Wednesday, July 5, 2023

Short Stories for Women's Day 2023

 महिला दिवस

महिलावादी कार्यकर्ता, दशकौंदेखि महिला अधिकारको क्षेत्रमा काम गर्दै आएकी । उनी शिक्षिका पनि हुन् रामप्यारी ।

अहिले उनको रिटायर्ड हुने बेला पनि भैसकेको छ । रामप्यारीलाई रिटायर्डमेन्टको रत्तिभर चिन्ता छैन । बरु महिला अधिकार र विकासको क्षेत्रमै अटूटरुपमा लाग्ने उनी योजना बुन्दैछिन्, अबका फुर्सदिला दिनमा । 

आज ११३ औं अन्तराष्ट्रिय महिला दिवसको पावन दिन । भव्यरुपमा मनाउने कार्यक्रम तय भएको छ । उनलाई कत्तिदिन अघिदेखिको भ्याइनभ्याइ छ ।

आज बिहान घरमा बुहारीलाई समयमा ब्रेकफष्ट तयार नगरी विरामीको बहाना बनाई सुतेकी नकचरी भन्दै सत्तोसराप्दै कार्यक्रम स्थलतर्फ लागिन् ।



भद्रता

एक भद्र महानुभाव, जो समाजसेवा मै व्यस्त । समाजमा उनलाई नचिन्ने विरलै होलान् । यिनी समाजसेवीको त घरमा बास बस्न मात्र जाने हो दिनभर कार्यक्रम तथा मेजमानी मै ठिक्क । सबेरै फोनकलले उठाइदिन्छ भने फोनमा कुरा गर्दै बेलुकी विस्तरामा छिर्ने दिनचर्या हो महाशयको ।

उनलाई आज महिला दिवसको कार्यक्रममा निम्ता आएको छ, मन्तब्य दिनु पर्ने छ । उनलाई त एक घण्टाको भाषणको लागि तयारी नै गर्नु नपर्ने । दिमागको हार्डडिस्कमा हरेक क्षेत्रको पर्फेक्ट भाषण सेभ भएर बसेको हुन्छ । उनको कर्णप्रिय र सान्दर्भिक विषयवस्तु माथिको भाषणका कारण उनका धेरै धेरै फ्यान छन् ।

आज उनै महाशयको यही कार्यक्रमको बीचमा अचानक घरबाट फोन आयो । अनुहार फुँग उड्यो । अगाडि ठडिएको मिनरल वाटरको बोटल झट्ट उठाएर घट्घट्घट् पानी पियो ।

यो फोन वार्ता सँगै सीटमा बसेका अर्का अतिथिले सुन्न भ्याएछ – उनको घरमा काम गर्ने नानीको प्रिङ्गन्यान्सी टेष्ट पोजेटिभ आएको रहेछ ।


शोभा शाक्य