरूलाई कुनै सार्वजनिक कार्यक्रममा सम्मान गरी अरूलाई पनि अनुकरणका लागि उत्प्रेरित गर्नु आजको आवश्यकता हो।

Published on Nagarik National Daily dated 2019/09/20 Friday (Page - 7)

Wednesday, March 20, 2019

ललितपुरका एकल महिला: जीवन र संघर्ष

An Assessment of Socio-Economic Condition of Newar Single Women of Patan City, Lalitpur

https://www.facebook.com/shova.shakya.54

https://www.facebook.com/martinchautari/videos/2215799435347761/



Facebook live of the presentation at Martin Chautari on 2019 March 19 (2075 Chait 5)

Sunday, June 18, 2017

Dusty Kathmandu : Tortured Denizens

धुले काठमाडौं : बिनासित्तिको सजाय

'सर, मेरो श्रीमान्लाई ग्वार्को चोकमा ड्युटी नदिनूस्, बेलुकी उनी सासै फेर्न सक्दैनन्, सुत्नै गाह्रो हुन्छ'– एक ट्राफिक प्रहरीकी श्रीमतीले ट्राफिक इन्सपेक्टर सीताराम हाछेथुसमक्ष गरेकी अनुनय हो यो। त्यसपछि हाछेथुले ललितपुरमा ट्राफिकलाई पालैपालो ड्युटी स्पटको अदलीबदली गर्न थाले। तर पनि काठमाडौंमा धुलोरहित ठाउँ नै कहाँ छ र? घटी र बढीको कुरासम्म न हो।

हुन त धुलो र हिलो आजभोलि काठमाडौं उपत्यकाको पर्याय बनेको छ। यो पंक्तिकार एकछिनै भेट्न जाँदा हाछेथुको कार्यकक्ष सातदोबाटोमा चापागाउँ जाने बाटोका सर्वसाधारण बाटो बन्द गर्ने चेतावनी दिइरहेका थिए। कारण थियो– 'मेलम्चीको पाइप जडानको जिम्मा लिएको ठेकेदारले बाटो भत्कायो तर खाल्टा र धुलोप्रति मतलव नगरेकाले स्थानीयको दैनिकी कष्टकर बन्न पुग्यो।

हाछेथु पनि के कम, मेलम्ची खानेपानीका अधिकारीलाई तुरुन्तै फोन लगाए। अनि ह्यान्ड्स फ्रि गरेर वार्तालाप उपस्थितलाई सुनाउँदै बोले। जवाफ आयो कि पाइपलाइन जडान गरेर त्यो सडकको कालोपत्र निकालेपछि अब सडकको जिम्मेवारी विभागको हुन्छ, मेलम्चीको हैन। त्यसपछि उनले फेरि तुरुन्तै सडकका अधिकारीलाई फोन लगाए। उताबाट जवाफ आयो कि मेलम्ची खानेपानीका ठेकेदारले नै आफूले पारेको खाल्डो पुर्नुपर्छ। यसरी जिम्मेवार सेवाप्रदायक निकायले नै एकले अर्कोलाई औंला तेर्स्याउँदै जिम्मेवारी पन्छाएपछि मलगायत त्यहाँ उपस्थितसँग वाल्ल पर्नुको विकल्पै भएन। ग्वार्को, सातदोबाटो, चक्रपथ, कलंकी, एकान्तकुना, जमल, बानेेश्वर, चावहिल आदि त केही उदाहरणमात्र हुन्।

श्वास/प्रश्वासका बिरामी, बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा धुलोले कस्तो असर पार्ला? अनुमानै पनि कहालिलाग्दो हुन्छ। अर्कोतिर त्यस्ता ठाउँमा दिनभर खडा भई ड्युटी गर्न बाध्य ट्राफिक प्रहरीको त कुरै गर्दा पनि जीउ नै सिरिंग हुन्छ। जसले छिनछिनमा सिट्टी बजउनुपर्नाले मास्कसमेत राम्ररी लगाउन पाउँदैनन्। अहिले राजधानीबासीले भोगिरहेका कहालीलाग्दो अवस्था यही हो।

पानी नभएर काकाकुल भएको उपत्यकाबासीलाई मेलम्चीबाट ल्याउने पानी केवल दन्त्य कथा जस्तो लागेको थियो। पाइप बिछ्याउने काम त भयो तर 'कागलाई बेल पाक्यो, हर्ष न विस्मात्' भनेझैं हुन पुगेको छ। बस्ती बस्तीपिच्छे चोक, बाटो, गल्ली, सडक खनेर राम्ररी नपुरेको खाल्डाखुल्डीले नसताएको व्यक्ति नै छैन। पुरेको ठाउँमा पनि जथाभावीतवरले झारा तिर्ने काम गरिएका कारण पूरै सहर कुरूप बन्न पुगेको छ। धुलोको मापदण्ड डब्ल्युएचओका अनुसार २५ पिएम र नेपाल सरकारका अनुसार ४० पिएम हो तर उपत्यकामा कुनै दिन १८० पिएमसम्म धूलो उडेको तत्थ्यांकले देखाएको छ। यो भनेको मानव स्वास्थ्यका लागि अति हानिकारक परिस्थिति हो।

अलि पानी पर्‍यो भने अब त धुलो उड्दैन कि भन्ने लाग्छ तर सडक गल्ली हिलाम्य भएर, ढल फुटेर झन् सास्ती। अलि बाटो सुक्ने हो भने फेरि धूलोकै फन्दामा। यस्तो अवस्थामा सम्बन्धित निकायलाई पेच कस्ने जिम्मेवारी कसको? के आफूले भत्काएको सडक जस्ताको जस्तै पार्नुपर्दैन भत्काउनेले? दुई महिनामा सम्पूर्ण सडक बनाउने मेलम्ची आयोजनाको प्रतिबद्धता कता गयो? प्रतिबद्धता पूरा गर्न नसक्नेलाई ख्वै कारबाही गर्न सकेको? उनीहरूका कमजोरी र लापरबाहीको सिकारचाहिँ किन सर्वसाधारण हुनुपर्ने? अहिले धुलोको आतंकबाट पीडित सबै नेपालीले खाजेको उत्तर यही हो।


This article was published in Nagarik Daily dated 2017 June 15 (2074/03/01).

http://www.nagariknews.com/news/21892/

Tuesday, September 6, 2016

पहाडी मरुभूमि पकरबास

पहाडी मरुभूमि पकरबास


“पकरबासमा पिउने पानी माग्दा पनि धमिलो पानी दिन्छन्, त्यस्तो पानी भनी नखाई फ्याँकेमा उनीहरू कस्तो रिसाउँछन् ।” गौरी बजगाईं, टेवाका स्वयं सेवक बताउँदै थिइन् । पिउनलाई पानी माग्दा पनि धमिलो पानी दिने, फेरि फ्याँकेमा रिसाउने कस्तो अचम्म ?

हामी चढेको टाटासुमो रामेछाप जिल्लाको मन्थलीबाट तामाकोशी पुल तरेपछि बिस्तारै उकालो चढ्न थाल्यो । पूरै कच्ची बाटो तर अघिल्लो रातमा परेको ठूलो झरीले बाटो शान्त र धूलो नउड्ने भएको थियो । खोला भने अलि बढेर धमिलो पानी बग्दै थियो ।

टाटासुमो जति जति डाँडो उक्लिन थाल्यो पारीपट्टी जापानी सहयोगमा बनेको बीपी राजमार्गको नागबेली बाटो बडो सुन्दर देखिन्थ्यो । वरिपरी सुन्दर तथा मनमोहक प्राकृतिक दृश्य हेर्दै अलिमाथि पुग्दा सल्लाको वन आउन थाल्यो । गाडीमा सवार स्थानीय सहयात्रीहरू भन्न थाले “सल्लाको बन भएको ठाउँमा त्यसै त सुख्खा हुन्छ रे त्यसमाथि थोरै थोरै भएपनि पानी जम्ने मुहान पनि भूकम्पपछि सुक्यो ।” त्यसपछि त सिंगै पकरबास गाविस काकाकुल बनेको रहेछ । 

हामी पुगेको दिन गाउँमा निकै खुशियाली छाएको देखियो । बगरजस्तै ढुंगैढुंगा भएको बारीमा गाउँलेहरू बिहानैदेखि मकै छर्नका लागि गोरु जोत्नमा व्यस्त देखिए । त्यो गाउँका निराजन ढुंगेल भन्दै थिए “पानी परेपछि सबैलाई गोरु जोत्नकै हतारो, आफ्नो हलगोरु नहुनेले अरुको गोरुको पालो पर्खिंदासम्म त बारी नै सुकीसक्ने भो ।” सबै गाउँलेले बारी ओसिलो छँदै मकै छर्ने काम नभ्याइएला भन्ने चिन्ता लागेको थियो उनलाई । 

सबैले आ–आफ्नो बलेंसीमा घरमा भएभरको भाँडा थापेर रातभर पानी जम्मा गरेका रहेछन् । त्यहाँका महिला भन्दै थिए – कि डेढदेखि दुई घण्टा तल झरेर मुहानमा लाइन बसी पानी थाप्नु पर्छ कि अझ तल झरी खोलाको धमिलो पानी बोकी उकालो लाग्नु पर्छ । सबैलाई गाग्री, ग्यालेन डोकोमा बोकी हिंडेको देखियो । यसले गर्दा “जे होस्, जस्तै होस् पानी भए पुग्छ” भन्नमा बाध्य छन् पकरबासका स्थानीयहरू । उनीहरूले खान दिएको पानी आगन्तुकले धमिलो भनी फ्याँकेमा उनीहरू त्यत्रो दुःख गरी ल्याएको पानी तिमीहरूले नखाने हो भने हामी त खान्थ्यौं नि, किन फ्याँकेको भनी रिसाउँदा रहेछन् । अब बल्ल बुझियो यस्को कारण । भरखर त्यस गाउँमा पुगेकालाई त्यहाँको दुःख के थाहा ? त्यो दिन गाउँलेहरूलाई खानेपानी मात्र बोके पुग्ने भएको थियो पानी परेकोले ।

प्रयागेश्वर उच्च माध्यामिक विद्यालय पुग्दा देखियो, रातिको झरीले विद्यार्थीहरूमा ल्याएको खुशी । एक हुल विद्यार्थी आइपुगे र विद्यालय प्रांगणमा रातीको वर्षाको पानी जम्मा गरेका साना साना ग्यालिनहरू हल्लाउँदै हेरे, भरीभराउ ड्रमहरू देखे – एक्कासी उनीहरूको अनुहारमा खुशी तरंगीत भएको प्रष्टै पढिरहेकी थिएँ । “ओहो आज त सबै भाँडा टन्न भरिएछ” भन्दै उफ्रिँदै गए । तर यो पंक्तिकारलाई लाग्यो – विद्यालयमा पनि राती आएर त्यत्तिका भाँडामा टन्नै पानी कसले भरे होलान् ? कस्तो जाँगर या बाध्यता !

गाउँलेहरू त्यस रातिको पानी तीन चार दिनलाई पुग्ने भयो भनी ढुक्क देखिन्थे । बस्तुभाउ, भाँडावर्तन, लुगाधुने, चर्पि आदिका लागि ओहो कत्ति काममा प्रयोग गर्न सजिलो भयो । “कस्तो पानी मतलब छैन तर पानी भए पुग्छ” को अवस्थाबाट गुज्रिएको त्यस गाउँ डुल्दाडुल्दै फेरि आकाशमा बादल छाउन थाल्यो । घाम फिक्का हुन थालेपछि उनीहरूमा चिन्ता बढ्न थाल्यो । नयाँ ठाउँमा त्यो चाला देखेर फेरि अर्को अचम्म ! केहीबेर अघि त्यही पानीले खुशी देखिएकाहरू तुरुन्तै पीर गर्न थाल्नुको कारण पछि बल्ल बुझें । “आज फेरी पानी प¥यो भने केमा राख्ने पानी ? बरु दुई चार दिन पछि परेको भए भाँडो रित्तिन्थ्यो र पानी भर्न पाइन्थ्यो ।” पानी परे पनि चिन्ता, नपरे पनि चिन्ता !

पानी पर्नु मात्र पर्छ, के भोक के निन्द्रा गरी पानी थाप्न नकस्सिने हो भने फेरि त्यहि दुई घण्टा तलदेखि पानी बोक्नुको अर्को बिकल्प छैन । “गाउँमा पानीको व्यवस्था गरीदिने त भगवानै होलान् !” एक वृद्धा भन्छिन् । पिउने पानीको त यस्तो दुःख हुने ठाउँका चर्पिहरूमा के अवस्था होला भन्ने लाग्यो ।

विद्यालयमा छात्राहरूसँग एकछिन कुरा गर्दा विशेषतः महिनावारीको बेलामा धेरै दुःख पाउने बताए । त्यहाँका प्रधानाध्यापक हरि नारायण श्रेष्ठ बताउँदै थिए “हामीलाई आकाशे पानी संकलन गर्न ट्यांकी मात्र भएपनि सहयोग गर्नेहरू कोही भए शौचालयका लागि धेरै सुविधा हुने थियो ।” करिब ५०० जना विद्यार्थी संख्या भएको त्यस विद्यालयमा पुराना शौचालयका साथै भूकम्पपछि सेभ द चिल्ड्रेनले बनाई दिएको शौचालय पनि छन्, तर त्यहाँ समस्या देखियो पानीको । दिशा गर्दा त कागज वा ढुंगाले काम टर्छ तर महिनावारी हुँदा के ले पखाल्ने ? 

हुन त काठमाडौं भmन काकाकुल ठाउँ हो, तर यहाँ पैसा भयो भने पानी किन्न पाइन्छ । ट्यांकरले घरघर पु¥याइदिन्छन् । तर पकरबासमा कस्ले पु¥याउला ? त्यहाँका युवा बताउँछन् – यहाँ गाउँबाट विस्थापित हुनु बाहेक अरू कुनै विकल्प छैन अहिले । भूकम्पपछि धेरै दातृ निकायहरू नेपाल ओइरिएका छन्, यो पक्का हो । तर यस्ता अति विकट ठाउँमा पुगेर सहयोग गर्न सक्ने कोही छन् त ? 

भरखरै खानेपानी तथा सरसफाई मन्त्रालयले तीन वर्ष भित्रमा प्रत्येकको घरघरमा पानी भन्ने नाराका साथ “एक घर एक धारा” को कार्यक्रम बन्ने कुरा मन्त्रालयका प्रवक्ताले उद्घोष गरेका छन् । त्यसो त पानीलाई जिन्दगानी भनिन्छ । यस्तो महत्वपूर्ण पानीका समस्यालाई झेलेर ३ वर्षसम्म कुर्ने या मेलम्ची जस्तै “आकाशको फल” पो हुने हो की ? जे होस् ठूला योजना शुरु गर्न कि त सरकारको सहयोग चाहियो कि त दातृसंस्थाको । ठूला ठूला आइएनजिओको आँखाले अति विकट गाउँ देखेनन्, या देखेर पनि अन्देखा गरिरहेका छन्, या सुगम ठाउँमा मात्र काम गरेर प्रतिवेदन तयार गर्न खोजिरहेका छन् ? पहाडको मरुभूमि पकरबास गाविसले मै हुँ भन्ने र यस्ता दातृसंस्थालाई खुलेआम ठाडै चुनौति दिइरहेको छ ।


शोभा शाक्य
shakya_shova1@hotmail.com
June 2016

(Unpublished article)

Sunday, May 29, 2016

Singhadurbar & Shyaal



सिंहदरबार  स्याल

  • बिहीबार १३ जेष्ठ, २०७३
  • शोभा शाक्य

  • 1

(0 votes)
आफू परियो विकासे कार्यकर्ता । त्यही रहरले मलाई डोहोर्यायो सिन्धुपाल्चोक । त्यहाँ विकास गर्ने भनी "माकःफुईं" (बाँदरको फूर्ति) गर्दै हिँडेकी मैले सिंहदरबार छिर्ने सपना पनि देखेकी थिइनँ तर त्यहाँ नपुगी पनि नहुने ! भूकम्पपछिको विकास सिंहदरबारतिर छिरेको चाल पाएपछि विकासको स्वीकृति लिन एक दिन म पुनर्निर्माण प्राधिकरण कार्यालय पुगेँ ।सिंहदरबार छिर्नुअघि आफ्नो परिचय खुलाउन कुनै कागजात चाहिन्छ भन्ने मात्र थाहा थियो । कस्सिएर गएँ, सिंहदरबार गेट । ओहो, त्यहाँको रमिता ! पास लिनेको भीड ! सबैलाई विद्युतीय स्क्रीनमा आफ्नो नाम हेर्न आतुर, कोही फलाना नामको पास भन्दै कराउँदै थिए । गेटबाट छिर्न पास चाहिने रहेछ । अझ अचम्मको कुरा त दरबार भित्रका कुनै एक कर्मचारीले सिफारिस गरेपछि मात्र नाम आउने कुराले केहीबेर मलाई सालिक बनायो । केहीबेर त्यो रमिता हेर्दै सोचेँ, यो सिंहदरबार हो कि राजदरबार ? आफ्नो त कोही चिनेको छैन त्यहाँ । अब परेन फसाद ? करिब दुई घण्टा त्यहाँको दृश्य गम्दै अचम्मित भएँ । फेरि सोचेँ, म त काठमाडौंकी पढेलेखेकी महिला, गैससहरूमा काम गरेको अनुभवको थोरै भएपनि आत्माभिमान भएको मान्छे त त्यहाँ पुग्दा निरीह भै लुत्रुक्क परेँ भने दुर्गमका गाउँबाट आफ्ना समस्या वा विकासका लागि अनुरोध र सोच लिएर आउने त्यहाँ छिर्ने सम्भावना होला ? वास्तवमा मन्त्रालय भनेको त सर्वसाधारणको आवाज पुग्नुपर्ने, पहुँच हुनुपर्ने अड्डा होइन र ?

पछि एउटा युवकले धेरैबेर मलाई त्यहाँ पसिना–पसिना भएको देखेपछि मेरो सामुन्ने आएर सोधे । दरबारभित्र मेरो कोही चिनेको कर्मचारी नभएको बताएपछि उनैले आफ्नो परिचय दिँदै भने, 'मेरो नाम विवेक हो, मेरोसँगै तपाईंको नाम पनि सिफारिसका लागि पठाउँछु ल !'

खैर, मेरो काम प्राधिकरणमा हो तर पनि अरु मन्त्रालयको नाममै भए पनि पास आउने पक्का भयो । खुसीले गमक्क भएँ । तर यो गमक्कपन धेरैबेर रहिरहेन । पास कुर्दाकुर्दा हैरान ! विचरा विवेक घरी झ्यालमा हेर्न जान्छ त घरी स्क्रिनमा नाम आयो कि भनेर हेर्छ । कतिपटक त भित्रका सरलाई असहाय पारामा फोन गरिरहेको पनि देखेँ ।

म पनि बिस्तारै पास लिने झ्यालमा हेर्न गएँ । आफ्नो नाम आयो भनी सोधेँ ? त्यहाँका सुरक्षाकर्मीले वास्तै गरेनन्, सायद उनीहरूले नेपाली बुझेनन् वा मेरो बोली प्रष्ट थिएन, थाहा भएन । तीन पटक सोधेपछि बल्ल झर्केर भने, 'बाहिर स्क्रिनमा आयो भने मात्र आउँछ ।' तर स्क्रिनमा नआएपनि हाम्रो नाम भित्र आइसकेको रहेछ । बल्लबल्ल पास हात परेपछि दुवै जनाले लामो सास फे¥यौं, ठूलै रकमको चिठ्ठा जितेझैं गर्व लाग्यो ।

अब भने म लुरीको पनि विशाल सिंहदरबार छिर्ने महान् अवसर आयो । झोला जँचाएर भित्र गएँ । सिंहदरबारभित्र साइनबोर्ड नै साइनबोर्ड, नयाँनयाँ मन्त्रालय । तर पुरानो राणकालीन भवनहरूले मेरा आँखा तानिरहे । पुराना भवनसँगै जोरी खोज्दै ठडिएका नयाँ कंक्रिटका भवन त पटक्कै नसुहाएको, छ्या !

खोज्दाखोज्दा बल्ल प्राधिकरण भएको दरबार भेट्टाइयो । दरबारमा परेवाका बिष्टाले टन्नै सजावट । कत्ति ठूलो दरबार ! बीचमा ठूलो चोक, मनमोहक डिजाइन । पहिलाका राणजीहरू कसरी त्यहाँ घाम ताप्थे होला भन्ने दृश्य कल्पना गरें । लाग्यो राणाजीहरूले त्यति नबनाउँदा हुन् त अहिले हामीले केमा नाक ठड्याउँथ्यौँ, कुन्नी ?

कोठैपिच्छे नयाँ पर्दा, नयाँ नेमप्लेटहरू, छुट्याइएका कोठामा नयाँ फर्निचर, सोफा आदि देखेपछि लाग्यो त्यहाँ काम गर्ने कर्मचारी त राणाभन्दा कम भाग्यमानी होइनन् । बोर्डैपिच्छे सचिव, उपसचिवका नाम पढ्न पाइने तर सबै "बाहिर" । विवेकले मलाई डुलाइरहेको थियो । कोही पनि भेट नभएको स्थिति थियो । सिट खाली खाली, पेन्टरले नेमप्लेटमा "भित्र" भन्ने शब्द पेन्ट गर्नै बिर्सेको हो कि जस्तो ! साना कारिन्दा मात्र भेटिए जसलाई "थाहा छैन"बाहेक केही थाहा नहुने !

बल्लतल्ल एक शाखा अधिकृत भेटिए । उनले मेरा सबै जिज्ञासा मेटाइदिए । उनको फरासिलो व्यवहार र सूचना दिने शैली यी दुवै मन परेकाले उनलाई दुईपटक धन्यवाद दिएँ । एउटा पत्र बुझाउन पनि यताबाट उता, त्यहाँबाट अर्को कोठा होला भन्दै तिनले घुमाए । शायद त्यहाँको नयाँ 'साजसज्जा' देखाउनलाई नै नयाँ मान्छेहरूलाई यसरी यताबाट उता जाउ भनी जानाजान घुमाउने चलन होला !

सिंहदरबारभित्र घन्टौं घुमेर निस्केपछि झोलाको भारी, गर्मी, थकान, भोक, प्यास एक्कैसाथ उर्लेर सतायो । पुनः त्यहाँका सुन्दर पुराना भवनहरूलाई नियाल्दै गेटबाट बाहिरिएँ । जीवनमा पहिलो पटक सिंहदरबार छिर्ने हिम्मत गरेर लखतरान भएकी म विचरी लुरी स्याल !

- See more at: http://www.nagariknews.com/opinion/story/74350.html#sthash.wywJAxi5.dpuf

Friday, May 13, 2016

सरकारी नीतिको गति (The Condition of Government's Policy)

18 Apr 2016

  • सोमबार ६ बैशाख, २०७३ (Nagarik Daily)
  • शोभा शाक्य
  • Be the first to comment!
 18  1 Google +0  0  2
(0 votes)
महाभूकम्पबाट अकल्पनीय क्षती भएको एक वर्ष पूरा हुन लागिसकेका बेला इपिसेन्टर क्षेत्रमा खासै कार्यक्रमहरू सुरु गर्न/गराउन नसकेर हाल दातृसंस्था र स्थानीय जनता आत्तिन थालेको अवस्था आएको छ।
सिन्धुपाल्चोक जिल्लाको फुल्पिङकोट गाविस जहाँ एउटा घर बचेन, भएका एघारवटै सामुदायिक स्कुलका भवन भत्किए। वर्ल्डभिजन र युनिसेफले भूकम्पलगत्तै बनाइदिएको अस्थायी सिकाइ केन्द्र (टीएलसी)मा त्यहाँका विद्यार्थीले गर्मी र जाडो त काटे। अब हावाहुरीको मौसम सुरु भएको छ। गत फागुनको अन्त्यमा र चैतमा आएको हुरीले केही टहराको छाना र स्कुलका टिएलसीमा क्षति पुर्यारइसकेको छ। च्यानडाँडा प्राथमिक विद्यालयकी प्रधानाध्यापक विणा गुरुङ भन्छिन्– पोहोरपरारभन्दा यो साल हुरीबतासले बढी सताएको छ। दिनहुँ टिएलसीकै पीर छ। पक्की भवन बन्ने कहिले?

फुल्पिङकोटमा भूकम्पपछि एक दुई जनाले बाहेक अरुले नयाँ घर बनाउने आँट गरेका छैनन्। पराकम्पनले पनि अझै सिन्धुपाल्चोकलाई छाड्न खोजेको छैन। टहरोमा बस्ने र टिएलसीमा अध्ययन अध्यापन गर्नेको पीडा पनि उत्तिकै बढेको छ। गाउँलेमा 'ढुंगाको घर बलियो हुँदैन, भूकम्पले भत्काउँछ' भन्ने मानसिकताले जरो गाडेको छ। यस्तो अवस्थामा स्थानीय डकर्मी जो छिमेकी गाउँमा वा काठमाडौंमा काम गर्ने मौका पाएका छन्, उनीहरूले, सबै डकर्मीले भूकम्प प्रतिरोधी भवन निर्माणको तालिम लिनैपर्ने महसुस गरेका छन्। तर कहाँ गएर तालिम लिने उनीहरूलाई थाहा छैन। गत महिना एउटा गैससले त्यहाँ डकर्मीलाई भूकम्प प्रतिरोधी भवन बनाउने तालिम चलाउने पहल गरेकामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सहरी विकास तथा भवन निर्माण विभागको आ–आफ्नो कार्यक्षेत्र र अधिकार आफैँमा प्रष्ट नभएको अवस्थामा तालिम सञ्चालनको स्वीकृति लिन नसकेको गुनासो आएको छ।


तालिमको कुरामात्र नभई विद्यालयका भत्किएका भवन पुनर्निर्माणका कुरा गरौं। शिक्षा विभागमा दातृसंस्थाका सहयोगमा विद्यालय भवन बनाइदिनका लागि दर्जनौं निवेदन गत पुस महिनादेखि नै चाङ लागेका छन्। विभागका अनुसार गत मंसिर मसान्तसम्म मात्र विद्यालय भवन निर्माण आयोजनाको स्वीकृति दिने अधिकार विभागलाई थियो। तर त्यो बेला देशको अनिश्चितकालीन नाकाबन्दीको स्थितिले केही संघसंस्था आफ्ना कार्यक्रम अघि बढाउन हच्केका यथार्थ पनि नभएको होइन। केही संस्थाका पुसदेखिका निवेदन स्थगित भएर जम्मा भएकामा बल्ल गतसाता मात्र मन्त्रालय सरेको सूचना आएको छ। ती निवेदन त्यहाँबाट अझै कतिवटा शाखा पार गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा जानुपर्ने हो र त्यस प्रक्रियाका लागि कति समय लाग्ने हो भन्ने टुंगो छैन। यस प्रक्रियालाई कति समय लाग्छ भनी जुनै टेबलमा सोधे पनि एउटै उत्तर 'हामी कहाँ भन्न सक्छौं र?' आउने गर्छ। त्यसैले पुनर्निर्माणका लागि सरकारले यथाशीघ्र प्रष्टरूपमा नीति बनाइदिएर स्वस्फूर्तरूपमा सहयोगी हात बढाउन चाहेका दातृ संस्थाहरूलाई अनावश्यक झन्झट र निरुत्साहित हुनबाट रोक्न जरुरी देखिन्छ भने सम्बन्धित निकायले पनि जिम्मेवारीपूवर्क आफ्नो योजना अघि बढाउनका लागि दातृसंस्थालाई सकेसम्म सहज र प्रेरणादायी वातावरण मिलाइदिनु आवश्यक छ।
- See more at: http://www.nagariknews.com/opinion/story/66871.html#sthash.dxNPAegJ.dpuf