Thursday, September 18, 2014

When we reached to Gothigaun

गोठीगाउँ पुग्दा

                                                                                                                                           –    शोभा शाक्य

जुम्ला आएदेखि गोठीचौरको बयान सुनेकी थिएँ । त्यहाँको लेक, चरण, डाँडा, खोला, आदिको प्राकृतिक सौन्दर्य लुट्न र त्यहाँ प्रसस्त पाइने दूध, दही, खीर खानका लागि सहकर्मी साथीहरू सबै उत्साहित थिए । तुरुन्तै महिला सशक्तिकरण तथा जीविकोपार्जन सुधार कार्यक्रमको एउटा तालिम त्यहिं गएर गर्ने निधो भयो “एक पन्थ तीन काज” । तीन साता अघिको कुरा हो, खलंगा बजारबाट दानसाँघु हुँदै अघि बढेदेखि हामी सबै ब्यग्र, एकले अर्कालाई सहयोग गर्ने, ख्याल गर्ने, बाटामा पाइएका स्याउ, मकै, काँक्रो, पानी आदिको उपभोग गर्दै, दायाँ बायाँ देखिएका सुन्दरतामा आफूलाई समाहित गर्दै क्यामेरामा कैद गर्दै साँझमा गोठीचौर पुग्यौंं । त्यहाँका मनोरम दृश्यले हामी सबैलाई पागल बनाएको थियो । गल्फकोर्ट जस्तै देखिने त्यो उपत्यकाको चरणमा किरा जस्ता देखिएका चौपाया हुन भनेर विश्वास गर्न हामीलाई गाह्रो भैरहेको थियो । हामी सबैले आ–आपूmलाई त्यहाँ पुग्न पाएकोमा भाग्यमानी ठान्यौं र भन्यौं यो मौसममा जुम्ला पुग्ने जोकोही त्यहाँ एक पटक पुग्नै पर्ने रहेछ ।

तालिम अवधि भर विशेष गरी दहिच्यूरा, खीर, तरकारी, दूध आदि धेरै खायौं । तालिम सकेपछि दुई समूहमा बाँडिने निर्णय भयो र बिहान सबेरै एक समूह गर्जाङ्गकोटको बाटो फर्किए र अर्को समूह गोठीचौर गाविसको गोठीगाउँ, बैसनी हुँदै डिल्लाीचौरको लासी तर्फ लाग्यौं । गोठीचौरबाट त्यस रुटमा हिंड्ने हामी सबै नयाँ थियौं । भेंडा फारामबाट ओरालो लाग्ने बित्तिकै गोठीचौरका डाँडाहरूबाट झरेका पानी, खोला, जंगलका मनोरम दृश्य हेर्दै हामी गोठीगाउँ निर पुग्यौं । गाउँ छिर्ने बाटो आउन थालेपछि फोहर बाटो जताततै दिशा देखिन थाल्यो “यो त खुल्ला दिशायुक्त क्षेत्र रहेछ” भन्दै हिंड्यौं । झन झन गाउँ छिर्न थालेपछि बढी फोहर देखियो “गु आयो गाउँ आयो” भनेको साँच्चै हो रहेछ । त्यहाँ अरु बिकल्प पनि थिएन हामीसँग । त्यसै रातभरी परेको पानीले त झन हेर्नै घिन लाग्दो भएको थियो । बाटो नहेरी हिंड्न पनि मिलेन कुल्चिएला भन्ने डर, हेरेर हिंड्दा झन बढी घिन हुने । नथुकुं भन्दा पनि नसकिने । थुक्दा थुक्दा घाँटी नै सुक्यो सबैको ।

गोठीगाउँ भित्र छिरेपछि झन बिजोग शुरु भयो । झरीले हिलै रहेको बाटो त्यसमा पनि वस्तुको, मान्छेको गोबरमा पानी परेपछि छरिएर, कुल्चिएर छ्यालबिछ्याको अवस्था । खुट्टै टेक्न नमिल्ने गाडिन्थ्यो । त्यस्तोमा पनि बच्चाहरू बिना जुत्ता हिंडेका । बिहानैदेखि केही पुरुष गाउँलेहरू खुट्टा लर्खराउँदै हिंडेका, कसरी जिउ र खुट्टा सन्तुलनमा राखे होलान् ?

गोठीगाउँ छिचोल्ने बित्तिकै काठमाडौंबाट आउनुभएका एकजना सरलाई घिनले भित्रै पेटदेखि निमोठेर बान्ता गरायो । भर्खरै हिंडेको बाटो देखेर बान्ता भएको हो ठीक भैहाल्छ भन्ने सोच्यौं, विस्तारै उहाँलाई डो¥याउँदै अगाडि बढ्यौं । तर बान्ता रोकिएन । त्यसपछि उहाँलाई ब्लडप्रेसर पनि भएको हुनाले बैसनि चढ्ने ठाडो उकालो नलगी गर्जाङ्गकोटको बाटोबाट फर्किएका साथिहरूसँग फोन सम्पर्क गरी उतैतिर फर्काउने सल्लाह भयो । तुरुन्तै अर्को टोलीका कमल खत्रीले मोटरसाइकल झिकाए र अप्ठेरो बाटोसम्म लिनका लागि आफै कुदे । हामी दिल्लीचौरको बाटो समाउनेहरू पनि उहाँको बान्ता नरोकिएकोमा निकै चिन्तामा हिंड्यौं । करिब १५ पटक बान्त गरेको सिथिल शरीरले मोटरसाइकल नभेटिउञ्जेल धेरै दुःख खेप्नु प¥यो । साधन पाएपछि  विस्तारै होटल पुगेर प्रसस्त पानी खाँदा बल्ल ठीक भयो । कमजोर त बनायो तर अरु कुनै समस्या भएन । गोठीचौरको अघिल्लो दिनको रमाइलो एकैपलमा धुमिल्याइदियो गोठीगाउँ छिर्नाले । एक दर्जन मिलाएर हिंडेका टोली सबैको त्यो दिन पूरै दुःख र चिन्तामय बन्यो ।

नयाँ आगन्तुकहरू फोहर गाउँ देख्दा तुरुन्तै विरामी भएको सुनेर स्थनीय बासिन्दालाई लाग्न सक्छ – हामी पहिलेदेखि त्यस्तै ठाउँमा हुर्कियौं । तर फोहर भनेको राम्रो कुरा होइन, स्वास्थ्य तथा खानपिन आदि हरेक हिसाबले त्यहाँका बालबच्चा, विरामी, बृद्धाहरूलाई सजिलै असर गर्न सक्छ । बिरामी परेर औषधी खानु भन्दा सफा ठाउँमा बसेर स्वस्थ हुनु उत्तम । भनिन्छ, सफा ठाउँमा देवताले बास गर्छन् । हामीले रेडियो, टिभी, सिनेमा आदिमा सुने देखेको जस्तै आफ्नो गाउँ, ठाउँ सफा र सुन्दर बनाउने हो भने पर्यटकको के कमी जुम्लामा ?


(यो लेख, जुम्लाबाट प्रकाशित पहिलो स्थानीय दैनिक पत्रिका “कर्णाली सरोकार” २०७१ असोज १ बुधवार (२०१४ सेप्टेम्वर १७) पृष्ठ २ मा प्रकाशित हो ।)

Tuesday, September 16, 2014

Delicious Apple, Sour Feeling in Jumla

जुम्लामा मीठो स्याउ, अमिलो मन

शुक्रवारको दिन डेरामा फर्कंदा घरपेटीको छोरा, उनी जुम्लाको मेरो सानो साथी, पारसले आफ्नो स्याउको बगैंचाको वारे कुरा गर्दैथियो । मैले तत्कालै उनलाई भोली बिहानै उसको स्याउ बगैंचा घुम्न जाने प्रस्ताव राखें, हाम्रो योजना तुरुन्तै बन्यो ।

शनिवारको दिन बिहान साढे छ बजे नै मेरो सानो साथी पारस र म चिया खाएर बगैंचा जाने बाटो समायौं । बाटोमा हिलो होला भनी दुबैले गमबुट लगाएका थियौं । बगैंचा हेर्ने मनमा अनेक उत्ताल तरंग र स्याउ आफै टिपेर खाने लालसाका साथ मालाभिडदेखि ठाडो उकालो चढ्न थाल्यौं । मलाई पारसको पाइला भेट्टाउन मुस्किल भैरहेको थियो । नाङ्गो डाँडोको त्यो उकालोमा नाकबाट मात्र नभ्याएर सास छिटोछिटो मुखबाट भित्रबाहिर गर्न थालेको थियो । तरै पनि बीच बीचमा धेरै पटक रोकिएर सासलाई निकास दिनुप¥यो । यहीबेला पछाडि फर्केर हेर्दा खलङ्गा बजार, तिला खोला, एअरपोर्ट, डाँडाहरू साह्रै सुन्दर देखिएका थिए । त्यहिं बसेर हेरिरहुँ जस्तो ।

नाङ्गो डाँडो छिचोले पछि सल्लाको जंगल भित्र छि¥यौं । म भने बाटोमा भेटेजति स्याउको भारी लिएर फर्केका महिलासँग बोल्दै गएँ । पारसका सबै आफन्तको उतैतिर बर्गैंचा र जग्गा रहेछ । उनी भेटेका महिलाको साइनो देखाउँदै जान थाले । माथि बगैंचाबाट तल झर्नेमा केटाहरू २ – ४ जना मात्र खाली थिए बाँकी सबै महिला, युवती तथा साना नानीसँग आफूभन्दा ठूला भारी थिए । बिहान ७ बज्दा ८० किलो जतिको स्याउ टिपेर, भारी बनाएर तल झरिसकेकाहरू कति बेला उठेर गएका होलान् ? जुम्लामा गरीखाने महिला एकजना पनि मोटोघाटो देखिन । मात्र ४० – ४५ किलोका महिलाले आफूभन्दा ठूलो ८० किलोको भारी कसरी बोक्न सके ? अचम्म लाग्यो । त्यो पनि ठाडो ओरालो त्यत्रो भारीले थिच्ने गरी कसरी झरे होलान् ? जिउ नै सिरिङ्ग भयो । फेरि अँध्यारैमा जंगल जाँदा विशेषगरी नानी तथा युवती कत्तिको सुरक्षित हुन्छ होला भन्ने मनमा लागिरह्यो । विस्तारै पारसलाई सोधें यहाँ –डरलाग्दो हुँदैन ? उसले बाल सुलभ हिसाबले सहजै उत्तर दिए – यहाँ कहिले काहिं भालु आउँछ अरु डर हुँदैन । मलाई लाग्यो– महिलालाई जनावरको भन्दा ठूलो डर त राक्षस स्वभावका मान्छेको पो हुन्छ भन्ने कुरा पारसले कहिले बुझ्ला ? अनि चुपचाप उनलाई पछ्याएँ ।

पछि थाहा पाएँ महिलाको महिनावारी हुँदा २ दिनसम्म फलपूmको बोट छुन नहुने रहेछ, बिरुवा तथा रुख सुक्ला भनेर । त्यसैले त्यो बेला केटाहरू वा साथीहरूले फल टिपी दिंदा रहेछन् तर महिनावारी हुँदा भारी भने बोक्न हुँदोरहेछ । स्याउ टिप्न गएका केटाहरू पनि भारी बोक्दा अरुले गिज्याउँछन् भनेर खाली फर्किएको देखेर गाली पनि गरें । शनिवारको दिन त फुर्सदका केटाहरू २ – ४ जना मिलेर सँगै भारी बनाएर महिलालाई सहयोग गर्ने हो भने त अरुले पनि गर्न थाल्थे । यो मौसममा खलंगाबाट जुनै दिशातिर लागे पनि स्याउका ठूला ठूला भारी बोकेका महिला मात्र भेटिन्छन् । लाग्छ– जुम्लामा पुरुषनै छैनन् अथवा महिलाले झैं पुरुषमा ८० किलो भारी बोक्ने बर्कत पो छैन की ।

हामी माथी लाग्दै गयौं, डाँडाको माथी सानो चौर जस्तो मजाको ठाउँ आयो त्यसलाई “घामताप्ने” भन्दो रहेछ, शायद जाडोमा त्यहाँ घामताप्ने गर्छन् होला । डेढघण्टा हिंडेपछि बल्ल “मेलखाने” पुग्यौं जहाँ पारसको बगैंचा छ । त्यहाँ स्याउ फलेको देखेर मेरो त आँखा ठूलो भै सासै अड्कियो, रुखबाट लगातार ४ दाना स्याउ टिपेर खाएँ, पेटै भरियो । बोटले थाम्नै नसकेर भुईंमा लत्रेको रातै स्याउको बुटाहरू देखेर यती खुशी लाग्यो कि काठमाडौंका परिवार, साथीहरू सम्झन थालें र त्यहिंबाट फोन गर्दै स्याउको वर्णन गर्न थालें स्याउ टिप्दै खाँदाको रमाइलो ।

जुम्लाको मीठो स्याउ त खाएँ तर त्यही स्याउले जुम्लामा महिलाको कार्यबोझ बढाएको देख्दा छिनमै मन खिन्न भयो । स्याउ हुन्थेन भने अँध्यारोमै उठेर स्याउ टिप्न टाढा टाढा बगैंचासम्म जाने र आफूभन्दा ठूलो भारी बोक्ने गर्नु पर्थेन होला जस्तो लाग्यो । खैर, महिलाले यसरी पसिना बगाएर कमाएको पैसामा कति प्रतिशत महिलाको आफ्नो नियन्त्रण हुन्छ होला ? निश्चय पनि बहुसंख्यक पुरुषले स्याउबाट आएको आम्दानी माथी नियन्त्रण राख्दा हुन् । ती महिलाले दुःख गरेको देख्दा, एउटा ज्यामीलेभन्दा बढी (ज्यामीले ८ घण्टा मात्र काम गर्छ) काम गर्नु परेको देख्दा मेरो मन साह्रै निचोरियो । पुरुषले बाहिर चियापसल, वा कतै मनोरञ्जनमा भुल्नुको साटो महिलाको काँधमा काँध मिलाउने हो भने महिलालाई पनि अलि हल्का हुने थियो । घर पनि सुन्दर हुन्थ्यो । आखिर महिला पनि त मानव शरीर धारी नै हुन् । बाटोमा एउटी महिलालाई “कत्ति ठूलो भारी बोकेको” भन्दा उनको जवाफ थियो “हाम्रो शरीर रबरको हो नी ।” यो उत्तरले सिधै मेरो मनमा मात्र नभै आँखामा समेत आक्रमण गरेको थियो, अनि मेरो दिमागले भन्यो “तिमी रबरको होइन, इस्पातकी हौ” ।

पारसको मम्मीले हिजो मात्रै २.५ क्वीन्टल स्याउ बेचेको सुनाएकी थिइन् । हेर्दै ट्वाक्क भाँच्चिएला जस्ती लिखुरी मम्मीले महिनावारी भएको बेला यत्तिका स्याउ बोक्दा उनको जीउ के भयो होला ? पक्कै पनि उनले कमाएको पैसा त घरै लग्छिन्, बाहिर एक कप चियासमेत नखाएर । यो आम्दानीले पुरुषलाई निकै सजिलो बनाएको हुँदो हो तर उनी बिरामी परीन् वा ओखतीमूलो गर्नु प¥यो वा रुखो खाना र कामको बोझले पाठेघर खस्यो भने त त्यसरी दुःख गरी कमाएको पैसा त अस्पताल पो जाला भन्ने सम्झेर डर लाग्यो । म यहि भावनामा पौडडैं थिएँ पारसले – दिदी स्याउ टिपेर लानुस् कोठामा खानलाई भन्दा झसँग भएँ । मेरो मन त्यसै ती बाटोमा भेटिएका महिलाको स्याउ भारीले अमिलो भैसकेको थियो । त्यसैले मैले पारसलाई भने “हेर रुखमा भएको जहिले टिपे पनि हुन्छ, महिलाको मेहनत परेको खेर फाल्नुहुँदैन” भन्दै उसको मम्मीले भुईंमा छुटाएर गएको र अलि अलि दाग भएर छोडेका स्याउ जम्मा गर्न थालें । रुखको पनि माटोमा लत्रेको मात्र स्याउ टिपेर सानो झोला बनाएँ । पारस छक्क प¥यो । उसको पनि सानो भारी थियो । अब हामी दुबै गफ गर्दै फर्किन थाल्यौं । लाजै मर्दो, हामीलाई ती सानो झोला पनि भारी लागेको थियो ।

घर आइपुग्दा पारसको मम्मीलाई मैले बोटको स्याउ बचाएर भुईंको माटो लागेको स्याउ मात्र ल्याएको र त्यसको कारण जुम्लामा महिलाको दुःख देखेर हो भनी सुनाउँदा उनी साह्रै भावुक भइन्, निशब्द भै “च्व.. च्व..” मात्र गरिन् । मेरो भने जुम्लाको मीठो स्याउ खाएपनि मन अमिलो भइ नै रह्यो ।

शोभा शाक्य



(This article was published in Nagarik Daily of 2071 Bhadra 30 (2014/09/15) Monday, page – 7)

Monday, September 15, 2014

Dhaami & Science

धामी र विज्ञान

गत महिना जनै पूर्णिमाको बेला जुम्ला पूरै संगीतमय भएको थियो । जताततै ढोलक बजाएर धामीहरू उफ्रँदै हिंडेको देखिन्थ्यो । अझ थानहरूमा त धामीहरू पतुरेको हेर्दा निकै गाह्रो र भयानक देखिन्थ्यो । सुनिन्छ, पहिला पहिला पुरुषमा मात्र धामी जाग्थ्यो रे तर आजभोली पुरुषभन्दा महिला धामी बढ्न थालेका छन् । शायद महिलाहरूमा धार्मिक आस्था बढी हुने र कमलो मनका हुनाले ढोलकको ताल सुनेर तुरुन्तै त्यसैतालमा आफूलाई समाहित गराउने, लट्ठ भएर त्यसैमा समर्पित हुने हुन सक्छ ।

कर्णाली क्षेत्रमा धामी शब्द नसुन्ने तथा पतुरेको नदेख्ने कोही पनि नहोलान् बरु जीवनमा डाक्टर नदेख्ने कणार्लीवासी धेरै होलान् । जुम्लामा एउटा धामीले देउटा चढेको बेला निलेको फलामको रालो करिब २ महिना पछि कर्णाली विज्ञान प्रतिष्ठानका डाक्टर निरेश थापाले भरखरै अपरेशन गरेर झिकिदिए धामीलाई बचाए । यो समाचार अहिले जुम्लामा हरेकको घर, पसलमा चियागफको विषय बनेको छ । हुन पनि यदि समयमै डाक्टरले त्यो पेटभित्र गाडिएको डण्डी नझिक्ने हो भने त्यो धामी अहिले बाँच्ने आश हुन्थेन होला । त्यसैले हामीले आजको विज्ञानलाई नकार्न सक्दैनौं भने विज्ञानको सकारात्मक उपादेयताको वेवास्ता गर्नु पनि हुँदैन ।

श्रीदुष्का, तलियुमका बल बहादुर तिरुवा हाल आफै पनि युवा धामी हुन् । उनले १५ वर्षको उमेरमै विवाह गरे, एउटा बच्चा भएपछि बच्चा थामिदै थामिएन । त्यसपछि धामी झाँक्रीका पछि लागे, उनीहरूले भने झैं मुइयूँ (पितृ) छुटाउनका लागि कुखुरा काटे, बोका काटे । बाहुन राखेर पुराण लगाउने, भूत भगाउने आदि पटक पटक यस्तै प्रयास गरे । करिब ५०–६० हजार रुपैया खर्च गरे तर केही फाइदा भएन । उनकी श्रीमतीको ३ वटासम्म बच्चा खेर गयो । पछि इटालीएन फाउण्डेशनको आर्थिक सहयोगमा महिला सशक्तिकरण तथा जीविकोपार्जन कार्यक्रम अन्तरगत बीग्रूपले स्थानीय महिलाको पाठेघर जाँच्ने कार्यक्रम गाविसमै आयोजना गरेको बेला आफ्नी श्रीमतीलाई आमाले पर्दैन भन्दा भन्दै त्यहाँ लगेर जचाए, सुर्खेत अस्पतालमा जचाए तर पाठेघरमा खासै केही समस्या देखिएन । पछि बल बहादुरले त्यही परियोजनाले चलाएको प्रजनन स्वास्थ्य र लैंगिक हिंसा सम्बन्धी एउटा तालिममा भाग लिने मौका पाए । उनी भन्छन् – त्यसपछि मैले केही बुझें जस्तो लाग्छ । अनि उसले पुनः गर्भवती भएकी श्रीमतीलाई गाह्रो साह्रो काम गर्न दिएनन् । घरका सामान्य काम मात्र दिए । यसका लागि उनले आफ्ना बुबा आमासँग संघर्ष गर्नु प¥यो । बुबा आमा खेतीपाती बर्बाद भयो भनेर कराए । तर पनि बल बहादुरले हार मानेनन् बरु आफ्ना अभिभावकलाई बुझउन प्रयास गरे । अन्तमा ९ महिनाको गहन प्रतिक्षा पछि हेल्थ पोष्ट लगेर स्वस्थ बच्चा जन्माए । सुत्केरीलाई गोठमा राख्नु हुँदैन भनी कोठामा राखे, यसमा उनका आमा रिसाए । तर पनि हिम्मत नहारी आमालाई सम्झाउन सफल भए उनी । अहिले पहिलो बच्चा भएको ८ वर्ष पछिको यो बच्चा ३ महिनाको भएको छ । आमा बच्चा दुबै स्वस्थ छन् ।

तालिमले उनमा र उनको परिवारमा परिवर्तन ल्याएको छ । आफू धामी भएपनि महिनावारी भएका घरका महिलाहरू गोठमा नराखी घरमै बस्ने गराएका छन् उनकै गाउँका ४ परिवारले महिनावारी बार्न छोडिसकेका छन् ।

हाँकुका एक धामी भन्छन् – आफू धामी भएपनि महिनावारी भनेको प्राकृतिक कुरा भएकोले गोठ बस्ने र बार्ने गर्न नपर्ने सल्लाह दिन्छन् । किनभने आजको समयमा घरै बसेर टर्दैन, गाडी चढ्दा, अफिसहरू, पसलहरू जाँदा महिलाहरूलाई छोइहालिन्छ । उनीहरू महिनावारी भएकै होलन् तर आफूले त्यस्ता कुरामा विस्वास नगर्दा आफूलाई केही नभएको बताउँछन् ।

यसरी समाजका अगुवा तथा धामीहरूले विज्ञानले प्रमाणित गरेका कुरालाई अँगाल्ने, पहिलादेखि चलि आएको भएपनि आफ्नो स्वास्थ्य, परिवार, समाजलाई हानी पु¥याउने तथा दुःख हुने, ज्यानको पनि पैसाको पनि नाश हुने खालका संस्कृतिहरूमा परिवर्तन ल्याउन हतार भएको छ । अगुवाले जे ग¥यो अरुले सजिलै अनुकरण गर्छन् । जुम्लाका अधिकांश मान्छेहरू सुर्खेत, नेपालगंज, काठमाडौं, भारत अझ अन्य देशमा पुगेका छन् । उनीहरूले त्यहाँ देखेका राम्रा कुराहरू लिएर आफ्नो गाउँमा फर्केपछि आफूले प्रयोग गर्ने र सकिन्छ भने गाउँमा सिकाउने हो भने यो जुम्ला अझ सुन्दर हुने थियो ।


शोभा शाक्य


(यो लेख जुम्लाबाट प्रकाशित पहिलो पत्रिका “कर्णाली सरोकार दैनिक” २०७१ भाद्र २८ गते शनिवार (१३ सेप्टेम्वर, २०१४) (वर्ष १ अंक ५९) को पृष्ठ २ मा प्रकाशित भएको हो ।)