Monday, June 16, 2014

Voter Registration Campaign Experience

मतदाता नामावली दर्तापछि मात्र निर्वाचन


ललितपुरको दुर्गम तथा सुगम गाउँमा हालै मतदाता नामावलीमा दर्ताबारे सूचना अभियान अन्तर्गत आधारभूत सर्वेक्षणका क्रममा सीमान्तकृत वर्गकहाँ पुग्ने अवसर मिलेको थियो । यस क्रममा अधिकांश उत्तरदाताको आक्रोश खेप्नुप¥यो । लामाटारकी एक दलित अधवैंसे महिलाले त आफ्नो घरको पिंढीमा समेत बस्नै दिइनन् र रिसाउँदै भनिन् – “हामीलाई भोक लागेको छ, कसले खान दिन्छ ? यस्तो बेला तिमीहरू नेताको, चुनाउको कुरा गर्न आउने ?” एकजना वृद्धाले भनिन् “यहाँ भगवान्का कुरा लिएर आउँछौ भने आउ, नेता र चुनाउका कुरा लिएर नआउ” भन्दै फनक्क फर्किइन् ।

स्थानीय दलित, गरिब, महिला, वृद्धवृद्धामध्ये अधिकांशले आक्रोश पोखे । गत चुनाउमा घरीघरी आएर नमस्ते गर्न आउने नेतालाई भोट दिएर जिताइयो तर जितेर गएको ६ महिना बित्दा पनि गाउँ फर्केर आएको देखिएन । सभासद् गाउलेको दुःख सुन्न नआएकोमा उनीहरूको चित्त दुखेको रहेछ । एक जना अधवैंसे पुरुष झन साह्रो रिसाएका थिए, कारण सोध्दा उनले भने जिताएका नेतालाई भेट्न जाँदा “तपाईंलाई चिनिन” भन्यो ।

कतिपय नाम दर्ता पनि नगर्ने र भोट पनि नहाल्ने पक्षमा थिए । उनीहरू फटाहा नेताहरूलाई किन भोट हाल्ने भनिरहेका थिए । भारतमा सकिएको चुनाउ र विकल्प छान्ने सुविधाबारेमा कुरा उठाएपछि प्रायजसोमा आशा पलाएको पाइयो । हो, सर्वसाधारण जनताले आफ्नो विचार तथा इच्छा पोख्ने अधिकार पाउनै पर्छ नत्र मतदानमा मात्र भाग नलिने हो भने त्यसको के अर्थ रह्यो र ? अर्को कुरा के को कारणले भोट नखसालेको हो त्यो पनि थाहा हुँदैन । यसमा बौद्धिक वर्ग पनि छन् । उनीहरूको माग हो नेपालमा पनि नो भोटको प्रावधान हुनै पर्छ । तर यसको लागि पनि पहिला त आफ्नो नाम मतदाताको सूचिमा दर्ता गराउनु जरुरी छ ।

गत मंसिरको चुनाउमा नागरिकता लिएर भोट खसाल्न जानेहरूलाई भने अब टोली आउँदा फोटो सहितको नाम दर्ता गर्नु पर्ने रहेछ भन्ने चेतना आएको छ । तर करिव ९८ प्रतिशत उत्तरदातालाई नाम दर्ता प्रकृया खुलेको वारे जानकारी नभएको र कहाँ कसरी के के लिएर जानुपर्छ भन्ने कुरामा ज्ञान नभएको पाइयो । अझ विकट ठाउँमा ज्याला मजदुरी गरी खानुपर्ने वर्गकालाई त टोली छिट्टै आफ्नै गाउँ ठाउँमा आइदिए हुन्थ्यो भन्ने रहेछ ।

ललितपुरकै कुरा गर्ने हो भने एक दिन लाग्छ निर्वाचन अफिस पुग्न । अनि काम भ्याउने र आतेजाते खर्चको अलग्गै हिसाब राख्दा धेरै खर्चिलो हुने रहेछ । त्यसैले यो पंक्तिकारलाई के लाग्यो भने चार जिल्ला (क्षेत्र)मा असार ८ गते हुने उप–निर्वाचन तथा आउँदो थानीय चुनाउ आउनु अगाडि नेताहरू र निर्वाचन कार्यालयले यस विषयमा समयमै कदम चाल्नु पर्ने देखिन्छ । जनतामा यति साह्रो वितृष्णा जाग्नुको कारण राजनैतिक दलका नेताहरूले गम्भिर रुपमा मनन गर्नु पर्छ ।

धेरैलाई राष्ट्रिय चुनाव भन्दा स्थानीय चुनाव महत्वपूर्ण लागेको छ । उनीहरूको भनाइ छ – स्थानीय निर्वाचित व्यक्ति नहुँदा गाविस तथा वडाहरूमा लापर्वाही भैरहेको छ साथै बाहिरबाट गएकाहरूमा अपनत्वको भावना कम हुने रहेछ । यसैले पनि स्थानीय चुनाउ महत्वपूर्ण हुन्छ । स्थानीय र राष्ट्रिय निर्वाचनको आवश्यकता र महत्व समय अनुसार हुन्छ नै, तर अहिलेको महत्वपूर्ण पक्ष भनेको सबै मतदाताले आफ्नो नाम मतदाता नामावलिमा दर्ता गर्नु प¥यो ।

शोभा शाक्य

(यो लेख अन्नपूर्ण पोष्ट दैनिक २०७१-०२-२६ सोमवारमा छापिएको हो)

No comments:

Post a Comment