‘तिमी त दिनभरि सुत्छौ, अनि कहाँबाट निद्रा परोस् ? हामी राति निदाउनु पर्दैन ?’ एक पुरुष आवाजले एउटा वृद्धालाई रातको करिब २ बजे हकार्दै गरेको सुनेपछि कारणवश धुम्बाराही बास बसेकी यो पंक्तिकारलाई रात काट्न साह्रै कठिन भयो।
ती वृद्धाले हप्काइ खानुभन्दा केही समय अगाडिदेखि लगातार बोलाइरहेकी थिइन्। उनलाई केही चाहिएको थियो कि ? सोधिदिने कसले ? उनी त प्रतिनिधि पात्र मात्र हुन्। यस्ता दृश्य त टोल–टोलमा देखिन्छन्।
आजको युगमा शारीरिक तथा मानसिक रूपमा कमजोर भएका र उमेर पाकेकाहरू तीव्र पश्चिमाकरणको नकारात्मक मारमा परेका छन्। हुन त बूढो हुनु प्राकृतिक नियम हो र आफ्नोे वशभन्दा बाहिरको कुरा। मानिसले आफ्नो खानपान र व्यायाममा ध्यान दिने हो भने शारीरिक तन्दुरुस्ती राम्रो हुन्छ। तर अहिले नेपालमा प्रायः ५०–६० वर्ष कटेपछि मानिस विभिन्न रोगको सिकार भएको पाइन्छ। यस खालको शारीरिक कष्ट बुढेसकालमा झन् बढी आइपर्नु स्वाभाविकै हो।
अर्को डरलाग्दो कुरा त बुढेसकालमा खेप्नुपर्ने मानसिक तनाव हो। आफ्नो अवस्था र आफ्ना सन्तानबाट आइपर्ने तनाव धेरैजसो वृद्धले खेपिराखेका छन्। अनि बोल्दा पनि करायो भन्ने, उनीहरूको आवश्यकतालाई बेवास्ता गर्ने, झर्कीफर्की गर्ने। संस्कृतिविद् सत्यमोहन जोशी त अपवादका प्रतिनिधि हुन्, जो १०० वर्ष कटेर पनि आफ्नो स्मरण शक्ति र शारीरिक तन्दुरुस्ती चुस्त छ। तर धेरैजसोको ६० वर्ष हाराहारी पुग्दा सम्झना शक्ति कमजोर हुन थाल्छ। त्यही कुरा एकपटक भन्दा बढी बोल्नेबित्तिकै परिवारलाई टाउको दुखाइ हुन्छ– कत्ति करकर गरेको भन्दै।
पहिलो पुस्ताका वृद्धहरूले आफ्ना छोराछोरी र नातिनातिनाबाट राम्रो स्याहार र आदर पाए। ‘आफ्नो बाउलाई डोकोमा राखेर फ्याँक्न लैजाँदा सानो छोरोले त्यो डोको नफाल्नू, पछि तपाईंलाई पनि बूढा हुँदा यसैगरी फ्याँक्न चाहिन्छ भन्यो’ भन्ने लोककथाले पनि कति शिक्षा दिन्थ्यो। त्यो बेला आफूभन्दा ठूलालाई सम्मान गर्नु, सेवा गर्नुलाई धर्म र कर्तव्य मानिन्थ्यो।
यस सिलसिलामा डा.नोबल किशोर राईले एउटा कार्यक्रममा भनेका थिए– ‘हिजोआज केटाकेटीलाई सानैदेखि अधिकार मात्र सिकाइयो, तर कर्तव्य सिकाइएन।’ हुन पनि हो, आजको नयाँ पुस्ताले अधिकार मात्रै खोजे। आफ्ना आमाबाबु, हजुरआमा÷बुबा हेर्न गाह्रो मान्ने, तर उनीहरूको सम्पत्ति भने मुद्दा हालेर लिने चलन हाबी भएको छ। लुभुको प्रशस्त जग्गा भएको एक परिवारमा छोराहरूले एकल आमासँग मुद्दा हालेर आफ्नो अंश लिएपछि ती वृद्धालाई अलपत्र पारेको घटना धेरै पुरानो भएको छैन।
हुन त सम्पत्तिका मालिकलाई स्याहारेको खण्डमा मात्र सन्तानले पुरस्कार स्वरूप अंश पाउनुपर्ने होइन र ? तर नेपालको कानुनले कपुतहरूलाई सहज बनाइदिएका कारण पनि वृद्धहरू मारमा परेका छन्। आफूले जन्माउँदैमा सम्पत्ति दिनुपर्ने किन ? आफूलाई जन्माएर दुःखगरी हुर्काएको बदलामा केही प्रत्युपकार नगर्ने, तर बूढाबूढीलाई दुईछाक ख्वाएको र दागबत्ति दिएको साटो सम्पत्ति चाहिने ?
आजको परिवेशमा परिवार टुक्रिने र सानो परिवारमा बस्दा श्रीमान्–श्रीमती दुवै काममा जानुपर्ने कारण पनि ज्येष्ठ नागरिकहरू दिनभर एक्लो हुने गरेका छन्। साँझ जब उनीहरू थाकेर फर्किन्छन्, नियास्रिएका बूढाबूढीका समस्या सुन्न चाहँदैनन्, अनि सुरु हुन्छ– झर्कीफर्की। अझ बिरामी, कमजोर र अशक्तहरूले त पापै गरेझैं दुःख भोग्नुपर्ने हुन्छ। बिरामी हुँदा जाउलोसम्म पकाइदिने कोही नभएका घर पनि छन्।
विदेश पलायन हुने चलन महाभूकम्पपछि ह्वात्तै बढेको छ। विदेश पढ्न गएकाहरू उतै अड्किन्छन्, केही महिना के विदेशमा टेक्यो, नेपाल फोहर, अवसर नभएको भन्दै फर्किन खोज्दैनन्। कतिपय बाध्यतावश कामका लागि खाडी मुलुकमा पसिना÷रगत बगाउन जान्छन्। उनीहरूका घरमा पनि बूढाबूढी एक्लिन थालेका छन्। बूढाबूढी दुवै भएका घरमा त एकले अर्काको मुख हेरेर, आपसी सहयोग गरेर दिन बिताउँछन्, तर एकल वृद्ध या वृद्धाको अवस्था साह्रै दुःखदायी छ। यस्तै एक्लोपनाको असह्य पीडाले र सन्तानको अपहेलनाबाट छटपटिएर होला, उनीहरू सडकमा आउन बाध्य भएका।
मानव सेवा आश्रमका १२ वटै शाखामा जाने हो भने सडकबाट उठाएर ल्याइएका बा–आमाहरू राख्ने ठाउँ नै छैन। ललितपुर शाखामा मात्रै हाल ५३ जना आश्रित छन्। एउटा घटना यस्तो भयो कि सडकबाट त्यहाँ ल्याइएका वृद्धको घर खोजतलास गरी उनका छोराहरूलाई लिन आउन पटकपटक अनुरोध गरियो। त्यतिबेला वास्ता गरेनन्। तर जब ती वृद्धको मृत्यु भयो, तब उनीहरू मेरो बाउ कसरी म¥यो भनेर केरकार गर्ने छोराछोरी पनि छन्, हाम्रो समाजमा। बूढाबूढीलाई गाउँबाट काठमाडौं ल्याएर बाटैमा तथा आश्रमछेउ छोडेर जाने पुत्रहरू पनि रहेको कुरा समाचारमा धेरै आइसकेका छन्।
काठमाडौंमा हिजोआज दिवासेवा केन्द्र तथा आश्रम खुल्न थालेका छन्। जसरी आफ्ना बच्चालाई घरमा हेर्ने मान्छे भएन भने हामी पैसाको मतलब नगरी डे–केयर तथा स्कुलमा सुरक्षित तवरले राख्न लान्छौं, त्यसैगरी आमा–बाबु हेर्न नभ्याएको अवस्थामा दिवासेवा केन्द्रसम्म पु¥याउनुपर्ने वा हेरालु राख्नुपर्ने कर्तव्यको पाठ कसले पढाउने ? सम्पत्तिको अंशमा अधिकार भन्न सक्ने सन्तानले सेवा गर्नुपर्ने कर्तव्य भने कमैले मात्र सिकेको देखिन्छ।
घरमा बूढाबूढीलाई रुवाएर, वास्ता नगरेर उनीहरूले आफ्ना बच्चाहरूलाई पनि त्यही संस्कार सिकाइरहेका छन्। यसले भविष्यमा अझ स्वार्थी समाजको र्सिजना हुने ठूलो डर छ।
हुन त ज्येष्ठ नागरिक पनि सबै सजिला कहाँ हुन्छन् र ! उखानै छ– गोरु बूढो भए भिर खोज्छ, मान्छे बूढो भए निहँु खोज्छ। बूढेसकालमा विभिन्न रोग, बिर्सिने बानी तथा नयाँ पुस्तासँगको वैचारिक मतभेदले गर्दा गनगन गर्ने हुन्छन्। जसले गर्दा अति व्यस्त छोराछोरीलाई दिक्क लाग्नु स्वाभाविकै हो। बूढाबूढी स्याहारेकालाई मात्र थाहा हुन्छ– उनीहरूलाई हेर्नु बच्चा हेर्नुभन्दा गाह्रो हुन्छ। सकेसम्म उनीहरूको जीवन सहज बनाइदिने प्रयास गर्नु सन्तानको जिम्मेवारी हो। हामी पनि अवश्य एकदिन बूढो हुन्छौं र आफू त्यही अवस्थामा पुग्दा आफूलाई के कस्तो सेवा पाए हुन्थ्यो भन्ने कुराको कल्पना मात्र गर्ने हो भने पनि अहिलेका वृद्धहरूले अलि सुख पाउने थिए कि !
अन्तमा, हामी, ज्येष्ठ नागरिकहरूको सुखद् अवस्था तथा राम्रो पारिवारिक हेरचाह र सम्मान भएको समाज हेर्न चाहन्छौं भने समाजमा आफ्ना आमाबुवा तथा सासु–ससुरालाई देवता समान श्रद्धापूर्वक हेरविचार गर्ने छोरा–बुहारीहरूलाई कुनै सार्वजनिक कार्यक्रममा सम्मान गरी अरूलाई पनि अनुकरणका लागि उत्प्रेरित गर्नु आजको आवश्यकता हो।
Published
on Nagarik National Daily dated 2019/09/20 Friday (Page - 7)